९१ वर्ष पुगे दलाई लामा

९१ वर्ष पुगे दलाई लामा
फाइल तस्बिर।

काठमाडौं : तिब्बती समुदायका धार्मिक नेता एवम् गुरु १४ औँ दलाई लामा सोमबार ९१ वर्षमा पुगेका छन्। उनको जन्मदिनका अवसरमा भारत, नेपालसहित विश्वका विभिन्न मुलुकमा रहेका तिब्बती समुदाय र उनका समर्थकहरूले विशेष कार्यक्रम आयोजना गरी दीर्घायुको कामनासहित शान्ति, करुणा र सहिष्णुताको सन्देशलाई स्मरण गरिरहेका छन्।

सन् १९३५ जुलाई ६ मा तिब्बतको आम्दो क्षेत्रस्थित ताक्सेर गाउँमा जन्मिएका उनको बाल्यकालको नाम ल्हामो थोन्दुप थियो। दुई वर्षको उमेरमा उनी १३ औँ दलाई लामाको पुनर्जन्मका रूपमा पहिचान गरिएका थिए।

बाल्यकालदेखि नै धार्मिक शिक्षा ग्रहण गरेका दलाई लामाले सन् १९५० मा तिब्बतको आध्यात्मिक तथा राजनीतिक नेतृत्व सम्हालेका थिए। तर, तिब्बतमा बढ्दो राजनीतिक तनावबीच सन् १९५९ मा चिनियाँ शासनविरुद्ध भएको विद्रोह असफल भएपछि उनी हिमालय पार गर्दै भारत पुगेका थिए। त्यसयता उनी भारतको हिमाचल प्रदेशस्थित धर्मशालामा निर्वासनको जीवन बिताइरहेका छन्।

निर्वासनमा बसेर उनले तिब्बती निर्वासित समुदायको नेतृत्व गर्दै तिब्बती भाषा, संस्कृति, धर्म र पहिचान संरक्षणका लागि विभिन्न पहल गर्दै आएका छन्। तिब्बतको विषयमा उनले हिंसात्मक आन्दोलनभन्दा संवाद, आपसी सम्मान र शान्तिपूर्ण समाधानको पक्षमा निरन्तर वकालत गर्दै आएका छन्। उनले चीनसँगको सम्बन्धमा ‘मध्यमार्ग’ (मिडल वे एप्रोच) को अवधारणा अघि सारेका छन्, जसले स्वतन्त्रताको सट्टा तिब्बती जनताको वास्तविक स्वायत्तताको खोजी गर्ने नीति अवलम्बन गर्छ।

दलाई लामाले आफ्नो सार्वजनिक जीवनमा विश्वका विभिन्न मुलुकको भ्रमण गर्दै राष्ट्रप्रमुख, धार्मिक नेता, वैज्ञानिक तथा शिक्षाविद्सँग संवाद गरेका छन्। उनका प्रवचनहरूमा करुणा, अहिंसा, नैतिकता, अन्तरधार्मिक सद्भाव, मानसिक शान्ति र मानव मूल्यलाई विशेष महत्व दिइन्छ। यही कारण उनी बौद्ध समुदायमा मात्र सीमित नभई विश्वव्यापी रूपमा सम्मानित आध्यात्मिक नेताका रूपमा स्थापित छन्।

उनले विश्व शान्ति, मानवअधिकार र अहिंसाको प्रवर्द्धनमा पुर्‍याएको योगदानका लागि सन् १९८९ मा नोबेल शान्ति पुरस्कार प्राप्त गरेका थिए। नोबेल समितिले विवाद समाधानका लागि शान्तिपूर्ण संवाद र अहिंसाप्रतिको उनको अडानलाई सम्मान गरेको थियो।

सन् २०११ मा दलाई लामाले तिब्बती निर्वासित प्रशासनको राजनीतिक नेतृत्व निर्वाचित प्रतिनिधिलाई हस्तान्तरण गर्दै आफूलाई पूर्ण रूपमा आध्यात्मिक भूमिकामा केन्द्रित गरेका थिए। त्यसयता पनि उनी धार्मिक प्रवचन, पुस्तक, अनलाइन सम्बोधन तथा अन्तर्राष्ट्रिय भेटघाटमार्फत आफ्ना विचार सार्वजनिक गर्दै आएका छन्।

उमेरले ९१ वर्ष पुगे पनि उनी स्वास्थ्यअनुसार सीमित सार्वजनिक कार्यक्रममा सहभागी भइरहेका छन्।  विश्वभर छरिएका तिब्बतीले जुलाई ६ मा धार्मिक एवम् निर्वासित नेता लामाको जन्मदिन मनाउँदै आएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.