कर्मचारीको रोजाइ युरोप, अमेरिका र अस्ट्रेलिया
काठमाडौं : घुमन्ते कर्मचारीको रोजाइमा युरोप, अमेरिका र अस्ट्रेलिया परेका छन्। उनीहरूले सार्कबाहेकका एसियन देशको पनि भ्रमण गरेका छन्। एक वर्षको अवधिमा कर्मचारीका फरकफरक समूहले विभिन्न देशमा ४ हजार ९ सय १६ पटक भ्रमण गरेको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ।
प्रधानमन्त्री कार्यालयका अनुसार कर्मचारीका सार्कबाहेक एसियाली राष्ट्रमा १ हजार ५ सय ८७ पटक भ्रमण गरेका छन्। कर्मचारीले युरोपका विभिन्न देशमा ५ सय ५४ पटक भ्रमण गरेका छन्। यस्तै उत्तर अमेरिकी राष्ट्रमा २ सय ५५ र अस्ट्रेलियामा १ सय ६१ पटक भ्रमण गरेका छन्। कार्यालयका अनुसार कर्मचारीले भारतको ९ सय २ पटक भ्रमण गरेका छन्। चीनमा ८ सय ५५ पटक भ्रमण गरेका छन्। यस्तै भारतबाहेकका सार्क राष्ट्रमा ५ सय १४ पटक भ्रमण गरेका छन्। कर्मचारीले अफ्रिकी मुलुकमा ५३ र दक्षिण अमेरिकी राष्ट्रमा ३५ पटक घुमेको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ।
गत आव २०७४÷७५ मा २२ मन्त्रालय, केन्द्रीय निकाय, आयोग र नियोगका गरी ५ हजार ११ कर्मचारीले विदेश भ्रमण गरेका थिए। प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालय र निकायसँग भ्रमणको सम्पूर्ण विवरण मागेर अध्ययन गरिरहेको छ। एक वर्षमा कर्मचारीले ४५ हजार ६ सय ५७ दिन बिदेशमा बिताएको उसको भनाइ छ।
कार्यालयले कर्मचारी गएका देश, भ्रमण संख्या र खर्चको विवरण निकालिरहेको छ। विदेश गएका कर्मचारीको भ्रमण मुलुकका लागि उपलब्धिमूलक भए नभएको विषयमा समेत अध्ययन भइरहेको प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले जानकारी दिए।
एक वर्षको अवधिमा कर्मचारीका फरकफरक समूहले विभिन्न देशमा ४ हजार ९ सय १६ पटक भ्रमण गरेको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ।
विदेश जानेमध्ये सबैभन्दा बढी तत्कालीन कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका कर्मचारीले मात्रै १३ हजार २ सय ४४ दिन विदेशमा बिताएको तथ्यांक छ। यो मन्त्रालयका ५ सय ५६ जना कर्मचारी विदेश उडेका थिए। दोस्रोमा अर्थ मन्त्रालयका कर्मचारीले ७ हजार २ सय ६१ दिन विदेशमा बिताएका छन्। अर्थका ३ सय ८९ कर्मचारी विदेश गएका थिए।
तेस्रोमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका २ सय ३१ कर्मचारीले २ हजार ४ सय ६९ दिन विदेशमा बिताएका थिए। बढी विदेश भ्रमण गर्ने चौथोमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका १ सय ६० कर्मचारीले १ हजार ८ सय ३८ दिन बिताएका थिए। पाँचांैमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका १ सय ६६ कर्मचारीले १ हजार ८ सय २८ दिन विदेशमा बिताएको प्रधानमन्त्री कार्यालयको तथ्यांक छ।
विदेश भ्रमणमा सबैभन्दा बढी खर्च गर्नेमा अर्थ मन्त्रालय परेको छ। अर्थले एक वर्षको अवधिमा ४ करोड ५६ लाख विदेश भ्रमणमा खर्चेको छ। यस्तै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ३ करोड ७ लाख, परराष्ट्रले २ करोड २२ लाख युवा तथा खेलकुदले १ करोड ५ लाख र श्रम तथा रोजगार मन्त्रालयले १ करोड १६ लाख रुपैयाँ खर्चिएको छ।
विदेश भ्रमण गर्नेमा गृह मन्त्रालयका १ सय २३, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १ सय २६, परराष्ट्रका १ सय ४६, महालेखा परीक्षक कार्यालयका १ सय ६, युवा तथा खेलकुदका १ सय १९, राष्ट्रिय योजना आयोगका १ सय १६, वन तथा वातावरण मन्त्रालयका २ सय ८६, शिक्षा विज्ञान तथा प्रविधिका १ सय ६५, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनका ९७, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका १ सय ५७, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका ६२, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका १ सय २६ जना विदेश गएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ।