तेस्रो दिन पनि नेपालको हार मात्रै
जकार्ता (इन्डोनेसिया) : १८औं एसियाली खेलकुद प्रतियोगिताको तेस्रो दिन पनि नेपाली खेलाडीको प्रदर्शन निराशाजनक नै रह्यो । प्रतियोगितामा सोमबार नौवटा खेलमा प्रतिस्पर्धा गरे पनि नेपाली खेलाडीले कुनैमा सुखद नतिजा निकाल्न सकेनन् ।
पदकको निकै आशा गरिएको तेक्वान्दोमा नेपालका तीनैजना खेलाडी पराजित भए । करिब तीन महिना दक्षिण कोरियामा वैदेशिक प्रशिक्षक गरेर एसियाली खेलकुदका लागि इन्डोनेसिया पुगेका नेपाली खेलाडीले आइतबार भएको पुम्से स्पर्धामा पनि नतिजामुखी प्रदर्शन गर्न सकेका थिएनन् ।
तेक्वान्दो एसियाली खेलकुदको इतिहासमा नेपाललाई सबैभन्दा बढी पदक दिलाउने खेल हो । तेक्वान्दोले एसियाली खेलकुदको नेपाललाई एक रजत (नेपालले जितेको सबैभन्दा ठूलो पदक) र १३ वटा कांस्य पदक दिलाएको छ । सोमबार भएको पुरुष ५८ केजी तौलसमूहको आफ्नो पहिलो खेलमा जित हात पार्दै सागर गुभाजूले केही आशा जगाए पनि उनी प्रिक्वार्टरफाइनल खेलमा नमीठो पराजय व्यहोर्न बाध्य भए । आफ्नो पहिलो खेलमा उनले भुटानका तेन्जिङ दोर्जेलाई ५४-४० अंकले हराएका थिए ।
तर, प्रिक्वार्टरफाइनल खेलमा भने सागर भियतनामका भो क्वाक हुङसँग ठूलो अन्तरको पराजय व्यहोर्दै पदकको होडबाट बाहिरिए । पहिलो चरणको खेलमै १४-२ ले पछि परेका सागर दोस्रो चरणमा पनि ११-३ अंकले पराजित भए ।
दोस्रो चरणको खेल समाप्त हुँदा नै सागर आफ्ना प्रतिद्वन्द्वी २० अंकले पछाडि परेकाले तेस्रो चरणको खेलअघि नै भियतनामका खेलाडीलाई विजयी घोषित गरिएको थियो । खेलका क्रममा नेपाली खेलाडी दुई पटक लड्न पुगेकाले भियतनामका खेलाडीलाई तीन अंक फाइदा भएको थियो । भियतनामका खेलाडीले २२ अंक आक्रमणबाट प्राप्त गरे भने तीन अंक नेपाली खेलाडीले फल खेलेकाले पाए ।
यसैगरी तेक्वान्दोकै महिला ५३ केजी तौलसमूहमा नेपालकी निमा गुरुङ लेवनानकी लेटिटा एयुनसँग २३-१० अंकले पराजित भइन् । पहिलो चरणमा लेवनानकी खेलाडीले चार अंक हात पारिन् भने निमा अंकविहीन रहिन् । दोस्रो चरणमा लेटिटाले १० अंक कमाइन् भने निमाले एक अंकमात्र जोड्न सकिन् । तेस्रो चरणको खेलमा भने दुवै खेलाडीले समान नौ÷नौ अंक जोडेपछि लेटिटा सजिलै क्वार्टरफाइनलमा पुग्न सफल भइन् ।
महिलातर्फकै ६७ केजी तौलसमूहमा पनि नेपालकी संगीता नेपाली फिलिपिन्सकी अर्पोन डार्लेन माएसँग २०-१७ अंकले पराजित भइन् । पहिलो चरणमा विपक्षीसामु सुस्त देखिनु नै संगीताको पराजयको कारण बन्न पुग्यो । पहिलो चरणमा फिलिपिन्सकी खेलाडीले सात र संगीताले चार अंक बटुलेका थिए । दोस्रो चरणमा संगीता आफ्नी प्रतिद्वन्द्वीसँग केवल ९-१० अंकले पछि परेकी थिइन् । तेस्रो चरणमा संगीताले ४-३ अंकको अग्रता लिए पनि अघिल्लो चरणको यात्रा तय गर्न भने असफल भइन् ।
पौडीमा पनि केही लागेन
प्रतियोगिताको तेस्रो दिन सोमबार नेपाली खेलाडीले पौडीको दुईवटा स्पर्धामा सहभागिता जनाए पनि अघिल्लो चरणमा भने प्रवेश गर्न सकेनन् । महिला एक सय मिटर फ्रिस्टायल स्पर्धामा नेपालकी गौरिका सिंह आफ्नो हिटमा छैटौं भइन् ।
दुई वर्षअघि ब्राजिलको रियो दी जेनेरियोमा सम्पन्न ओलम्पिक खेलकुदमा सबैभन्दा कान्छी खेलाडीको रूपमा निकै चर्चा बटुलेकी गौरिका दक्षिण एसियाली खेलकुदकी पदक विजेता खेलाडी हुन् । भारतको सिलोङ र गुवाहाटीमा भएको १२औं दक्षिण एसियाली खेलकुदमा उनले रजत पदकसमेत हात पारेकी थिइन् ।
एसियाली खेलकुदमा भने १६ वर्षीया गौरिकाको यो पहिलो सहभागिता हो । हिट चरणमा लेन सातबाट प्रतिस्पर्धा गरेकी गौरिका आफ्नो लेनमा छैटौं भइन् । उनले निर्धारित दूरी पूरा गर्न एक मिनेट ००.८२ सेकेन्ड समय खर्चिइन् ।
गौरिकाले आफ्नो लेनमा मंगोलिया र माल्दिभ्सका खेलाडीलाई पछाडि पारेकी थिइन् । उक्त लेनमा पहिलो स्थानमा रहेकी चिनियाँ खेलाडी झु मेङगुईभन्दा गौरिकाले ६.१५ सेकेन्ड पछाडि निर्धारित दूरी पार गरेकी थिइन् ।
सोही स्पर्धामा प्रतिस्पर्धा गरेकी अर्की नेपाली खेलाडी टिसा शाक्यले पनि हिट चरण पार गर्न सकिनन् । हिट चारमा परेकी टिसा आफ्नो हिटमा आठौं तथा अन्तिम स्थानमा रहिन् । लेन आठबाट प्रतिस्पर्धा गरेकी उनले निर्धारित दूरी पार गर्न एक मिनेट ०३.९६ सेकेन्ड समय खर्चिइन् । उक्त हिटमा पहिलो स्थानमा निर्धारित दूरी पार गरेकी जापानी खेलाडी रिकाको इकीभन्दा टिसा ९.६३ सेकेन्डले पछाडि परेकी थिइन् ।
सुटिङमा पनि उस्तै नियति
१८औं एसियाडमा सोमबार नेपालका दुई खेलाडीले सुटिङमा प्रतिस्पर्धा गरे पनि सुखद नतिजा निकाल्न सकेनन् । पुरुष १० मिटर एयर राइफल स्पर्धामा नेपाली खेलाडी सुसे चौधरी ४२औं स्थानमा आए । उक्त स्पर्धामा कुल ४४ जना खेलाडीले सहभागिता जनाएका थिए ।
उनले कुल ५८१.० अंक हात पारे । उनीभन्दा पछाडि ४३औं स्थानमा रहेका माल्दिभ्सका सुटर मोहम्मद युनुश अहमदले कूल ५६३.२ अंक जोडेका थिए । ४७७.३ अंकसहित टिमोर लिस्टेका खेलाडी सिरिलो फ्रान्सिस्को नेल्सन डा. सिल्भा अन्तिम स्थानमा रहे ।
यसैगरी महिला १० मिटर एयर राइफल स्पर्धामा नेपालका कल्पना परियार र सुस्मिता नेपाले पनि कुनै कमाल गर्न सकेनन् । कूल ५९४.८ अंकसहित कल्पना ४५औं र ५८७.१ अंकसहित सुस्मिता ४६औं स्थानमा रहे । कुल ४८ जना खेलाडीले सहभागिता जनाएको उक्त स्पर्धामा कतार र टिमोर लिस्टेका खेलाडी भने अयोग्य घोषित भएका थिए ।
ब्याडमिन्टनमा पनि हार
अघिल्लो दिन नेपाली ब्याडमिन्टन खेलाडीले पुरुष टिम स्पर्धाको क्वार्टरफाइनलमा पुगेर आफ्ना समर्थकलाई केही खुसी दिएका थिए । तर, त्यसको भोलिपल्ट सोमबार त्यो खुसीले निरन्तरता पाउन सकेन । नेपाली खेलाडी पुरुष टिम स्पर्धाको क्वार्टरफाइनलभन्दा अगाडि बढ्न सकेनन् ।
क्वार्टरफाइनल खेलमा चाइनिज ताइपेईले नेपाललाई ३-० को सोझो सेटमा पराजित ग¥यो । एकलतर्फको पहिलो खेलमा चाइनिज ताइपेईका चु लिम्चेनले नेपालका अनुभवी खेलाडी रत्नजित तामाङलाई २१-१६, २१-१३ को सोझो सेटमा हराए ।
यसैगरी दोस्रो एकल खेलमा चाइनिज ताइपेईका वाङ् जुबीले नेपालका अर्का प्रभावशाली खेलाडी दिपेश धामीलाई २१-५, २१-१४ ले पराजित गरे । पुरुष एकलतर्फकै तेस्रो खेलमा नेपालका नवीन श्रेष्ठ पनि चाइनिज ताइपेईका सु जेनहाओसँग २१-१०, २१-११ ले पराजित भए । नेपाली खेलाडी लगातार तीन खेलमा पराजित भएपछि डबल्सतर्फको दुई खेल खेल्नु परेन ।
उसुमा निराशा
उसुको स्पर्धामा पनि सोमबार नेपाली खेलाडीको प्रदर्शन सन्तोषजनक रहेन । महिला नान्दाओ स्पर्धामा नेपालकी निमा घर्तीमगर ११औं स्थानमा आइन् । उक्त स्पर्धामा कुल १२ जना खेलाडीले सहभागिता जनाएका थिए । निमाले कुल ९.१७ अंक हासिल गरिन् । उनीभन्दा पछाडि रहेकी कजाकस्तानकी डायना उत्यामसेभाले ७.१६ अंक बटुलेकी थिइन् ।
यसैगरी पुरुष नानक्वान स्पर्धामा नेपालका युवराज थापा २१औं स्थानमा रहे । उक्त स्पर्धामा कुल २३ जना खेलाडीले सहभागिता जनाएका थिए । युवराजले कुल ८.२२ अंक बटुलेका थिए । अफगानिस्तान र पाकिस्तानका खेलाडी उनीभन्दा पछाडि परेका थिए ।
साइक्लिङ र प्याराग्लाइडिङमा पनि कमजोर
१८औं एसियाली खेलकुदअन्तर्गत सोमबार भएको साइक्लिङ र प्याराग्लाइडिङ स्पर्धामा पनि नेपाली खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् । साइक्लिङको पुरुष डाउनहिल स्पर्धामा नेपालका राजेश मगर सातौं स्थानमा रहे ।
उक्त स्पर्धामा कुल आठजना खेलाडीले भाग लिएका थिए । टिमोर लिस्टेका खेलाडी उनीभन्दा पछाडि रहे भने आयोजक इन्डोनेसियाका खेलाडी अयोग्य घोषित भएका थिए । सोही स्पर्धाको त्यसअघि भएको सिडिङ रन (वरीयता निर्धारण) मा सहभागी नौ खेलाडीमध्ये उनले आठौं स्थान हासिल गरेका थिए ।
यसैगरी सोमबार नै भएको प्याराग्लाइडिङका स्पर्धामा पनि नेपाली खेलाडीले सुखद नतिजा निकाल्न सकेनन् । जारी एसियाली खेलकुद प्रतियोगितामा नेपालका प्याराग्लाइडिङ खेलाडीले नतिजामुखी प्रदर्शन गर्ने अनुमान गरिएको थियो ।
टेनिसमा केही राहत
१८औं एसियाली खेलकुदको लन टेनिसमा भने नेपाली खेलाडीले केही आशा जगाएका छन् । लन टेनिसको सोमबार भएको महिला डबल्स स्पर्धामा नेपालका मायांका राणा र माहिका राणाको जोडी प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
पालेम्बाङमा भएको खेलमा मायांका र माहिकाको जोडीले माल्दिभ्सको जोडीलाई ६–४, ६–१ को सोझो सेटमा पराजित ग¥यो । प्रिक्वार्टरफाइनलमा मंगलबार नेपाली जोडीले जापानी खेलाडीसँग प्रतिस्पर्धा गर्नेछन् । पुरुष डबल्स स्पर्धामा भने नेपालका संरक्षकभूषण वज्राचार्य र अभिषेक बाँस्तोलाको जोडी भारतीय जोडीसँग ६–१, ६–१ ले पराजित भयो ।
प्रतिक्रिया दिनुहोस !