एक वर्ष सिक्दैमा बित्यो

एक वर्ष सिक्दैमा बित्यो

जनप्रतिनिधिहरूले स्थानीय तहको नेतृत्व गरेको एक वर्ष पूरा भएको छ। यो अवधिमा जनताका काम कसरी भइरहेका छन् र तुलसीपुरलाई नमुना नगर बनाउने योजना कहाँ पुगेको छ त्यसबारे जानकारी लिने हिसाबले उनै तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेसँग अन्नपूर्णकर्मी गोपाल शर्माले गरेको कुराकानीको अंश :

 बितेकाे एक वर्षलाई कसरी सम्झनु हुन्छ ?

स्थानीय तहमा ठूलो अवसर छ। त्यो अवसर देखेर नै म निर्वाचनमा होमिएको हुँ। अवसरलाई सदुपयोग गर्दै एक वर्ष बित्यो। निर्वाचनपछिको एक वर्षलाई मैले मुख्यरूपमा सिकाईको रूपमा लिएँ। यस बीचमा धेरै काम भए। अझ धेरै योजना बाँकी छन्। एक वर्षभित्र हामीलाई नीतिगत सुधार, ऐननियम कार्यविधि निर्माण गर्ने र योजना बनाउनेतर्फ बढी केन्द्रित हुनुपर्‍यो। वितेको एक वर्षलाई जति सक्यो उपयोग गरेका छौं। मैले व्यक्तिगत रूपमा भन्नु पर्दा चुनौतीभन्दा अवसरको रूपमा लिएँ यो वर्षलाई।

अवसरको वर्ष भन्नुभयो। के के अवसरहरू छन् ?

म यहाँ जनप्रतिनिधिको रूपमा आउनुभन्दा पहिला नै चुनौतीभन्दा पनि अवसर छ भनेर आएको हो। काम गरेर देखाउने ठूलो अवसर छ। विभिन्न कुरा गर्न सकिन्छ र सक्छु भन्ने अठोटका साथ आएको हु। त्यसले पनि व्यक्तिगत रूपमा मेरा लागि पहिलो वर्ष अवसरको रूपमा रह्यो। विभिन्न चुनौतीसँगै सिकाईको वर्ष रह्यो। आउँदा वर्ष यसले निखार ल्याउने काम गर्नेछ। आधार सिर्जना गरेको पहिलो वर्षले भोलिको लागि बाटो तय गर्नेछ।

एक वर्षसम्मको उपलब्धि के हो ?

उपलब्धिको हिसाबले हामीले पहिलो वर्ष केही जग बसाउने काम गरेका छौं। जुन कुराले अहिले पनि निरन्तरता पाइरहेका छन्। सबभन्दा ठूलो उपलब्धि हामीले हाम्रो कार्यकालभित्र तुलसीपुरलाई देशकै नमुना तुलसीपुर वा सबैले चिन्ने र घुम्न आउने सहरको रूपमा विकसित गर्ने एउटा बलियो आधार तयार पारेका छौं। त्यो ठूलो उपलब्धिको रूपमा लिइएको छ। पहिले तुलसीपुरलाई हेर्ने र चिन्ने कुरामा देशभर फरक ल्याउन सकेका छौं। त्यो नै हामी सबैका लागि एउटा उपलब्धि हो। सँगै पाँचवर्षे कार्यकालमा तुलसीपुरलाई देशकै चिनिने सहरको रूपमा हामीले विकास अवश्य गर्नेछौं। त्यसको खाका पनि तयार भएको छ।

उद्यमका लागि नगरले विशेष खालको प्याकेज ल्याउँदै छ। सबैभन्दा महत्वपूर्ण कुरा तुलसीपुर उपमहानगरपालिकाभित्र रहेको गरिबी उद्यमशीलतामार्फत न्यूनीकरण गर्ने योजना बनाएका छौं।

अर्को कुरा तपाईंले भनेको अनुसार खासगरी हामीले पहिलो वर्षमा शिक्षा, स्वास्थ्य, सडक सञ्जाल, खानेपानी, कृषि तथा पशुपालन, खेल क्षेत्रलगायत विभिन्न कुरामा सबैले देखिने गरी केही उपलब्धि हाँसिल गर्न सकेका छौं। जुन हाम्रा लागि ठूलो कुरा हो। नेपालमा पहिलो पटक तुलसीपुर स्पोटर््स सिटी घोषणा भएको छ। त्यो तुलसीपुरका लागि गौरबपूर्ण उपलब्धि हो।

हामीले थालेका केही सकारात्मक कामको प्रभाव देशभर परेको छ। खरको छानो हटाउने, सुत्केरीलाई भत्ता बढाउनेलगायत विषय तुलसीपुरले ल्याएको थियो। अहिले यी कामको देशभर सिको हुनु हामी सबैको उपलब्धि हो। यसले पनि हामी उपलब्धिका रूपमा छौं भन्ने प्रष्ट छ। हाम्रो पहिलो वर्षको ठूलो मेहनतले तुलसीपुरलाई देशकै सबैभन्दा पहिलो स्पोटर््स सिटीका रूपमा घोषणा गर्न सकेका छौं। यो साच्चिकै चानचुन कुरा थिएन। सरकारले देशमै अन्य ठूला र विकसित सहर हुँदासमेत तुलसीपुरलाई स्पोटर््स सिटीको रूपमा विकास गरेको छ।

हामी आफैंले देशमै पहिलो पटक आफ्ना लागि विभिन्न ऐननियम तथा कार्यविधिहरू बनाएर काम थाल्यौं। त्यसले सबै स्थानीय तहलाई सिकायो। त्यहीअनुसार आफ्ना कार्यक्रम सञ्चालन गर्न सक्ने भएका छौं। सुरुदेखि नै अरुको भरमा नभएर आफैंले कानुन बनाएर स्थानीय तह सञ्चालन गरेका छौं।

नगरलाई समृद्ध बनाउन के योजना अघि सार्नुभएको छ ?

तुलसीपुर उपमहानगरपालिकालाई नमुना नगरको रूपमा विकास गर्दै समृद्ध नगर बनाउने मेरो योजना हो। त्यसका लागि केही सपना र योजना तय गरेको छु। जुन कुरा म आफूले पनि भन्दै आएको छु। स्मार्ट सिटी, स्पोर्ट्स सिटी, शिक्षा, स्वास्थ्य र उद्यमको नगरी बनाउने मेरो सपना छ। त्यहीअनुसार योजना पनि अघि बढाइरहेको छु। स्मार्ट सिटी त्यसै भनिएको होइन। यो लामो अध्ययन र साहसले अघि सारिएको कुरा हो। नेपालभरीका १० वटा सहरलाई स्मार्ट सिटी बनाउन संघीय सरकारले पनि केही पहल थालेको छ। त्यसमा तुलसीपुर पनि परेको छ।

यो उपमहानगरपालिका एक्लैले गर्ने कुरा होइन। यस नगरभित्र बस्ने नागरिक र सरोकारवाला निकायको साथ र सहयोग आवश्यक हुन्छ। तुलसीपुर रणनीतिक केन्द्रको रूपमा तुलसीपुर–लुम्बिनी–घोराही–सुर्खेतको बीचमा छ। हाम्रा लागि यो एउटा अवसरको रूपमा पनि छ। यसलाई त्यहीअनुसार विकास गर्न आवश्यक छ। तुलसीपुर मात्रै होइन हामीले समग्र दाङकै विकास गर्न सकिन्छ भनेर यहाँ आएका हौं।

स्मार्ट सिटी नारामै सिमित भयो भन्ने आरोप छ ? यसलाई कसरी लिनु हुन्छ ?

हामीले भन्दै आएको ‘समृद्ध, हरियाली, विकसित र सु–संस्कृत सहर’ स्मार्ट सिटी एउटा गौरवको कुरा हो। यो पहिलो वर्षमै तयार हुने वा पाँच वर्षे कार्यकालभित्रै तयार हुने कुरा होइन। कम्तीमा यसका आधारहरू तयार गर्ने र केही कुरामा उपलब्धि हासिल गर्ने कुरा मुख्य हो। स्मार्ट सिटी बनाउने हाम्रो अवसरसमेत हो। हामी त्यो कुरामा अघि बढ्दै छौं। फराकिला सडक, उद्यमशील सहरजस्ता थुप्रै कुरा स्मार्ट सिटीका आधार हुन्। हामी त्यतातिर अघि बढ्दै छौ। नारामा मात्रै है कामले देखिनेछ। धैर्य र विश्वास गर्न सक्नुपर्छ।

के हो उद्यमशीलता भनेको ?

नगरलाई समृद्ध बनाउन सबै नगरवासी समृद्ध हुनु आवश्यक हुन्छ। नागरिकहरू आर्थिक रूपमा समृद्ध भएनन् भने नगर समृद्ध हुँदैन। समृद्धिका लागि नगर क्षेत्रलाई उद्यमशील सहरको रूपमा विकास गरिनुपर्छ भनेका छौं। सबै नागरिक उद्यमशील भए नागरिक र नगर दुवै समृद्धिको बाटोमा जान्छन्। विषयगत उद्यममा लगाएर महिला, युवा, बेरोजगार नागरिकलाई समेटने कुरा छ। पाँच वर्षभित्र उद्यममार्फत आर्थिक विकासमा योगदान दिने हो। कोही पनि नगरभित्रका नागरिक बिनासीप र व्यवसाय खाली नबसुन् भन्ने उद्देश्यअनुसार यसलाई लिइएको छ। उद्यमका लागि नगरले विशेष खालको प्याकेज ल्याउँदै छ। सबैभन्दा महत्वपूर्ण कुरा तुलसीपुर उपमहानगरपालिकाभित्र रहेको गरिबी उद्यमशीलतामार्फत न्यूनीकरण गर्ने योजना बनाएका छौं।

तुलसीपुरभित्र रहेका सम्भावना के छन् ?

सम्भावनाको हिसाबले अन्य क्षेत्रभन्दा तुलसीपुर धेरै अगाडि छ। तुलसीपुरलाई सम्भावनै सम्भावनाको सहर मान्न सकिन्छ। त्यतिमात्रै हो त्यो सम्भावनालाई कसरी उपयोग गर्ने भन्ने कुरा, यहाँ विकासको फड्को मार्न निकै सहज छ। हामीसँग एउटा विकसित सहर बन्न सक्ने थुप्रै आधार खडा भएका छन्। आमसञ्चारका हिसाबले हामी बलियो अवस्थामा छौं। भलै केही कुराहरू व्यवस्थापन गर्न आवश्यक छ। उपमहानगरपालिकाभित्र रहेका विविध कुराहरू हाम्रा सम्पत्ति हुन जसलाई चिनाउन र केही भए पनि विकास गर्न हाम्रो लागि ठूलो अवसर छ। तुलसीपुरमा रहेको एयरपोर्टलाई सामान्य आन्तरिक उडानमा मात्रै राखेर पाइलट अध्ययनको थलोका रूपमा पनि प्रयोग गर्न सक्छौं। तुलसीपुरमा पाइलट अध्ययनको थलो बनाउने योजना र विजौरीको छिल्लीकोटमा केबुलकार सञ्चालनको अध्यन सुरु भएको छ। यसले नगर क्षेत्रको विकासलाई सहयोग पुर्‍याउनेछ।

अबको योजना के छ ?

विकसित तुलसीपुरका लागि एउटा रेखाङ्कन कोर्नुछ। योे कार्यकालमा थुप्रै काम गर्नुछ। आफ्नै कार्यकालमा कोरिएका रेखाङ्कनले मुर्तरुप लिन नसके पनि एउटा बलियो आधार बनाउन सकिन्छ। सबैभन्दा पहिलो कुरा हामीले भन्दै आएको स्र्माट सिटीको अवधारणा बलियो बनाउनु छ। ‘के गर्ने भन्ने कुरामा हामीहरू स्पष्ट छौं तर कसरी गर्ने भन्ने कुरा हो’ डेलिभरी गर्ने कुरामा हामीलाई समस्या रहँदै आएको छ।

तुलसीपुरमा रहेको हवाई मैदानलाई नियमित गर्नु हाम्रो लागि एउटा प्रमुख कार्य हो। सरकारले दाङमै बैकल्पिक विमानस्थलको योजना ल्याएको छ त्यो हाम्रा लागि गौरवको विषय हो। तर बारम्बार चल्ने र बन्द रहने विमानस्थललाई सधैंभरी सुचारु गर्ने हाम्रो योजना हो। अर्को कुरा हामीले तुलसीपुरलाई खेल क्षेत्रको हब बनाएजस्तै शिक्षा, कृषि, पशु, स्वास्थ्य र उद्यमको केन्द्रको रूपमा विकास गर्ने योजना छ। तुलसीपुरमा गुणस्तर तथा पूर्वाधार र नीतिगत रूपमा शिक्षाको विकास गर्ने कुरा अघि सारेका छौं। तुलसीपुरमा मेट्रो कलेज स्थापनासँगै घरघरमा स्नातक र प्राविधिक शिक्षा पढेका जनशक्ति उत्पादन गर्नेतर्फ कार्य थालनी गरिनेछ। हामीले हाम्रै आँगनमा भएको संस्कृति र विश्वविद्यालयलाई चिन्न नसक्दा थुप्रै अवसर गुमाएका छौं। तुलसीपुरमा रहेको बबई क्याम्पसलाई थप सुविधा सम्पन्न बनाउनु छ। सँगै प्राविधिक शिक्षाका कलेजहरू भिœयाउनुपर्ने अबको खाँचो छ।

हामीले थालेका केही सकारात्मक कामको प्रभाव देशभर परेको छ। खरको छानो हटाउने, सुत्केरीलाई भत्ता बढाउनेलगायत विषय तुलसीपुरले ल्याएको थियो।

तुलसीपुरमा मेडिकल कलेज स्थापना गर्ने र शिक्षामा निजी क्षेत्रसँग सहकार्य गर्ने दिशामा अघि बढेका छौं। यहाँ भएका सडकको अवस्था सुधार गर्न र सडक सञ्जाल विस्तार गर्ने गुरुयोजना अघि बढाइएको छ। तुलसीपुरमा भएको फोहोर व्यवस्थापन गरेर फोहोरबाट मोहर निकाल्ने योजना बन्दै छ। बजार क्षेत्रमा सडक बत्ति र सीसी क्यामरा राख्ने योजना छ। त्यसका लागि केही कुरा तत्काल र केही आउँदा वर्ष गर्ने सोचमा छौं। उपमहानगरपालिकाभित्र खानेपानी, सिँचाइ, ढल व्यवस्थापन र खेलमैदान क्षेत्रमा व्यापक सुधार गर्न आवश्यक छ।

तुलसीपुर उपमहानगरपालिकाभित्र ठूलो अवसरको रूपमा रहेको कृषि तथा पशुपालन क्षेत्रमा निकै काम गर्न बाँकी छ। यस क्षेत्रमा केही काम गर्ने प्रयास भने गरेका छौं। आउँदा वर्षका लागि शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, पर्यटनमा तुलसीपुर सबैको गन्तव्य कसरी बनाउन सकिन्छ भनेर विभिन्न योजनाका साथ काम थालेका छौं।

चुनौती के कस्ता छन् ?

जनप्र्रतिनिधिको रूपमा जिम्मेवारी सम्हालेपछि सुरुमा हामीले प्राकृतिक विपद् सामना गर्नुपर्‍यो। असारमा निर्वाचित भएर आउँदा नआउँदै साउनमा आएको बाढी हाम्रा लागि ठूलो चुनौती बन्यो। राज्यको विभिन्न ऐननियमका कारण पुनस्र्थापनामा अहिले पनि समस्या छ। पहिलो वर्ष निकै समस्या थियो नीतिगत र वयवस्थापकीय पक्षले। विभिन्न अधिकारका कुराहरू दोहोरो हुँदा पहिलो वर्षमा दुविधा उत्पन्न भयो। कर्मचारी व्यवस्थापन र जनशक्ति अभावले पनि केही जटिलता ल्यायो। संघीय संरचनामा देश गइसकेपछि बजेट र कार्यक्रम ल्याउँदा वित्तीय आयोग गठन गरेर विभिन्न कार्यक्रम ल्याउनुपथ्र्यो तर त्यसो हुन नसक्दा यो बजेटले संघीयता आत्मसाथ गर्न सकेन। जसका कारण प्राय बजेट केन्द्रमै थुप्रिन पुग्यो। यो हाम्रा लागि चुनौती हो। कर्मचारीतन्त्र केन्द्रिकृत हँुदा पहिलो वर्ष काम गर्न समस्या भयो। अझ अहिले आएर पनि कर्मचारी समायोजनको विषय थप जटिल बन्दै छ। कर्मचारीतन्त्र केन्द्र मातहत रहँदा काम कारवाहीमासमेत समस्या छ।

केन्द्र तथा प्रदेश सरकारले आवश्यक अधिकार नदिँदा स्थानीय तहमा आवश्यक पर्ने कर्मचारी नहुने अवस्था रह्यो जुन चुनौती बनेको छ। दाङ जिल्लाकै कुल भूगोलको हिसाबले उपमहानगरपालिकाले १२ प्रतिशत क्षेत्र ओगटेको छ भने जनसंख्यामा ३० प्रतिशत। यहाँ विभिन्न खाले रोजगारीको अवसर र उद्यमशीलता सिर्जना गर्नुपर्ने हुन्छ तर यो अहिले सकिएको छैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.