ह्याप्पी बर्थ–डे भैरव रिसाल

ह्याप्पी बर्थ–डे भैरव रिसाल

काठमाडौं  : भैरव रिसालले २०१३ सालदेखि पत्रकारिता गरे, ‘हालखबर’ दैनिकमार्फत । त्यसबेला उनले रिपोर्टिङमा दौडिन नयाँ साइकल पाएका थिए, सुविधास्वरूप । ‘उतिबेला नयाँ साइकल आफ्नै मातहतमा हुुनुु भनेको अहिले स्कारपियो पाएजस्तै हो’, केही समयअघिको अन्नपूर्ण पोस्ट्सँगको संवादमा उनले भनेका थिए । अहिले पनि दैनिक, साप्ताहिक पत्रिकामा नियमित स्तम्भ लेखिरहेका हुन्छन् उनी । उनको स्तम्भको नाम छ, ‘भोगेको, देखेको, सुनेको’ । ६५ वर्षे लामो पत्रकारिता जीवनमा आफूले ‘भोगेको’, ‘देखेको’, ‘सुनेको’ कुरा उनी नयाँ पुस्तासँग सेयर गरिरहेकै हुन्छन् । अहिले पनि उनी रेडियोको साप्ताहिक कार्यक्रम ‘कुरोकन्थो’ मार्फत्        श्रोतासँग संवाद गरिरहन्छन् । मंगलबार पनि उनी एउटा कार्यक्रममा पाठकसँग संवादरत थिए ।

आफ्नो उमेरले ९१ वर्ष टेकेको खुुसी बाँड्न उनी मंगलबार बानेश्वरको एउटा ब्याङवेटमा उपस्थित थिए । कार्यक्रम थियो, ९१ वर्ष प्रवेशको ‘बर्थ–डे सेलिब्रेसन’ र उनैले लेखेको नयाँ किताबको विमोचन । उमेरले ९० काटे पनि उनको अनुहारमा थकानका रेखा देखिँदैनन् । ऐतिहासिक अभिलेख, नेपाल राजपत्र र विभिन्न संस्थाद्वारा प्रकाशित थुप्रै सामग्री खोजी गरेर उनले आफ्ना मित्र भरतराज पोखरेलको सहकार्यमा नयाँ किताब लेखे, नेपालका मन्त्री र सांसद्हरू (२००७–२०७५) । किताबमा २००७ सालदेखि हालसम्मका सबै मन्त्री र सांसद्को विवरण छ ।

हाफ चेक सर्ट, खैरो पाइन्टमा उनी मुस्कुराइरहेका थिए । मञ्चमा उक्लेर सबैलाई नमस्कार गरे । मञ्चको प्रोजेक्टरमा भिडियो चलिरहेको थियो जसमा उनै बोलिरहेका थिए ।

मानिसहरू ध्यान दिएर सुनिरहेका थिए रिसाललाई । लट््ठी टेकेरै उनी आगन्तुकसँग गफिइरहेका थिए । केही फोटो पत्रकार उनको पोजपोजका फोटो खिच्न व्यस्त थिए । कोही अनेक प्रश्न सोधिरहेका थिए । फोटोग्राफरतिर फर्केर उनी भनिरहेकै हुन्थे, ‘फोटो राम्रो निकाल्दिनुस् है !’

रिसालले कार्यक्रममा पत्रकारिता–यात्राका आफ्ना सुरुवाती दिन सम्झिए, भिडियोमार्फतै । पत्रकारितामा डो¥याउनेलाई        श्रद्धापूर्वक सम्झिरहेका थिए । अनि, जीवनयात्राले ९०औं वर्ष पार गरेको हर्ष सबैलाई बाँडे– मुस्कुराएर ।

कार्यक्रममा रिसालले पत्रकारितालाई राष्ट्र र समाजप्रतिको जिम्मेवारी, मनोरञ्जन र विद्वताका रूपमा बुझेको बताए । ‘पत्रकारिता अत्यन्तै संवेदनशील पेसा हो’, उनले भने, ‘हरेक पत्रकारमा आफ्नो पेसाप्रति लगाव हुनुपर्छ । तर, अहिलेको पत्रकारमा पेसाप्रतिको जिम्मेवारी पाउँदिनँ ।’

रिसालमाथि बोल्दै विश्लेषक कृष्ण खनालले भने, ‘रिसाल नेपाली पत्रकारिताको इतिहासमा गर्व गर्न सकिने नाम हो । उनको योगदानलाई सबैले कदर गर्नुपर्छ ।’

डा.देवेन्द्रराज पाण्डेले रिसाल नेपालको ज्युँदो इतिहास भएको बताए । ‘रिसालको जोसजाँगर, सक्रियता, हौसला र स्फूर्तिबाट सबैले सिक्नुपर्छ’, उनले भने ।

‘सबै पत्रकारका शिखर पुरुष हुन् रिसाल’, अन्नपूर्णसँग पत्रकार पी खरेलले भने, ‘उनले नेपालको पहिलो निर्वाचित संसद्को नियमित खबर लेखे । त्यसको फलोअप गरिरहे । पत्रकार सधैं कार्यकक्षमा सक्रिय हुनुपर्छ भन्ने संस्कार सिकाएका छन् पत्रकार रिसालले ।’

१९८५ सालमा भक्तपुरको गुण्डुमा जन्मेका रिसालले लुभु पाठशालाबाट आफ्नो अध्ययन सुरु गरेका हुन् । वनारसबाट संस्कृतमा आचार्यसम्मको अध्ययन गरेका उनले राससमा लामो समय काम गरे । उनी वातावरण पत्रकारिताका अग्रज अभियान्तासमेत हुन् ।

यसअघि उनका ‘साधुलाई सुली’ आत्मकथा र पत्नीको सहकार्यमा लेखिएको ‘सुशीला भैरव’ संयुक्त आत्मकथा प्रकाशित छन् । रिसाललाई दीर्घायुको शुभकामना ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.