गर्मीले जनजीवन कष्टकर
वीरगन्ज : बिहीबारदेखि गर्मी बढेका कारण पर्सा बारासहित तराईंको जनजीवन प्रभावित भएको छ। बुधबार हल्का वर्षा भएपनि त्यसयता पानी नपरेपछि गर्मी बढेको हो। गर्मीका कारण सर्वसाधारणको दैनिकी अस्तव्यस्त बनेको छ।
बाराको सीमरा विमानस्थलमा रहेको जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालयका अनुसार, गत बिहीबारदेखि पर्सा बारा र आसपासको क्षेत्रमा ३८/३९ डिग्री सेल्सियसको हाराहारीमा तापक्रम रहेको छ।
बिहीबार ३८ , शुक्रबार ३८ , शनिबार ३९ र आइतबारको अधिकतम तापक्रम पनि ३९ डिग्री सेल्सियस मापन गरिएको मौसम विज्ञान विभाग फिल्ड कार्यालयका प्रमुख केशवराज खरेलले बताए। गर्मी बढेसँगै सडक र बजारमा मानिसको चहल पहल कम हुने गरेको छ।
गर्मीका कारण राति १२-१ बजेसम्म घरको कोठामा सुत्न पनि गाह्रो भइरहेको वीरगन्ज अशोक वाटिकाकी गृहीण जागो देवीले बताइन्। चर्को गर्मी र प्रचण्ड घामका कारण खास गरि दैनिक ज्यलादारीमा काम गर्ने मजदुरहरुलाइ बढि सास्ती भएको छ। त्यसै गरि ग्रामीण क्षेत्रमा खेतमा काम गर्ने कृषि मजदुर तथा शहर बजारमा रिक्सा र ठेला चलाउने मजदुरहरुको जनजीवन पनि गर्मीका कारण कष्टकर बनेको छ।
आइतबार वीरगन्जको घढटाघर चोकमा ठेला तान्दै गरेका हरिओम अहरिले बालबच्चाको हातमुख जोर्नु पर्ने बाध्यताले जति सुकै गर्मी भएपनि काम गर्र्नै पर्ने बाध्यता सुनाए। बिहानैदेखि सहनै नसक्ने चर्को घाम लाग्ने गरेकाले दिउँसोको समयमा यात्रु समेत पाउन छाडेको रिक्सा चालक वीरगन्ज अलौंका मनोज कोइरीको भनाइ छ।
गर्मीपछि अस्पतालमा बिरामीको चाप बढेको छ। भाइरल ज्वरो, झडापखालाका बिरामी बढेको चिकित्सकको भनाइ छ।

घण्टाघर चोकमा छाता ओढेर गन्तव्यमा जाँदै यात्रु । तस्बिर : क्रान्ति शाह, वीरगन्ज
प्रतिक्रिया दिनुहोस !