मुलुकी ऐनमा धर्मपुत्र वा धर्मपुत्रीसम्बन्धी के छ व्यवस्था ?

मुलुकी ऐनमा धर्मपुत्र वा धर्मपुत्रीसम्बन्धी के छ व्यवस्था ?

काठमाडौं : मुलुकी ‍देवानी (संहिता) ऐन २०७४ ले धर्मपुत्र वा धर्मपुत्रीसम्बन्धी व्यवस्था गरेको छ। मुलुकी ‍देवानी ऐन लागू भएसँगै छोराछोरी भएका अभिभावकमा धर्मपुत्र वा धर्मपुत्री राख्दा नियम लागू हुनेछ। नयाँ मुलुकी ऐनले छोरा भए छोरा र छोरी भए छोरी धर्मपुत्र वा धर्मपुत्री राख्न नपाउने व्यवस्था गरेको छ।

सम्बन्ध विच्छेद गरेका पती वा पत्नीसँगै छोराछोरी रहेमा पनि त्यस्ता पति पत्नीले धर्म पुत्र वा धर्म पुत्री राख्न पाउने छैनन्। त्यस्तै, होस ठेगाना नभएको, नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसूरदार ठहरिएको व्यक्तिले पनि धर्मपुत्र वा धर्मपुत्री राख्न पाउने छैनन्।

त्यस्तै नाबालकलाई पालनपोषण,स्वास्थ्य,शिक्षा,खेलकुद, मनोरञ्जन तथा हेरचाहको व्यवस्था गर्न आर्थिक हैसियत नभएको व्यक्तिले धर्मपुत्र वा धर्मपुत्री राख्न नपाउने व्यवस्था मुलुकी ऐनले गरेको छ।

अदालतको आदेश बमोजिम अंश लिएको, कानुनबमोजिम भिन्न बसेको वा मानो छुट्टिएको अवस्था गरी भिन्न बसेको महिला वा पुरुषसँगै छोरा छोरी नबसेमा यस्ता पुरुष वा महिलाले धर्मपुत्र वा धर्मपुत्री राख्न भने पाउनेछन्।

तर छोरा छोरी भएका व्यक्तिले धर्मपुत्र वा धर्मपुत्री राख्न चाहेको खण्डमा अदालतमा निवेदन दिनुपर्ने हुन्छ। ऐनमा भनिएको छ,'धर्मपुत्री वा धर्म पुत्र राख्न चाहेको खण्डमा भने आफ्ना छोरा वा छोरी हुने कुनै व्यक्तिले अन्य बालबालिकालाई पालनपोषण, स्वास्थ्य, शिक्षा तथा हेरचाहको व्यवस्था गर्नसक्ने आर्थिक हैसियत खुलाई धर्मपुत्र वा धर्मपुत्री राख्नको लागि अदालतमा निवेदन दिएमा त्यस्तो हैसियत रहेको देखिएमा अदालतले निवेदकलाई धर्मपुत्र वा धर्मपुत्री राख्न अनुमति दिन सक्नेछ।'

धर्मपुत्र वा धर्मपुत्री राख्ने सक्ने

विवाह भएको दश वर्षसम्म पनि छोरा वा छोरी नहुने दम्पतिले धर्म पुत्र वा धर्मपुत्री राख्न पाउने मुलुकी ऐनमा व्यवस्था छ। पैंतालिस वर्ष उमेर पूरा भएकी अविवाहित, विधवा,सम्बन्ध विच्छेद वा न्यायिक पृथकिकरण गरी बसेबी छोरा वा छोरी नहुने महिलाले चाहेको खण्डमा धर्मपुत्र वा धर्मपुत्री राख्न सक्नेछन्।

पैतालिस वर्ष उमेर पूरा भएको अविवाहित, विधुर, सम्बन्ध विच्छेद वा न्यायिक पृथकीकरण गरी बसेको छोरा वा छोरी नहुने पुरुषले धर्मपुत्र वा धर्मपुत्री राख्न पाउनेछन्।

यस्तो अवस्थामा धर्मपुत्री वा धर्मपुत्री लिन दिन मिल्दैन

मुलुकी ऐन २०७४ मा धर्मपुत्र वा धर्मपुत्री व्यवस्थाअनुसार धर्मपुत्र वा धर्मपुत्री राख्नेहरुका लागि केही नियम लागू हुनेछन्। चौध वर्ष उमेर पूरा गरेको, एउटा मात्र छोरा वा छोरीको रुपमा रहेको, एक पटक धर्मपुत्र वा धर्मपुत्रीको रुपमा लिइएको व्यक्ति, धर्मपुत्र वा धर्मपुत्री राख्ने व्यक्तिभन्दा माथिल्लो नाताको र गैर नेपाली नागरिकलाई धर्मपुत्र वा धर्मपुत्री राख्न पाइँदैन।

धर्मपुत्र वा धर्मपुत्रीको उमेर

धर्मपुत्र वा धर्मपुत्री हुने र धर्मपुत्र वा धर्मपुत्री राख्ने व्यक्तिको उमेर कम्तीमा २५ वर्ष फरक हुनुपर्छ। तर तीन पुस्ताभित्रको नाताको व्यक्तिलाई धर्मपुत्र वा धर्मपुत्री राख्दा उमेरको बन्देज लाग्ने छैन।

बाबु आमाको अंशमा दाबी गर्न नपाउने

धर्मपुत्र वा धर्मपुत्री भएको व्यक्तिले आफूलाई जन्माउने बाबु आमाको अंशमा दाबी गर्न पाउने छैनन्। तर, धर्मपुत्र वा धर्मपुत्री बदर भएकोमा निजले बाबु आमाको अंशमा दाबी गर्न पाउनेछन्।

धर्मपुत्र वा धर्मपुत्री हुँदाका बखत निजले अंश लिइसकेको भए निजले त्यस्तो सम्पत्ती समेत लिन पाउनेछन्। भदौ १ गतेदेखि नयाँ मुलुकी देवानी (संहिता) ऐन २०७४ लागू हुँदैछ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.