मेरो बुवाको कथा

मेरो बुवाको कथा

यो देशमा पद पाउनु ठूलो होइन, पदले मागेको दायित्व जिम्मेवारीका साथ वहन गर्नु ठूलो हो


गत साउन २३ गते ८२ वर्षको उमेरमा दिवंगत हुनुभएका मेरा बुवा कलाकार तथा साहित्यकार मनुजबाबु मिश्रका बारेमा नेपालका प्रतिष्ठित साहित्यकार, कलाकार तथा समीक्षकहरूले धेरै ठाउँमा धेरै कुरा बोलेका र लेखेका छन् । मैले भने आजसम्म खासै त्यसरी लेखेको र बोलेको थिइनँ । आज म बुवाका बारेमा छाती खोलेर लेख्न र बोल्न चाहन्छु । एउटा छोराले बुवाका बारेमा जुन हदसम्म गर्व गर्न सक्छ, म त्यो हदसम्मै गर्व गर्नेछु, यद्यपि यो स्तम्भमा उपलब्ध ठाउँ त्यसका लागि पर्याप्त हुने छैन । बुवाका बारेमा गर्व गर्नुको अर्थ बुवामा कमजोरी थिएनन् भन्ने होइन ।

 हामी सबै मान्छे हौं, हामी सबैमा कमजोरी छन् । बुवा बारम्बार भन्ने गर्नुहुन्थ्यो— १२ घन्टा उज्यालो भयो भने १२ घन्टा अँध्यारो हुने प्राकृतिक नियमलाई कसैले तोड्न सक्दैन । त्यसमा पनि प्रकाश जति चम्किलो भयो, छाया त्यति नै गाढा हुन्छ । मेरो बुवाको प्रकाश कति चम्किलो थियो र रहनेछ, त्यो उहाँका कृतिका मूल्यांकनकर्ताहरूले नै निक्र्योल गर्नेछन् । तर म ढुक्कसँग भन्न सक्छु- मेरा बुवाको जीवन सम्भवतः दसौं करोडमा हुने एउटा यस्तो कथा हो, जुन धेरैका लागि प्रेरणाको गाथा हुन सक्छ । त्यसैले पनि आफू स्तम्भकार भएको नाताले सो कथा पाठकसँग बाँड्नु मैले उपयुक्त सम्झिएको छु ।

रहस्यमय अनिश्चितताको बज्रपात

विक्रम संवत् २००६ सालतिरको कुरा हो, मेरा बुवा र काका मोहन मिश्र काठमाडौंस्थित तत्कालीन दरबार हाईस्कुलमा क्रमशः कक्षा ६ र ४ मा पढ्नुहुन्थ्यो । बौद्ध-महांकालबाट एकडेढ घन्टा हिँडेर जानुपर्ने भए पनि त्यतिबेला दरबार हाईस्कुलमा पढ्न पाउनु ठूलो कुरा थियो । परिवारमा आर्थिक सम्पन्नता थियो र बाल्यकाल हाँसीखुसी बितिरहेको थियो । त्यसमा पनि सो समयमा अलाहाबादमा पढेका बुवाका बुवा अर्थात् मेरो हजुरबुवा नेपाली, हिन्दी, उर्दू र संस्कृतमात्र होइन, अंग्रेजीमा पनि राम्रो दखल राख्ने, साहित्य, कला र संगीत तीनै क्षेत्रमा अनुराग र प्रतिभा भएका एकजना सुपठित र सुसंस्कृत व्यक्ति हुनुहुन्थ्यो । 

तर जीवनका अनिश्चितता सदा रहस्यमय हुने रहेछन् । मेरो बुवा र काकाको जीवनमा पनि त्यस्तै रहस्यमय अनिश्चितताको बज्रपात भयो । सबैथोक थियो अनि एकैपटक केही पनि थिएन । घरै खाली हुने गरेर एकडेढ वर्षभित्र १२ वर्षका बुवा र आठ वर्षका काकालाई मात्र छोडेर परिवारका सबै सदस्यहरूको देहावसान भयो ।

बुवाहरूको स्कुल छुट्यो । घरमा पकाएर खान दिने मान्छे कोही थिएन । आफन्तहरूले एकजना पति गुमाएकी आफन्तलाई दुईजना नाबालकको स्याहार गर्न पठाए । उनले स्याहार गरेजस्तो गरेको तर साँच्चिकै स्याहार कहिल्यै नगरेको र खपिनसक्नुभएपछि सानैदेखि स्वाभिमानी र हठी स्वभावका मेरा बुवाले उनलाई घरबाट निकालिदिएको कथा हामीले बुवा र काकाबाट सुनेका छौं । बुवाले लेख्नु र भन्नुभएको छ- हामी टुहुराहरूलाई त्यतिबेला मायाको भेल बगाउने आफन्त र अरू नआएका होइनन् । 

तँ जति ठूलो पदमा पुगे पनि कुर्सीले मागेको दायित्व पूरा गरिस् भने मात्रै म खुसी हुन्छु, अन्यथा तैंले हासिल गर्ने पदले मेरा लागि कुनै अर्थ राख्ने छैन । त्यो वाणी मेरो कानमा सधैं गुन्जिरह्यो र जीवनभर गुन्जिरहनेछ ।

तर तीमध्ये धेरैले घरका मूल्यवान् सामान लगे, खान नपाएको बेलामा थोरैथोरै पैसा दिएर धेरै जग्गाजमिन लगे, घरका पुस्तक लगे, घरमा पालेको गाईभैंसीका दूध लगे, तर दुईजना टुहुरा सबैका लागि भारी भए । ‘हामी हेर्छौं’ भनेर लाने कोही भएनन् । त्यसै भएर बुवाले मलाई एकपटक भन्नुभएको छ र सम्भवतः कतै लेख्नु पनि भएको छ— हामीसँग जग्गाजमिन प्रशस्तै थियो, उमारेर खान दिने मान्छे थिएन, माटो खान हुँदैनथ्यो ।

त्यो समयमा दुईजना        श्रीमती हुनु या बाहिर एकजना, त्यतिबेलाको भाषामा भन्दा, ‘भित्रिनी’ हुनु अस्वाभाविक थिएन । मेरा हुजुरबुवाको पनि हजुरआमाले घरमा ल्याउन नदिएको एकजना ‘भित्रिनी’ हुनुहुँदो रहेछ । अन्ततोगत्वा उहाँले नै आएर मेरो बुवा र काकाको स्याहार गर्न थाल्नुभएछ, जसलाई ‘दिदीआमा’ को नामबाट मेरो बुवाले अत्यन्तै स्नेह र        श्रद्धाका साथ स्मरण गर्नुहुन्थ्यो । तर अशिक्षित र नियमित आयस्रोत नभएकी एक्ली दिदीआमाले न मेरा बुवा र काकालाई पुनः स्कुल पठाउन क्षमता राख्नुहुन्थ्यो न त भएका सबै जग्गाजमिन राम्रोसँग सम्हाल्ने । तर स्कुल छुट‍ेका बुवा र काकाले दिनभरि घरका गाईवस्तु चराउन लैजाने र हेर्ने गरेपछि दिदीआमालाई घर सम्हाल्ने, खेतबारीमा केही उमार्ने र दुईजना छोराहरूलाई केही खुवाउने समय मिल्थ्यो । त्यति हुँदाहुँदै पनि भोकै पेट लिएर सुतेका रातहरूको बुवाले बेलाबखत उल्लेख गर्नुहुन्थ्यो ।

फालिएको कागजमा लेखिएको कथा

जटिल परिस्थितिबाट गुज्रँदा पनि बुवा र काकामा चेतनाको स्तर अनौठो भएको प्रतीत हुन्छ । बुवाले आफ्नो आत्मवृत्तान्तमा बाल्यकालदेखि नै चित्रकला, संगीत, साहित्य र खासगरी त्यतिबेला नाट्यकलामा रहेको आफ्नो लगावका बारेमा उल्लेख गर्नुभएको छ । रेडियो नेपालमा गीत रिकर्डिङ हुने व्यवस्था नहुँदै ‘लाइभ’ गाउनुपर्ने जमानामा बुवाले आफैंले लेखेको र संगीत हालेको ‘हेलो, हेलो ज्ञाननानी, ‌ओ माई डार्लिङ भन्देऊ मलाई नि’ शब्दको लगायतका अन्य कयौं गीत गाएको, आफैंले कयौं नाटकहरू लेखन, निर्देशन गरेर तथा संगीत भरेर चाबहिल, बौद्ध—महांकाल क्षेत्रमा मञ्चन गरेको उहाँका समकालीनहरू बताउने गर्छन् । 

बुवाले आफ्नो आत्मवृत्तान्त ‘एउटा कथाकारको कथा’ मा लेख्नुभएको छ—विभिन्न समयमा बालकृष्ण समको ‘अमरसिंह’, भीमनिधि तिवारीको ‘विवाह’, दौलतविक्रम विष्टको ‘क्रान्ति’ जस्ता नाटकहरू अभ्यास गरेर यातायात नभएको त्यो जमानामा घन्टाघरको आसपासबाट पैदल हिँडेर राति १०-११ बजे घर आइपुग्दा बालक भाइ कहिले सुतिसकेको हुन्थ्यो, कहिले टुकी बालेर पढिरहेको हुन्थ्यो । त्यसरी बुवा राति फर्किंदा कतिपय रातहरूमा घरमा खाना नै बाँकी नहुने गरेको र भाइ कठ्यांग्रिदो जाडोमा सुकुलमा कक्रिएर सुतेको हुने गरेको बुवाले मलाई बताउनुभएको छ ।

छ र चार कक्षामा पूर्णरूपमा अनाथ भएर स्कुल छुटेका र पुनः स्कुल नै जान नपाएका दुईजना बालकले असोचनीय स्तरको प्रतिकूल अवस्थाबाट पनि कसरी जीवनमा राम्रै प्रगति गरे भन्नेबारे जान्न म बुझ्ने भएदेखि नै उत्सुक थिएँ । बुवा र काकाले गाईवस्तु चराउन जाँदा नजिकैको पशुपति मित्र माध्यमिक विद्यालयमा पढ्ने अन्य केटाकेटीले प्रयोग गरेका या गरिसकेका किताब र कापी मागेर पढ्ने गरेको र दिदीआमाले थोरै मात्र पैसा दिए पनि त्यसबाट कापीकलम किन्ने गरेको मलाई बताउनुभएको छ ।

 त्यति मात्र होइन, उहाँहरूले बाटो र चौरमा फालिएका त्यतिबेला पाइने गोल्ड फ्लेक चुरोटको बट्टालगायत कुनै पनि खाली कागजका टुक्रा टिपेर ल्याउने र त्यसलाई लेख्नका लागि प्रयोग गर्ने गरेको पनि मलाई उल्लेख गर्नुभएको छ । त्यसैले मेरा बुवा र काकाको जीवन फालिएको काजमा लेखिएको कथा हो ।

दिनहरू त्यसरी बित्दै जाँदा एउटा समय यस्तो आयो, जहाँ मेरो बुवालाई लाग्यो कि भाइले प्राइभेट एसएलसी दिए भने पास गर्न सक्छन् । दाइको प्रेरणामा मेरो काकाले १९ वर्षको उमेरमा २०१६ सालमा एसएलसी पास गर्नुभयो । आफूले एसएलसी पास गरेपछि उत्साहित हुनुभएका मेरा काकाले दाइलाई भन्न थाल्नुभयो, ‘दाइ, मैले त पास गरें, दाइले त नसक्ने झन कुरै छैन ।’ भाइले उत्साहित तुल्याएका दाइले पनि हौसिँदै दुई वर्षपछि २०१८ सालमा २५ वर्षको उमेरमा एसएलसी पास गर्नुभयो । 

दाजुभाइमा खुसीको सीमा रहेन । त्यसपछि जीवन थोरै सहज भयो । बुवाले कलाकारको जागिर खाएर र काकाले ट्युसन पढाएर कलेज पढ्न थाल्नुभयो । बुवाले एसएलसी पास गरेको दुई वर्षमै तत्कालीन पूर्वीपाकिस्तानको त्यतिबेला दक्षिण एसियामै ललितकला अध्यापनका लागि विख्यात ढाका विश्वविद्यालयमा चित्रकला अध्ययन गर्न छात्रवृत्ति प्राप्त गर्नुभयो । ढाकाबाट पाँच वर्षमा फर्किएपछिको बुवाको जीवन पैसाका हिसाबले होइन, पेसागत निष्ठा, प्रतिष्ठा र स्वाभिमानका हिसाबले सदा अब्बल रह्यो ।

पैसा उहाँले कमाउने कुरै थिएन र उहाँसँग त्यो कमाउने ढंग पनि थिएन । उहाँका बारे रमाइला कथाहरू छन् । एक दिन घरमा पालेको अत्यन्तै महँगो जर्सी गाईले फुत्किएर अर्काको बारीको मकै खाइदिएपछि बारीधनी दुखेसो पोख्न आउँदा बुवाले ‘गाई नै लैजाऊ समस्यै खत्तम’ भनेर गाई नै दिएर पठाइदिनुभएछ । अर्कोपटक १० वर्षअघि उल्लेख गरेको मूल्यमा १० वर्षपछि दुई रोपनी जग्गा बेचिदिनुभएछ ।

 पछिल्लो घटनामा चाहिँ बौद्धस्तूपको ठीक पछाडिको मूल्यवान् तीन रोपनी जग्गा बेचेर प्राप्त रकमको कत्ति पनि आयमूलक उद्देश्यका लागि प्रयोग नगरी निःशुल्क कला शिक्षा प्रदान गर्न, साहित्य, कला र संगीतसम्बन्धी गतिविधिका लागि निःशुल्क हल उपलब्ध गराउन अनि विदेशबाट नेपालमा आएर कला अभ्यास गर्नेहरूका लागि निःशुल्क आवासको व्यवस्था गर्न सबै रकम ‘हर्मिताज कलाकुटी’ निर्माणमा खर्च गरेको त म आफैं साक्षी छु । धेरै वर्षसम्म उहाँले त्यसैगरी सो कलाकुटी सञ्चालन गर्नुभयो र आफूचाहिँ सधैं परिवार चलाउन नै धाउधाउको स्थितिमा बस्नुभयो ।

कुटीमा फुलेको अमर फूल

त्यसैबीच २०४६ सालमा प्रजातन्त्र पुनस्र्थापना भयो । बुवा बारम्बार भन्ने गर्नुहुन्थ्यो, ‘बौद्धबाट मेरी श्रीमतीले किनेर ल्याएको सागका पातपातमा राजनीतिको लेस हुन्छ, त्यसैले राजनीतिबाट कोही पनि टाढा हुन सक्दैन ।’ तर राजनीतिले सबैलाई छोए पनि र त्यो विचार र आस्थामा अभिव्यक्त भए पनि राजनीति सबैले गर्नु हुँदैन भन्ने उहाँको मान्यता थियो । उहाँ भन्ने गर्नुहुन्थ्यो, एउटा क्यानभासमा सबैले चित्र कोर्न थाले भने त्यो सुन्दर होइन, कुरूप कला बन्छ त्यसैले कलाकारले राजनीति अनुभूत गर्ने हो, अभ्यास गर्ने होइन । 

२०४६ सालको परिवर्तनपछि साहित्य, कला, संगीतलगायत समाजका हरेक क्षेत्र जसरी राजनीतीकरण हुन थाले, त्यसबाट बुवाको दिक्दारी बढेर गइरहेको थियो । त्यसपछि उहाँले विश्वविद्यालयको प्राध्यापन पेसाबाट राजीनामा दिनुभयो, जग्गा बेचेर बनाएको ‘हर्मिताज कलाकुटी’ लाई जीवन निर्वाहका लागि भाडामा दिनुभयो र आफ्नो पुरानो घर कम्पाउन्डमै ‘हर्मिताज कलाकुटी’ स्थापना गरेर गुप्तवास बस्ने निर्णय गर्नुभयो ।

बुवा बेलाबेलामा भन्ने गर्नुहुन्थ्यो, ‘एउटै क्यानभासमा दसजनाले रङ पोत्ने यो व्यवस्था अन्त्य नभएसम्म म घरबाट बाहिर निस्कन्न ।’ त्यसैबाट प्रस्ट हुन्छ, उहाँ कट्टर राजतन्त्रवादी र अझ खासगरी महेन्द्रवादी हुनुहुन्थ्यो । तर कयौं राजतन्त्रवादीजस्तो उहाँ चाकडीवादी कहिल्यै हुनुभएन । राजा वीरेन्द्रको राज्याभिषेकका अवसरमा देशमा आमन्त्रित विदेशी सरकार र राष्ट्रप्रमुखलाई प्रदर्शन गर्न दशरथ रंगशालामा ४० फिट चौडाइ र २५० फिट लम्बाइको राजारानीको विशाल र कठिन तेल चित्र बनाएबाट राजा वीरेन्द्र बुवासँग प्रभावित भएको मैले सुनेको थिएँ । नेपाल ललितकला संस्थामा राजा वीरेन्द्र नेतृत्वको कार्यकारिणी समितिमा बुवा पनि सदस्य हुनुहुन्थ्यो ।

 तिनैको प्रभावस्वरूप होला, एक दिन उहाँलाई दरबारबाट फोन आएछ, ‘ श्रुती सरकारलाई कला सिकाउनका लागि (वीरेन्द्र) सरकारबाट यहाँलाई बोलावट भएको छ, एकपटक दरबार आइदिनुपर्‍यो ।’ मेरा बुवाले जवाफ दिनुभएछ, ‘सरकारलाई बिन्ती चढाइदिनू, म त ‘गुफावासी’ मान्छे, मेरो कुटीमै श्रुती सरकार सवारी हुने भए त खुसीका साथ सिकाउन तयार छु, तर कुटीबाट निस्किएर दरबार आउनचाहिँ असमर्थ छु ।’ सम्पन्नताबाट भवितव्यले सानै उमेरमा झार्नुसम्म झारेर विपन्नताबाट विस्तारै उठेको भए पनि र धेरै पछिसम्म घर चलाउन धौधौ भए पनि मेरा बुवा र काकाका इमानदारी र स्वाभिमानका कयौं यस्ता कथाहरू छन्, जसको ममा गहिरो छाप परेको छ ।

इमानको खडेरी परेको यो समाजमा तिनका फेहरिस्त म कुनै दिन लेख्नेछु तर आज यति भनौं मनले खाएको कुनैकुनै अवस्थामा देशभित्र र देशबाहिरका एकाध कार्यक्रममा सामेल हुने र कतैकतै घुम्नेबाहेक झन्डै तीन दशक मेरो बुवाले मान-सम्मान, पद र पैसाको कुनै लोभलालचबिना आफ्नो सानो संसारमा चराचुरुंगी, रूखपात, रङ र मसीसँग खेल्दै जसरी जिन्दगी गुजार्नुभयो, त्यो सामान्य मान्छेबाट सम्भव नै छैन ।

कतिसम्म भने आफ्नै घरबाट मोटरमा १० मिनेट पर तारागाउँ म्युजियममा दुई वर्षअघि बुवाको जीवनी ‘हर्मिताजः अढाइ दशक गुफामा’ सत्यमोहन जोशी र डा. तारानाथ शर्माजस्ता हस्तीहरूले विमोचन गर्दा बुवा जानुभएन । त्यसअघि बुवाको कला र व्यक्तित्व समेटिएको र प्रतिष्ठित ‘आर्ट क्युरेटर’ संगीता थापाले लेखेको अंग्रेजी पुस्तक ‘इन द आई अफ दि स्टर्म’ काठमाडौंकै बबरमहल रिभिजिटेडमा विमोचन हुँदा पनि बुवा जानुभएन । उहाँलाई दिइएको पुरस्कार र सम्मान पनि अपवादबाहेक आयोजकहरू घरमै पुर्‍याउन जान्थे ।

उहाँ भन्ने गर्नुहुन्थ्यो, बाहिर गएर कलाकारले राजनीति गर्नु, राजनीतिक नियुक्ति खोज्नु या त्यसैको मोहमा कला साहित्यको कुनै सम्मान नै नगर्ने राजनीतिज्ञको भाषण सुनेर ताली बजाउनुभन्दा मेरो बगैंचाको एउटा फूलमा पानी हाल्नु बढी उपलब्धिमूलक हुन्छ । उहाँले त्यसै गर्नुभयो । सुन्दा पनि कतिपयलाई अचम्म लाग्ला, रूखैरूखले भरिएको बुवाको बगैंचामा बुवाले हातमा चारा राखेर ‘आ...आ...’ भनेपछि जंगली ढुकुर र भँगेराहरू हातका औंलामा बस्थे र चारा खान्थे । तिनै चराचुरुंगी, रूखपात, रङ र मसीसँग खेल्दै मेरो बुवाले डेढ दर्जनभन्दा बढी खासगरी निबन्धात्मक पुस्तकहरू लेख्नुभयो र हजारौंको संख्यामा कलाकृतिहरू बनाउनुभयो, जुन नेपाललगायत संसारका विभिन्न देशका कला संग्रहकर्ताहरूमा छरिएका छन् ।

४.पद होइन, दायित्व ठूलो

धेरैअगाडि म कलेजमा पढ्नेताका कुनै सन्दर्भमा बुवाले मलाई एकपटक भन्नुभएको थियो, ‘हेर, जीवनमा जे गरे पनि इमानदारीका साथ गर्नू । पद ठूलो कुरा होइन, यो देशमा पद पाउन कत्ति पनि गाह्रो छैन । तर पदले मागेको दायित्व कति जिम्मेवारीका साथ बहन गरिन्छ, त्यो ठूलो हो । त्यसैले तँ जति ठूलो पदमा पुगे पनि कुर्सीले मागेको दायित्व पूरा गरिस् भने मात्र म खुसी हुन्छु, अन्यथा तैंले हासिल गर्ने पदले मेरा लागि कुनै अर्थ राख्ने छैन ।’ त्यो वाणी मेरो कानमा सधैं गुन्जिरह्यो र जीवनभर गुन्जिरहनेछ । बुवा, कहींकतै जानीबुझीकन बाटो बिराएँ भने आकाशको एउटा कुनाबाट सम्झाइदिनु होला, छोरा, मैले भनेको बिर्सिस् ?


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.