६ लाख मुल्य बराबरका कुखुराका चल्ला बरामद
महेन्द्रनगर : भारतबाट अवैधरुपमा चोरी पैठारी गरी नेपाल भित्र्याइएका कुखुराका चल्ला सशस्त्र प्रहरीले बरामद गरेको छ। ठूलो परिमाणमा अवैधरुपमा भारतबाट कुखुराका चल्ला नेपाल ल्याउन लागेको भन्ने सूचना पाएका आधारमा गस्तिमा खटिएको सशस्त्र प्रहरीले कुखुराका चल्ला बरामद गरेको हो।
सशस्त्र प्रहरी बलको ३५ नं. गणबाट प्रहरी सहायक निरीक्षक कुलबहादुर खत्रीको कमाण्डमा खटिएको टोलीले कालागौडी क्षेत्रबाट चल्ला बरामद गरेको हो। शुक्लाफाँटा नगरपालिका- ५ अन्र्तगत पर्ने कालागौडी क्षेत्रमा मंगलबार बिहान करिब साढे ३ बजेको समयमा सशस्त्र प्रहरीको टोलीले कुखुराका चल्ला बरामद गरेको सशस्त्रको ३५ नं. गणका गणपति विनोदराज श्रेष्ठले जानकारी दिए।' बेलौरी नाकाबाट अवैध चल्ला आउन लागेको भन्ने सूचना थियो, उनले भने, 'त्यसैका आधारमा बाहिनीको टोली समेतको सहभागितामा हामीले कालागौडीबाट बरामद गर्न सफल भयौं।'
बेलोरी नाका हुँदै ती चल्ला कञ्चनपुरकै कलुवापुरस्थित एक कुखुरा व्यापारीको भएको खुल्न आएको छ। तर ती व्यापारीको नाम भने खुलाइएको छैन्। कुखुराको चल्ला बोकेर ल्याउने ४ जना मजदुर रहेको सशस्त्र प्रहरीले बताएको छ। कुखुराको चल्लासहित म १ प ४२०५, म २ प २९०१, से २ प ४४९० र से ४ प ९८९६ नम्बरका ४ वटा मोटरसाइकल समेत बरामद गरिएको छ।
बरामद गरिएका चल्ला मंगलबार नै सरोकारवालाको रोहवरमा खाल्डो खनेर नष्ट गरिएको छ। भने कुखुराका चल्ला बोक्न प्रयोग भएका ४ मोटरसाइकल सहित ४ जनालाई कारबाहीका लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ।
प्रतिक्रिया दिनुहोस !