स्थानीय तहपिच्छे फरक दस्तुर

स्थानीय तहपिच्छे फरक दस्तुर

सिरहा : ऐनअनुसार जन्म, मृत्यु, विवाह, सम्बन्धविच्छेद तथा बसाइसराइसम्बन्धी दर्ता ३५ दिनभित्र गरे आठ रुपैयाँ र त्यसपछि जरिवानासहित ५० रुपैयाँसम्म दस्तुर तोकिएको छ । तर, व्यक्तिगत घटना दर्ता ऐनविपरीत सिरहाका स्थानीय तहले दस्तुर लिने गरेका छन् ।

नागरिकता सिफारिस, प्रतिलिपि, अंग्रेजीमा सिफारिस, अविवाहित प्रमाणित, सनाखत तथा नाता प्रमाणितमा पनि स्थानीय तहपिच्छे फरक–फरक दस्तुर छ । स्थानीयका अनुसार गाविस हुँदा नाता प्रमाणितको ५० रुपैयाँ, अंग्रेजीमा सिफारिस गराए डेढ सय र नागरिकता सिफारिस गराउँदा ५० रुपैयाँ लाग्थ्यो । तर, गाउँपालिका र नगरपालिकामा रूपान्तरण हुँदा यी काममा बढी शुल्क लाग्ने गरेको सेवाग्राही बताउँछन् ।

मिर्चैया नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ देखि लागू हुने गरी निवेदन, सिफारिस, नक्कलमा पनि नयाँ दस्तुर कायम गरेको छ । नयाँ दस्तुरअनुसार अब वंशजको नागरिकता अभिलेख कायम गरी सिफारिस गरे १ सय ५० र अंगीकृत नागरिकता सिफारिस गरे ५ सय, नागरिकताको प्रतिलिपि सिफारिस गर्दा १ सय रुपैयाँ, जन्मदर्ता, मृत्युदर्ता, विवाहदर्ता, बसाइसराइ, सम्बन्धविच्छेदका लागि पनि सय रुपैयाँ तोकिएको छ ।

नाता प्रमाणित ३ सय, सनाखत २ सय ५०, मिलापत्र ७ सय, अविवाहित प्रमाणपत्र सिफारिस २ सय तथा अंग्रेजीमा कुनै कुरा सिफारिस गराउँदा ७ सय दस्तुर कायम गरिएको नगरपालिकाका खरिदार राजगिर यादवले सुनाए । अन्य सिफारिस (मूल्य नखुलेको भए) भनेर नगरपालिकाले २ सय ५० रुपैयाँ तोकेको छ । नगर क्षेत्रका लागि चारित्रिक प्रमाणपत्रको सिफारिस लिँदा २ सय ५० र नगर क्षेत्रभन्दा बाहिरका त्यही चारित्रिक प्रमाणपत्र सिफारिस गराउँदा ५ सय रुपैयाँ दस्तुर तिर्नुपर्ने भएको छ ।

गोलबजार नगरपालिकाले आर्थिक ऐन २०७५ अनुसार नगर क्षेत्रका लागि चारित्रिक प्रमाणपत्र सिफारिस लिँदा डेढ सय र बाहिरका लागि २ सय ५० रुपैयाँ दस्तुर तोकेको छ । नाता प्रमाणित ३ सय, अन्य प्रमाणित १ सय, नागरिकता सिफारिस र प्रतिलिपि ५०, अन्य सिफारिस (मूल्य नखुलेको) भनेर १ सय ५०, जन्म तथा बसोबास प्रमाणित १ सय तथा व्यक्तिगत घटना दर्ता ५० रुपैयाँ दस्तुर लिने आर्थिक ऐनमा उल्लेख छ ।

धनगढीमाई नगरपालिकामा नागरिकता सिफारिसका लागि १ सय रुपैयाँ दस्तुर तोकिएको छ । डोम र मुसहर समुदायलाई निःशुल्क तथा अन्य दलित समुदाय, परिचयपत्रप्राप्त विपन्न र अपांगता भएकालाई ५० प्रतिशत छुट दिइएको छ । नाम, थर संशोधन सिफारिस लिँदा पनि यस्तै व्यवस्था गरिएको छ । नागरिकता प्रतिलिपि सिफारिस गराउँदा १ सय रुपैयाँ नै दस्तुर तोकिएको छ ।

व्यक्तिगत घटना दर्ता र स्थायी ठेगाना प्रमाणित गराउन २ सय, नाता प्रमाणित अंग्रेजीमा विद्यार्थीका लागि १ सय र अन्यलार्य १ सय ५० रुपैयाँ तोकिएको छ । सम्बन्धविच्छेदको १ हजार रुपैयाँ र नाबालक प्रमाणित, जन्मदर्ता प्रतिलिपि, चारित्रिक, मिलापत्र र अविवाहित सिफारिस लिन १ सय रुपैयाँ दस्तुर लिन थालिएको छ । अंग्रेजीमा वैदेशिक रोजगारका लागि सिफारिस गराउँदा ५ सय दस्तुर तोकिएको छ ।

अर्नमा गाउँपालिकामा नागरिकता प्रमाणपत्र वा प्रतिलिपि सिफारिस लिँदा १ सय, नाता प्रमाणित १ सय ५०, व्यक्तिगत घटना दर्ता वा प्रतिलिपि शुल्क ५०, प्रत्येक सिफारिसमा निवेदन दस्तुर १० रुपैयाँ र सरसफाइबापत २५ रुपैयाँ अनिवार्य गरिएको छ ।

स्कुलभन्दा चटपटेवाललाई बढी कर

लहान नगरपालिकाले जारी गरेको आर्थिक ऐनमा निजी स्कुलभन्दा बढी चटपटे बेच्नेलाई कर लगाइएको उल्लेख छ । ठेलामा व्यापार गर्नेलाई नगरपालिकामा ठेला दर्ता गर्नुपर्ने नियम बनाइएको छ ।

ऐनअनुसार दर्ता भएको ठेलामा फलफूल, तरकारी, नास्ता, भुजा (चटपटे), अण्डा बिक्री गरेबापत दैनिक प्रतिठेला २५ रुपैयाँ र दर्ता नगरी बिक्री गरे दैनिक ५० रुपैयाँ तिर्नुपर्छ । यो हिसाबले दर्ता भएको ठेलालाई वार्षिक ८ हजार ७ सय र दर्ता नभएकालाई वार्षिक १८ हजार पर्ने देखिन्छ । तर, निजी स्कुललाई नगरपालिकाले वार्षिक प्राविलाई ३ हजार, निमावि ७ हजार, मावि १० हजार र उच्च मावि तथा क्याम्पससम्मलाई १५ हजार कर तोकेको छ ।

धनगढीमाई नगरपालिकाले ठेलामा व्यवसाय गर्नेसँग दैनिक पाँच रुपैयाँ कर लिने आर्थिक ऐनमा उल्लेख छन् । ‘स्थानीय तह सञ्चालनका लागि केही न केही कर लगाउनै पर्छ तर कुन वर्गलाई कति कर लगाउने भन्ने विचार गर्नुपर्छ’, धनगढीमाईका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्रनाथ शर्माले भने । नागरिकता, जन्मदर्ता, मृत्युदर्ता, सिफारिसमा जनतालाई बढी कर लगाउनु उचित नभएको उनको भनाइ छ । ‘कर बढाउनुको साटो करको दायरा बढाइनुपर्छ’, उनले भने, ‘दायरा खोजेर कर लगाउँदा राम्रो हुन्छ । जथाभावी कर लगाउँदा जनतामा मारमा पर्छन् ।’

उनका अनुसार कर्मचारी र जनप्रतिनिधिबीच गहन छलफल हुन नसक्दा पनि यस्तो समस्या भएको हो । ‘बच्च जन्मिँदा राज्यले १ हजार रुपैयाँ दिन्छ’, उनले भने, ‘त्यही बच्चालाई जन्मदर्ता बनाउँदा स्थानीय सरकारले फेरि पैसा लिनु ठीक होइन । व्यक्तिगत घटना दर्ता त निःशुल्क गर्दा जनतालाई राहत हुन्छ ।’

गोलबजार नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गिरिराज ज्ञवालीका अनुसार कर लगाउनै पर्ने अवस्था छ । ‘यो नगरपालिकाले आव २०७४÷७५ मा ३ करोड राजस्व उठाउने सीमा निर्धारण गरेको थियो तर १ करोड ५० लाख ९४ हजार मात्रै संकलन भयो’, उनले भने, ‘जबकि जनप्रतिनिधिकै सेवा–सुविधाका लागि १ करोड २ लाख बर्सेनि खर्च हुन्छ । २२ जना करारमा कर्मचारी छन्, त्यसलाई परिचालन गर्न ९०–९५ लाख चाहिन्छ ।’ नगरपालिकालाई बचाइराख्न पनि आन्तरिक स्रोतबाट ३ करोड रुपैयाँ संकलन हुनुपर्ने उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.