भारतीयको रोजाइमा नेपालको पहाड : पोखरा र मुक्तिनाथ भरिभराउ

भारतीयको रोजाइमा नेपालको पहाड : पोखरा र मुक्तिनाथ भरिभराउ
सुन्नुहोस्

पोखरा  : भारतको राजस्थानबाट पोखरा आएकी कृष्णा बाई मिणालाई बल्ल सूर्यभन्दा निकै टाढा आएर शीतलमा बसेको महसुस भइरहेको छ। केही दिनदेखि पोखरा घुमिरहेकी उनलाई आफ्नो ठाउँमा भने सूर्यनजिकै आएको जस्तो लाग्थ्यो। अर्थात् गर्मीले बसिनसक्नु थियो। त्यही गर्मी छल्न सपरिवार उनी नेपालको भ्रमणमा आएकी हुन्। त्यसमा पनि उनलाई सबैभन्दा धेरै मुस्ताङको मुक्तिनाथ र पोखरा मन पर्‍यो। भन्छिन्, ‘पहिला पहाड पर्वत, भीर देखेर डर पनि लाग्यो, तर पछि लागेन। पोखरामा त पानी परिरहँदोरै’छ, आनन्द लागिरा’छ।’

बिहारका छोटे कुमार ५ जना साथीभाइसहित पोखरा घुमिरहेका छन्। मध्याह्नतिर हल्का गर्मीजस्तो भए पनि शीतलो भइहाल्ने पोखराको मौसममा उनी लठ्िठएका छन्। पानी पर्दा त उनलाई झन् बढी आनन्द लागिरहेको छ। राजस्थानकी कृष्णा आफ्नो ठाउँमा भने पानी पर्दा पनि गर्मी घट्दै नघट्ने सुनाइन्। ‘यहाँ त ठन्डी पनि लाग्दो रहेछ,’ उनी मुस्कुराइन्।

हिजोआज पोखराको पर्यटकीय केन्द्र लेकसाइडमा भारतीय पर्यटकको घुइँचो छ। सडक किनारमा पार्किङ गरिएका गाडी आधाभन्दा बढी भारतीय नम्बर प्लेटका छन्। नेपाली गाडीमा कताकतिमात्रै इम्बोस्ड नम्बर हुन्छ। तर, सबै भारतीयको शैली एउटै छ। बीआर, यूपी, सिजे, एचआर र डब्लूबीबाट सुरु भएका भारतीय नम्बर प्लेटका गाडी सडकमा पनि उत्तिकै गुडिरहेका छन्। ती गाडी नम्बरका सुरु अक्षरबाटै थाहा हुन्छ, बिहार, उत्तरप्रदेश, हरियाणा, छत्तीसगढ र कोलकाताका पर्यटक पोखरामा छ्यापछ्याप्ती छन्। होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी भन्छन्, ‘दैनिक १५ सय भारतीय गाडी पोखरा भित्रिरहेका छन्।’ सुवेदीकै भनाइमा ठूला यात्रुबहाक बसदेखि कार र जिप आफैं लिएर भारतीय पर्यटक पोखरा आइरहेका छन्।

सुनसान हुने फेवातालभरि हिजोआज डुंगै डुंगा छन्। ती डुंगाभरि यात्रु छन्। सबैजसो भारतीय नै हुन्। फेवा डुंगा व्यवसायी समितिका अध्यक्ष बलराम गिरी सबैजसो डुंगाले अहिले यात्रु पाइरहेको सुनाउँछन्। तालमा ८ वटा डुंगा घाट छन्। तिनमा सबैभन्दा धेरै ३ सय ५४ वटा डुंगा भएको बाराहीघाट नै अहिले सबैभन्दा चलायमान छ। भन्छन्, ‘एउटा डुंगाको पालो आउन ७ दिनभन्दा बढी लाग्थ्यो, अहिले २ दिन पनि नलाग्ने हुन थालेको छ।’ भारतीय पर्यटक प्रायः त बाराही मन्दिरकै दर्शन र परिक्रममा लागि डुंगा चढ्छन्। केही भने केही घन्टा नै डुंगा भाडामा लिएर पूरै ताल सयर गर्छन्।

होटल संघ अध्यक्ष सुवेदीका अनुसार हाल पोखराका होटलहरूको ‘अकुपेन्सी’ ८० प्रतिशत पुगेको छ। विशेष गरी वैशाख र जेठ महिनामा भारतीय पर्यटकहरूको आगमन उल्लेख्य रूपमा बढेको हो। अध्यक्ष सुवेदीले पोखराको इतिहासमै यसपटक सबैभन्दा बढी संख्यामा भारतीय पर्यटकहरू आएको दाबी गरे। भन्छन्, ‘यो स्तरमा भारतीय पर्यटक आएको अहिलेसम्मकै पहिलोपटक भएको हो, मैले ३०औं वर्ष पर्यटनमा बिताएँ, यति धेरै भारतीय पर्यटक आएको पहिला थाहा थिएन।’अध्यक्ष सुवेदीका अनुसार पोखरामा होटल संघ (हान) मा दर्ता भएका ४ सय २५ होटल छन्। 

जसको कुल बेड क्षमता ३० हजार छ। समग्र पोखरा क्षेत्रमा भने साना–ठूला गरी करिब १२ सय होटलहरू सञ्चालनमा छन्। तीमध्ये विशेष गरी ‘स्टार होटल’हरू भारतीय पर्यटकले पूर्णरूपमा भरिएको सुवेदी बताउँछन्। स्टार होटल र रेस्टुरेन्टहरूमात्रै नभएर पोखरामा चलिरहेका २ वटा क्यासिनो पनि भारतीयले भरिएको उनले सुनाए। त्यसबाहेक पोखरा सहर वरपरका गाउँ घान्द्रुक र मर्दी हिमाल पदयात्रातिरका होटलमा पनि भारतीय पर्यटक पुगेका छन्।

पर्यटन बोर्ड पोखरा कार्यालय प्रमुख मणिराज लामिछानेका अनुसार भैरहवाको सुनौली र वीरगन्ज नाकाबाट पसेका भारतीय पर्यटक गण्डकी प्रदेश र पोखरा आएका छन्। उनकै भनाइमा एकै दिनमा आफ्नो सहरबाट भारतीय भैरहवा, स्याङ्जा हुँदै पोखरा आइपुग्छन्। 

वीरगन्जबाट आउनेलाई पनि पोखरा आइपुग्न पूरै दिन लाग्दैन। झन् अहिले नारायणगढ—बुटवल सडकको दाउन्ने खण्ड पनि स्तरोन्नति भएपछि भारतीय पर्यटकले पोखरा आउन सजिलो मानेका छन्। त्यसमाथि मुग्लिङ—पोखरा राजमार्ग भने पूरापूर नै स्तरोन्नति भइसकेको छ। पहिला–पहिला भारतीयको गुनासो नेपालमा राम्रो सडक भएन भन्ने हुन्थ्यो। 

अहिले त्यो गुनासो छैन

यति बेला भारतमा चौपट गर्मी छ। यही मौसमलाई लक्ष्य गर्दै पोखरेलीले ‘गर्मीले बेहाल, चलो नेपाल’ नारासहित प्रवद्र्धनात्मक कार्यक्रम गर्दै आएका थिए। यसपालि भने त्यो प्रवद्र्धनले नतिजा दिएजस्तो भएको छ। पर्यटन बोर्ड पोखरा कार्यालय प्रमुख लामिछानेका अनुसार यो गर्मीका बेला भारतमा कर्मचारी र विद्यार्थीलाई २ महिना बिदा हुन्छ। यसपालि पनि छ। त्यही छेकोमा भारतीय नेपाल आएका हुन्।

त्यसबाहेक यस वर्ष भारतीय पर्यटक यति धेरै बढ्नुमा छिमेकी देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानले मुख्य भूमिका खेलेको हान अध्यक्ष सुवेदी बताउँछन्। भारतमा डलर संचितिको दबाब रहेका बेला प्रधानमन्त्री मोदीले डलर खर्च हुने देशमा भन्दा भारतीय मुद्रा (भारु) चल्ने छिमेकी देशहरूमा भ्रमण गर्न आफ्ना नागरिकलाई आग्रह गरेका थिए। पर्यटन बोर्ड प्रमुख लामिछाने पहिला–पहिला सिंगापुर, थाइल्यान्ड र मलेसिया गइरहनेहरू प्रधानमन्त्रीको सोही आग्रहपछि नेपाल भित्रिएको बताउँछन्।

पर्यटन प्रवद्र्धनमा सामाजिक सञ्जाल (टिकटक र फेसबुक) को प्रभाव पनि निकै ठूलो देखिएको सुवेदीले बताए। उनका अनुसार गत वर्ष पोखरा तथा मुक्तिनाथ दर्शन गरेर फर्किएका भारतीय पर्यटकहरूले सामाजिक सञ्जालमा राखेका भिडियो र फोटाका कारण अन्य मानिसहरूमा पनि यस क्षेत्रप्रति ठूलो उत्सुकता जागेको हो। 

मुक्तिनाथको दर्शन गर्न आउने तीर्थयात्रीहरूको संख्या ठूलो रहेको र उनीहरूले नै मुक्तिनाथ र पोखरा क्षेत्रको व्यापक प्रचारप्रसार गरिदिएकाले अहिले पर्यटकको चाप अत्यधिक भई कतिपय अवस्थामा कोठाहरू पाउनसमेत मुस्किल परेको सुवेदीले जानकारी दिए। नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख मणिराज लामिछानेका अनुसार हवाई मार्गमा पनि यतिबेला भारतीय पर्यटकको चाप उल्लेख्य छ।

पर्यटक आगमन बढ्नुमा भारतमा बढ्दै गएको मध्यम वर्गको आयस्तर र पछिल्लो समय सामाजिक सञ्जालमा ब्लगर तथा भ्लगरहरूले गरेको पोखरा एवं मुस्ताङको प्रचार–प्रसार मुख्य कारक रहेको लामिछानेको पनि भनाइ छ। युवा पुस्ता सामाजिक सञ्जालको इन्फ्लुएन्सका कारण आकर्षित भएका छन् भने धनी वर्ग नेपालमा सहजै क्युआर कोड, जिपे र फोनपे चल्ने प्रविधिका कारण सहज डिजिटल भुक्तानीको सुविधाले गर्दा पनि यसतर्फ आकर्षित भएका हुन्। विगत लामो समयदेखि पोखरेली पर्यटन व्यवसायीहरूले चलाएको ‘चल्यो पोखरा’ र राष्ट्रिय रूपमा सञ्चालित ‘गर्मी से बेहाल, चलो नेपाल’ जस्ता प्रवद्र्धनात्मक अभियानले पनि यसमा बल पु¥याएको उनको भनाइ छ।

तथ्यांक छैन

नेपाल भित्रिने भारतीय पर्यटकहरू कति छन् ? पोखरामा कति आए ? यकिन छैन र हुँदैन। कारण, तथ्यांक राख्ने संयन्त्र छैन। नेपालमा १२ लाख पर्यटक आए भने पोखरामा ४ लाख भनेर अनुमान गर्ने चलन छ। कुनै बेलाको तथ्यांकले नेपालमा आएकामध्ये ३० प्रतिशत पर्यटक पोखरा आएको देखाउँथ्यो भन्ने आधारमा तथ्यांक अनुमान गरिन्छ। नेपालले वार्षिक ११–१२ लाख पर्यटक भित्रिएको दाबी गरे पनि त्यसमा स्थलमार्गबाट भित्रिने ठूलो संख्या छुट्ने गरेको पर्यटन बोर्डको पोखरा कार्यालय प्रमुख मणिराज लामिछाने बताउँछन्।

‘हवाई मार्गबाट ३ देखि साढे ३ लाख भारतीय पर्यटक आउँदा स्थल मार्गबाट मात्रै वार्षिक १४ देखि १५ लाख, अझ पछिल्लो समय त १६–१७ लाख भारतीयहरू नेपाल आइरहेका छन्,’ उनी भन्छन्, ‘हवाई र स्थल दुवै मार्गको वास्तविक हिसाब गर्ने हो भने नेपालमा वार्षिक २८ देखि ३० लाख पर्यटक भित्रिइरहेका छन्। सीमा नाकामा भारतीय पर्यटकको तथ्यांक राख्ने बलियो मेकानिजम नहुँदा पुरानै तथ्यांक दोहोरिने गरेको छ र होटल व्यवसाय कसरी चलिरहेको छ भन्ने वास्तविक चित्र बाहिर आउन सकेको छैन।’

लामिछानेका अनुसार गण्डकी प्रदेश भित्रने प्रमुख नाका मुंग्लिन, स्याङ्जाको रामदी, बागलुङ र रुकुमको सीमा अनि चिनियाँ नाका कोरलामा तथ्यांक संकलन केन्द्र आवश्यक छ। तथ्यांक यकिन नहुँदा पर्यटनमा हचुवाको लगानी नहुने र राज्यको लगानी पनि वास्तविक ठाउँमा केन्द्रित हुने उनी बताउँछन्। लामिछानेले सरकारको नीति तथा कार्यक्रममा भारतीय पर्यटकको तथ्यांक लिने कुरा समावेश छ। प्रदेश सरकारसँग पर्यटन क्षेत्रको सुधारका लागि निरन्तर समन्वय गरिरहेको उनले जानकारी दिए।

भान्साको सामान लिएर आउँछन् पर्यटक

पोखरा, मुक्तिनाथलगायत ठाउँमा भारतीय पर्यटक भरिभराउ भएको खबरसँगै सडकमै खाने र बस्ने अनि फोहोर गर्ने भारतीयको दृश्य पनि सामाजिक सञ्जालमा प्रचारित छ। होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार करिब ५ देखि १० प्रतिशत भारतीय पर्यटकहरू आफ्नै भान्साको सामान लिएर आउने पनि छन्। 

तर, समग्रमा भारतीय पर्यटकको आगमनले पोखराको पर्यटन व्यवसाय चलायमान बनेको उनको भनाइ छ। आफंै पकाएर खानेहरू तीर्थयात्री भएको र उनीहरूलाई पनि व्यवस्थित खानेबस्ने व्यवस्था गरिनुपर्ने पर्यटन बोर्ड पोखरा कार्यालय प्रमुख मणिराज लामिछानेको भनाइ छ। उनी भन्छन्, ‘बाटोबाटोमा निश्चित ठाउँमा हामीले आराम गर्ने, पकाएर खाने भान्छा, शौचालयहरू व्यवस्था गर्ने र पर्यटन सूचना पनि दिने व्यवस्था गर्ने हो भने तीर्थयात्रीहरू व्यवस्थित हुन्छन्।’

‘हामी आफैं भारतका विभिन्न सहर पुगेर ‘चलो नेपाल’ भन्दै निम्तो बाँडेर अभियान चलाउँछौं,’ लामिछाने भन्छन्, ‘निम्तो मान्न आउने पाहुना कोही विलासी गाडीमा आउलान्, कोही सामान्य साधनमा आउलान्। आफ्नो आर्थिक हैसियत अनुसार कोही तारे होटलमा बस्छन् भने कोही बाटोमै पकाएर खान्छन् वा लजमा बस्छन्। उनीहरूलाई व्यवस्थित गर्ने र आवश्यक पूर्वाधार बनाइदिने दायित्व राज्यको हो, अपमान गर्ने होइन।’

कोलकातामा पोखरा प्रवद्र्धन

पोखरेली पर्यटनकर्मीको एउटा टोली यति बेला भारतको पश्चिम बंगालमा पोखरा प्रवद्र्धन गर्न कोलकाता पुगेको छ। नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीले प्रवद्र्धन अभियान कोलकातामा गरेको छ। नाट्टा गण्डकीले जेठ २८ देखि असार १ गतेसम्म भारतको पश्चिम बंगालस्थित कोलकातामा ‘पोखरा–नेपाल प्रमोसनल क्याम्पियन एन्ड बीटूबी सेल्स मिसन’ आयोजना गरिरहेको हो। अभियानमार्फत पोखरा, अन्नपूर्ण क्षेत्र, ग्रामीण पर्यटन र साहसिक पर्यटनका सम्भावनालाई भारतीय बजारमा थप प्रभावकारी रूपमा प्रस्तुत गरिने लक्ष्य छ।

अभियानका क्रममा पोखरा र गण्डकी प्रदेशका प्रमुख पर्यटकीय गन्तव्य समेटिएको वृत्तचित्र प्रदर्शन गरिने नाट्टा अध्यक्ष किशोर दाहालले बताए। उनकै भनाइमा नेपाल र भारतका पर्यटन व्यवसायीबीच व्यावसायिक सम्बन्ध विस्तार गर्ने प्रयास गरिनेछ। ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि सम्बन्धित निकायहरूसँग छलफल गर्ने र कोलकाताका पर्यटकीय गन्तव्यहरूको अध्ययन भ्रमण गर्ने कार्यक्रमसमेत हो,’ दाहालले भने। 

यसअघि पटना, वाराणसी, अयोध्या, गोरखपुर र सिलगुडीमा सञ्चालन गरिएका सेल्स मिसन प्रभावकारी बनेका थिए। त्यही अनुभवलाई आधार बनाएर यसपटक पश्चिम बंगालको ठूलो बजारलाई लक्ष्य गर्दै कोलकातामा पोखराको ब्रान्डिङ गर्न लागिएको हो। 


भारतमा बढ्दै गएको मध्यमवर्गको आयस्तर, सामाजिक सञ्जालका ब्लगर र भ्लगरहरूले गरेको प्रचार, तथा सहज डिजिटल भुक्तानीको सुविधाले गर्दा पोखरा र मुस्ताङतर्फ भारतीय युवा तथा धनीवर्ग आकर्षित भएका छन्।

null
मणिराज लामिछाने
प्रमुख, पर्यटन बोर्ड, पोखरा 


पोखरामा हाल दैनिक १५ सय जति भारतीय गाडीहरू भित्रिरहेका छन् र यहाँका होटलहरूको ‘अकुपेन्सी’ ८० प्रतिशत पुगेको छ। मैले पर्यटन क्षेत्रमा ३० वर्ष बिताएँ, तर यसपटक पोखराको इतिहासमै सबैभन्दा बढी संख्यामा भारतीय पर्यटकहरू आएको मैले पहिलोपटक देखेको हुँ।

null
लक्ष्मण सुवेदी
अध्यक्ष, होटल संघ, पोखरा
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.