सुरक्षा घेरामा ल्याइयो मालपोत र नापीको श्रेस्ता

सुरक्षा घेरामा ल्याइयो मालपोत र नापीको श्रेस्ता

सिमरा : उत्तरी क्षेत्रका नागरिकलाई सहज सेवा दिनका लागि सदरमुकाम कलैयाबाट मालपोत र नापी कार्यालयको श्रेस्ता मंगलबार राति सिमरा ल्याइएको छ। सेवा केन्द्र सार्न नहुने भन्दै कलैया बचाउ संघर्ष समितिको नाममा आन्दोलन भइरहेका बेला प्रशासनले जिल्लाको उत्तरी क्षेत्रको साविकका १२ गाविसको श्रेस्ता सिमरा ल्याएको हो।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको कडा सुरक्षा घेराबीच आइपुगेको श्रेस्ता र कर्मचारीलाई स्थानीयले स्वागत गरेका थिए।

सरकारले चार वर्षअघि कलैया केन्द्रीत मालपोत र नापीको सेवालाई सिमरा र सिम्रौनगढ विस्तार गर्ने निर्णय गरेपनि विरोधका कारण सम्भव हुन सकेको थिएन्। अन्तत सरकारको पछिल्लो निर्णय कार्यान्यवन गर्दै मालपोत र नापीको श्रेस्ता सिमरा ल्याइएको हो। 

जीतपुरसिमरा उपमहानगरपालिका- ३ स्थित बजनीमा स्थापना गरिएको कार्यालयबाट अब उत्तरी क्षेत्रको साविकका पिपरासिमरा, भवानीपुर जितपुर, डुमरवाना, फत्तेपुर, छातापिपरा, लिपनीमाल, रामपुरटोकनी, ईनर्वासिरा, बुनियाद, मनहर्वा, निजगढ र रातोमाटेका नागरिकले सेवा लिन सक्नेछन्। मालपोत कार्यालय सिमराका प्रमुख मदन गुप्ताले श्रेस्ता सिमरा ल्याइएको र केही दिनमा उद्घाटन गरी सेवा सुरु गरिने बताए। 

मालपोत र नापीको श्रेस्ता सिमरा ल्याइएपछि उत्तरी क्षेत्रका जनता खुशी देखिएका छन्। ढिलो भएपनि जनतालाई सहज सेवा दिने कुरामा सरकार गम्भीर देखिएको स्थानियको भनाइ छ। 

भौगालिक दूरीले टाढा र अपायक रहेका कारण कलैया पुगेर सेवा लिन उत्तरी क्षेत्रका जनतालाई सास्ती थियो। एकै स्थानमा जिल्लाभरीका सेवाग्राहीको भीड हुने हुँदा सहज रुपमा काम गर्न समेत कठिनाइ हुने गरेको जीतपुरका राजु साहले बताए। 

भौगोलिक अवस्थाकै कारण जनतालाई सहज सेवा दिने उदेश्यले सरकारले चार वर्ष अघि २०७१ साल असोज ३ गते सिमरा र सिम्रौनगढमा मालपोत र नापी कार्यालयको सेवा केन्द्र विस्तार गर्ने निर्णय गरेको थियो। 

सरकारको उक्त निर्णयपछि कलैयामा उद्योग वणिज्य संघ र केही राजनीतिक दलको अगुवाइमा आन्दोलन भएको थियो। मालपोत र नापी कार्यालयको सेवा अन्यत्र सार्न नपाइने भन्दै कलैयामा आन्दोलन चर्किएपछि सुशिल कोइराला नेतृत्वको सरकारले पाँच महिनापछि उक्त निर्णय तत्कालका लागि स्थगन गर्ने निर्णय गरेको थियो।

सेवा विस्तार गर्ने निर्णय स्थगन गरेसँगै उत्तरी क्षेत्रका जनताले सिमरामा आन्दोलन सुरु गरेका थिए। सिमराको सुरु भएको आन्दोलन हिंसात्मक बन्दै गएपछि राजनीतिक दलका नेता र स्थानीयले तत्कालका लागि आन्दोलन स्थगन गरेका थिए।

आन्दोलन हिंसात्मक बन्न नदिन संयमता अपनाएका राजनीतिक दलका नेताले मालपोत र नापी कार्यालयको सेवा विस्तार गराउनका लागि केन्द्र सरकारसँग पहल गर्दै आएका थिए।

सिमरा आन्दोलनका अगुवामध्येका एक पूर्व एमाले नेता डा. कृष्ण पौडेल यतिबेला जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर भइसकेका छन्। मेयरमा निर्वाचित भएपछि डा. पौडेलले मालपोत र नापी कार्यालयको सेवा विस्तार गराउनका लागि केन्द्र सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए।
 
उपमहानगरको कार्यालयमार्फत पनि पटकपटक ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण समेत गराउँदै आएका मेयर डा. पौडेलले लामो समयको पहलपछि अन्तत सेवा केन्द्र विस्तार भएको बताए। 'हामीले कसैको विरोध गरेका थिएनौ, जनतालाई सहज सुविधा होस् भन्ने उदेश्यले त्यतिबेला आन्दोलन सुरु गर्‍यौ' मेयर डा. पौडेलले भने 'अहिले स्थानीय सरकारको प्रमुखको हैसियतले त्यसै अनुसार पहल गरियो। अन्नत सेवा विस्तार भएको छ। उत्तरी क्षेत्रका जनता खुशि देखिएका छन्।'

सरकारले दुई महिनाअघि गत जेठ २१ गते पुनः मालपोत र नापीको सेवा केन्द्र सिमरामा विस्तार गर्ने निर्णय गरेपछि कलैयामा आन्दोलन हुँदै आएको थियो। कलैया बचाउ संघर्ष समितिका नाममा सुरु गरिएको आन्दोलनले कलैयाबाट सेवा अन्यत्र सार्न नपाइने र सिमरामा मात्र नभइ जिल्लाका १६ वटा स्थानीय तहमा सेवा केन्द्र विस्तार गर्नुपर्ने दुईवटा माग राखेको थियो। 

कलैया बचाउ संघर्ष समितिको नेतृत्वमा भएको आन्दोलनमा जिल्लाका स्थानीय तहका सहभागी हुँदा डा. पौडेलले भने सिमरामा स्थापना गरेपछि अन्य स्थानमा सेवा विस्तारका लागि पहल गर्नुपर्ने बताउँदै आएका थिए। 

कलैया बचाउ संघर्ष समितिले काठमाडौं पुगेर मन्त्री र विभिन्न नेतालाई भेट गर्दै ध्यानाकर्षण समेत गराएको थियो। भेटका क्रममा कृषी, भूमिब्यवस्था तथा सहकारीमन्त्री चक्रपाणी खनाललले तत्कालै सबै स्थानीय तहमा सेवा विस्तार गर्न नसक्ने अवस्था नरहेको स्पष्ट पारेका थिए। 

सेवा कार्यालय विस्तारको विरोधमा कलैयाका लेखापढी व्यवसायी समेत आन्दोलित थिए। उनीहरुले समेत काठमाडौं डेलिकेसन गएर सेवा केन्द्र सार्न नहुने भन्दै विभिन्न राजनीतिक दलका नेताको ध्यानाकर्षण गराएका थिए। कलैयाबाट कार्यालयनै सार्न लागिएको भन्दै गलत प्रचार समेत गरिएको थियो। 

नेकपाका स्थानीय नेता राजन पौडेलले सेवा केन्द्र विस्तारमा भइरहेको अवरोध पन्छाउँदै श्रेस्ता सिमरा ल्याइएकोमा खुशी व्यक्त गरे। सेवा केन्द्र विस्तारका लागि पौडेलले समेत लबिङ गर्दै आएका थिए। 'सडक दूरीका कारण टाढा भएका कारण काम गर्न गराउन झन्झट थियो' पौडेलले भने 'अब उत्तरी क्षेत्रका जनतालाई राहत मिलेको छ।'
 
नापी कार्यालय सिमराका प्रमुख क्रान्ति गुप्ताले श्रेस्ता ल्याइएपछि बुधबार स्थानीयको उपस्थितीमा दुबै कार्यालयको पूजा समेत गरिएको जानकारी दिए। सरकारले गत जेठ २१ गते सेवा केन्द्र विस्तार गर्ने निर्णय गरेपछि सिमरामा कार्यालयको रंगरोगन गरी तयार गरिएको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.