बस्नै दिएन कोसीले

बस्नै दिएन कोसीले

इटहरी  : कुनै बेलाका जग्गावाल हुन् हरिदास तत्मा । अहिलेको बराह नगरपालिकामा कोशीको पूर्वतर्फ उनको झण्डै एक बिगाहा जग्गा थियो । उनीमात्र होइन, उनका बाबुबाजेले बसाएको त्यो बस्तीमा सयौं घर थिए । सप्तकोशीलाई त्यो चित्त बुझिरहेको थिएन । पश्चिमतिरबाट बगिरहेको कोशी २०२० सालपछि पूर्वतर्फ फर्कियो । २० वर्षको अन्तरालमा त्यो गाउँका सबै मानिस आफ्नो जग्गा कोशीलाई छाडेर हिँडे । उनीहरूको साथमा थियो त केवल लालपुर्जा ।

अहिलेसम्म पनि उनीहरूले त्यो जग्गाको मालपोत तिरिरहेका छन् । कोशीपूर्वबाट विस्थापित हुनेमा पूर्वमन्त्री रामकुमार सुब्बा र उनको परिवार पनि हो । बस्ती कोशीमा बगेपछि तत्माको ११ जनाको परिवार २३ सालदेखि कोशीले पश्चिमतर्फको श्रीलंका टप्पुमा बसिरहेको छ । उनले पछि प्रकाशपुरको चक्रघट्टी बजारमा जग्गा जोडे । ‘यहीँ हुर्कियौं, छोडेर जान मन लाग्दैन’, उनी भन्छन् ।

टप्पुमा तीन हजारभन्दा बढी घर परिवारका १० हजारभन्दा बढी मानिस बसिरहेका छन् । सबै खेती र पशुपालनमा निर्भर छन् । तर ती सबै कोशीको धारमा छन् । अर्थात्, उनीहरूलाई जुनसुकै समयमा पनि कोशीले बगाउन सक्छ । कटानकै डरले केहीले टप्पु छाडे पनि अझै धेरै त्यहीँ छन् ।

वर्षेनी कटान

सप्तकोशीले टप्पुको ठूलो भूभाग वर्षेनी कटान गर्छ । सप्तकोशीले कटान कति गर्छ भनेर अनुमान गर्न सकिन्नँ, न त यहाँको क्षेत्रफल, न मानिसको संख्या नै यकिन गर्न सकिन्छ । ‘अघिल्लो वर्ष धेरै कटान ग¥यो, यो वर्ष त्यति गरेको छैन’, तत्मा भन्छन्, ‘पोहोर उः त्यहाँ आँखाले देख्दासम्म टप्पुको जमिन थियो, एकै वर्षमा कोशी वर आइपुग्यो ।’

टप्पुमा आँखाले हेर्दा नभ्याउने भूभागमा खुला काँसघारी छ । ठाउँ ठाउँमा गाई भैंसी चरिरहेका देखिन्छन् । स–साना फुसका घर छन् । बाटोको नामो निसान छैन । नजिकै कोशी बगिरहेको छ, टप्पु बिजुलीविहीन छ । हुने खानेले सोलार जोडेका छन् ।

टप्पुको एक छेउबाट अर्को छेउसम्म हिँडेरै पुग्न पाँच घण्टासम्म लाग्छ । टप्पुको केही भूभाग बेलका नगरपालिकामा पर्छ भने केही बराह नगरपालिकाभित्र पर्छ । ‘यति ठूलो जमिन देख्नेहरूले एअरपोर्ट बनाउन पुग्ने ठाउँ रहेछ भन्छन्’, बराह नगरपालिकाकी उपमेयर कमला मगर भन्छिन्, ‘तर यो ठाउँ जोगाउने वा केमा प्रयोग गर्ने भन्ने विषयमा केही योजना छैन, यो संघीय सरकारको निर्णयमा भर पर्छ ।’

यो सबै भूभाग सप्तकोशीको तटबन्धभित्र पर्छ । वर्षेनी कटान भइरहेको छ । नजिकै रहेको कोशी टप्पु वन्यजन्तु आरक्ष विस्तारका लागि यो भूभाग प्राथमिकतामा परेको छ । त्यसैले यहाँ नेपाली सेना र आरक्ष प्रशासनले दुई वर्षअघिमात्र आफ्ना कार्यालय यहाँ राखेको छ । तर तत्काल ठूलो योजना बनाएर कटान नियन्त्रण नगरेसम्म न यहाँ बस्ती बसाउन सकिन्छ, न एअरपोर्ट वा अरु कुनै संरचना बनाउन नै ।

कोशीले घरको जगैसहित बगाउने सम्भावना भएर पनि यहाँ ५० वर्षअघिदेखि बस्नेहरू यो ठाउँ छाड्न चाहँदैनन् । बरु नयाँ मानिस थपिइरहेका छन् ।

२०७१ सालमा टप्पुमा बस्न आइपुगेका हुन् उदयपुरका गोपाल मगर । उनी उदयपुर नगरपालिकामा बस्थे । सानो टुक्रा जमिन पनि थियो । ‘तर त्यहाँ गरिखानै पुगेन, यहाँ धेरै जमिन भएकाले यता आएँ’, उनले भने । उनले टप्पुको जग्गा किनेका हुन् । ‘सिटको चार लाखको दरले दुई सिट किनेको हुँ’, उनले भने, ‘एक सिटमा एक बिगाहासम्म हुन्छ ।’

छिमेकी जिल्ला हुँदै श्रीलंका टप्पु

यहाँको भूगोल समथर छ । तर बाटो, विद्युत, शिक्षा र स्वास्थ्य पूर्वाधार नहुँदा पनि संघर्ष गरिरहेका छन् । विशेषगरी स–साना बालबालिका, जो घण्टौं हिँडेर विद्यालय पुग्छन्, उनीहरूलाई सास्ती छ । बीच बीचमा पानीका दह तर्दै विद्यालयसम्म पुग्नुपर्छ ।

‘घुँडाभन्दा माथि पानी आयो भने हिँड्नै गाह्रो हुन्छ’, विद्यार्थी चन्द्र चन्द्रवंशीले भने । उनका भाइबहिनीलाई अझ धेरै सकस छ । टप्पुमा पाँच विद्यालय छन्, दुईवटामा कक्षा ८ सम्म पढाइ हुन्छ । कक्षा ८ पढेपछि त्यहाँका विद्यार्थी या टप्पु छाड्छन् या पढाई ।

शिक्षासँगै स्वास्थ्यको अवस्था पनि दयनीय छ । पर्दा अस्पताल लानु प¥यो भने झन् ठूलो समस्या छ । एम्बुलेन्स नजिक छैनन् । सुनसरी आउनु प¥यो भने डुंगाको जोखिमपूर्ण यात्रा या त उदयपुरको बेलका नगरपालिका हुँदै डेढ घण्टा गाडीको यात्रा ।

बराहक्षेत्र नगरपालिका–६ का वडासदस्य श्याम लिम्बु आफंै पनि उदयपुरको बेलका नगरपालिका हुँदै टप्पु पुग्ने गर्छन् । ‘आफैंले जितेको क्षेत्रमा जाँदा पनि छिमेकी जिल्लाको नगरपालिका भएर जानुपर्छ’, उनले भने । अझै पनि डुंगाको जोखिमपूर्ण यात्राबाट बच्न चाहनेका लागि लामो रुटको सडक यातायातकै भर छ ।

सप्तकोशीमा डुंगाको यात्रा जोखिमपूर्ण मानिन्छ । केही वर्षअघि एउटा जेटबोट र मानिस हराएको कोशीमा अहिलेसम्म जेटबोटको टुक्रासमेत कतै भेटिएको छैन । पटक पटकको दुर्घटनामा दर्जनौंको ज्यान गइसकेको छ ।

हात्तीले तहसनहस

तत्मा अहिले टप्पुको तीन बिगाहा क्षेत्रफलमा खेती गर्छन् । उब्जनी लिन व्यापारीहरू घरमै आइपुग्छन् । खुल्ला चरनको फाइदा उठाउँदै उनले गाईभैंसीसमेत पालेका छन् । तर उनको बालीनालीका लागि मुख्य समस्या हात्ती हो । यस्तै बँदेल र जंगली गाईले पनि बाली नाली खाएर हैरान बनाउँछन् । ‘लगानी लायो, हात्ती र बँदेलले खान्छ, ऋण तिर्दै बस्यो’, उनी भन्छन् ।

प्रहरीहरू कमै पुग्ने हुँदा उक्त ठाउँमा तस्करी हुने गथ्र्यो । तस्करी रोक्न उक्त ठाउँमा सेना र आरक्षले क्याम्प राखेको छ । तर सेनाले बेला बेलामा आउने हात्ती भगाउन सहयोग गर्दैनथ्यो । ‘अस्ति एकजना मानिस मारिसकेपछिमात्र हात्ती भगाउन सेनाले सघाउन थालेको छ, नत्र वास्तै गर्दैनथ्यो’, स्थानीय सुग्रीव चन्द्रवंशी भन्छन् ।

स्थानीय मिश्रिलाल महतोका अनुसार, त्यहाँ दैनिक दुई तीनवटा हात्ती आउँछन् । कतिले घर भत्काउँछन् । अन्न खाइदिन्छन् । तर ऐलानीमा बसेको भन्दै सरकारले क्षतिपूर्ति दिँदैन ।

एक लाख छाडा गाई !

आधा दशकदेखि टप्पुमा बसिरहेका अर्जुन चन्द्रवंशीका अनुसार, टप्पुमा झन्डै एक लाख गाई छन् । जुन बेवारिसे छन् । ती गाई भारतीयका हुन् । भारतीयहरूले गाई टप्पुको खुला चरनमा छाड्ने अनि बच्चा जन्मेपछि आएर लैजाने गरेका छन् । कोशी टप्पु आरक्ष प्रशासनले भारतीय पशुलाई सुरक्षा दिएर आफ्नाबाट भने जरिवाना तिराउने गरेको चन्द्रवंशीको आरोप छ ।

‘आरक्ष र सेना भारतीयहरूको हो ? ’, स्थानीय माओवादी नेतासमेत रहेका मिश्रिलाल महतो सोध्छन्, ‘नभए ती सबै गाई यहाँबाट हटाएर देखाओस्, हामी नेपालीको गाईलाई यहाँको चरन मज्जाले पुग्छ ।’

तर नजिकै रहेको आरक्ष प्रशासन भने ती गाई स्थानीयकै भएको दाबी गर्छ । आरक्षका वार्डेन श्यामकुमार शाहका अनुसार, टप्पुमा भारतीय गाई भित्रिने सम्भावना छैन । ‘बाटो बाटोमा सुरक्षाकर्मीहरू छन्, आरक्षलाई सेनाले सुरक्षा दिइरहेको छ, भारतीय गाई भित्रिने वा बाहिरिने सम्भावना नै छैन ।’

विस्थापनको त्रास

गाईभैंसीको बढ्दो संख्या, हात्ती र कटानका कारण सम्भावित जनधनको क्षतिका कारण नजिकै रहेको कोशी टप्पु वन्यजन्तु आरक्ष प्रशासन उक्त मानव बस्ती त्यहाँबाट हटाउन चाहन्छ । एक वर्षअघि पनि छलफल अघि बढाइएकोमा अहिले आरक्षका कर्मचारीले यो ठाउँ छाड्न र धेरै जमिन नओगट्न दवाब दिने गरेको सुग्रीव बताउँछन् ।

आरक्षका वार्डेन श्याम शाह आरक्ष नजिकको मानव बस्तीलाई व्यवस्थित गर्नुपर्र्नेमा जोड दिन्छन् । आरक्ष विस्तार गर्नुपर्ने आवश्यकतासमेत बोध गरिएको छ । आरक्ष विस्तार गर्दा टप्पुमा बस्नेहरूलाई कहाँ स्थापित गर्ने भन्ने समस्या पनि छ ।

कोशीको बीचमा पर्ने        श्रीलंका टप्पुमा एकातिर हात्ती, बँदेलजस्ता जंगली जनावरको आतंक अनि अर्कोतिर कोशीको कटान । त्यसमाथि अहिले कोशी टप्पु वन्यजन्तु आरक्ष विस्तारको कुराले स्थानीय चिन्तित छन् । स्थानीय गोपाल मगर भन्छन्, ‘आरक्ष विस्तार गर्नुअघि हामीलाई उचित बसोबासको व्यवस्था गर्नुपर्छ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.