एसियाली खेलकुद : पदकबाट चुके ज्ञानी र लुमन्ती

एसियाली खेलकुद : पदकबाट चुके ज्ञानी र लुमन्ती

जकार्ता (इन्डोनेसिया) : १८औं एसियाली खेलकुद प्रतियोगिताको चौथो दिन मंगलबार नेपालका दुई खेलाडी क्वार्टरफाइनलमा पराजित भएपछि नेपाल पदकबाट चुकेको छ। तेक्वान्दोकी ज्ञानी चुनरा र उसुकी लुमन्ती श्रेष्ठ क्वार्टरफाइनलमा हारेपछि नेपालले चौथो दिन पनि पदक तालिकामा आफ्नो उपस्थिति जनाउन सकेन।

नेपालकी लुमन्ती श्रेष्ठ सोमबार बाई पाएर महिलाको सान्सौंतर्फ ६० केजीमुनिको तौलसमूहको क्वार्टरफाइनलमा पुगेकी थिइन्। तर, मंगलबार साँझ खेलिएको क्वार्टरफाइनल खेलमा उनी थाइल्यान्डकी खेलाडी बुआलुङ सुचायासँग पराजित भइन्। लुमन्तीले उक्त खेलमा जित हात पारेको भए नेपालले कम्तीमा कांश्य पदक जित्ने पक्का हुने थियो।

यसैगरी मंगलबार विहान भएको तेक्वान्दोको महिलातर्फ ५७ केजीमुनिको तौलसमूहमा नेपालकी ज्ञानी चुनरा भुटानकी किनजङ छोदेनलाई २८-६ अंकको फराकिलो अन्तरले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेकी थिइन्। २५ वर्षीया ज्ञानीले पहिलो चरणमा १०-२, दोस्रोमा १०-१ र तेस्रो ८-३ अंकको अग्रता बनाएकी थिइन्। आक्रमणबाट ज्ञानीले २७ र छोदेनले चार अंक बटुलेका थिए। प्रतिद्वन्द्वीले गलत खेल खेल्दा ज्ञानीले एक र भुटानकी छोदेनले दुई अंक हात पारेका थिए।

क्वार्टरफाइनल भिडन्तमा भने ज्ञानी फिलिपिनो प्रतिद्वन्द्वीसँग नमिठो पराजय भोग्न बाध्य भइन्। फिलिपिन्सकी पाउलिन लोपेजले ज्ञानीलाई २०-० अंकको फराकिलो अन्तरले हराइन्। खेलको प्रारम्भदेखि नै ज्ञानी आफ्नी प्रतिद्वन्द्वीसँग निरीह देखिइन्।

फिलिपिनो खेलाडीले पहिलो चरणमा ३-०, दोस्रोमा ७-० र तेस्रो चरणमा १०-० को अग्रता बनाएकी थिइन्। उनले आक्रमणबाट १७ अंक हात पारिन् भने ज्ञानीले फल खेलेवापत तीन अंक पाइन्। ज्ञानीले क्वार्टरफाइनल खेल जितेको भए नेपालको कम्तीमा कांश्य पदक पक्का हुने थियो। तेक्वान्दो र उसुमा सेमिफाइनलमा पराजित हुने दुवैजना खेलाडीलाई कांश्य पदक दिने प्रावधान छ।

आर्चरीमा निशाना लगाउँदै नेपालका अशिम शेरचन । तस्बिर सौजन्यः लोकेन्द्र बस्नेत 

मंगलबार नै तेक्वान्दोका थप दुई नेपाली खेलाडी भने आफ्नो पहिलो खेलमै पराजित हुन पुगे। महिला ६५ केजीभन्दा माथिको तौलसमूहमा नेपालकी निशा रावल चिनियाँ खेलाडी जाओ पानसँग २२-६ अंकले पराजित भइन्। २३ वर्षीया निशा पहिलो चरणमा १-३, दोस्रोमा ३-६ र तेस्रो चरणमा २-१३ अंकले पछि परेकी थिइन्। आक्रमणबाट चिनियाँ खेलाडीले १८ र नेपाली खेलाडीले ६ अंक पाएका थिए।

पुरुषतर्फको ८० केजीभन्दा माथिको तौलसमूहमा नेपालका अनुज पुजारी काजकिस्तानका रुस्लान जापारोभसँग पहिलो चरणमै २१-० अंकको विशालअन्तरले पराजित भए। खेलको प्रारम्भदेखि नै निराशाजनक प्रदर्शन गरेका अनुज पहिलो चरणमा ०-११, दोस्रो चरणमा ०-७ र तेस्रो चरणमा ०-३ अंकले पछि परेका थिए। जारी एसियाली खेलकुदमा पदकको निकै आशा गरिएको तेक्वान्दोमा हालसम्म नौवटा स्पर्धा समाप्त भइसक्दा नेपालको भागमा निराशामात्र परेको छ।

यसैगरी उसुको पुरुष नानगुन स्पर्धामा पनि नेपाली खेलाडी युवराज थापा पछाडि परे। २० वर्षीय युवराज १७औं स्थानमा आए। उनले ९.२० अंकमात्र बटुल्न सके। उक्त स्पर्धामा २३ जना खेलाडीले सहभागिता जनाएका थिए। अघिल्लो दिन पनि उसुमा नेपाली खेलाडीले सन्तोषजनक प्रदर्शन गर्न सकेका थिएनन्।

यसैगरी मंगलबार नै भएको थ्री बाई थ्री बास्केटबल प्रतियोगितामा नेपाल आफ्नो दुवै खेलमा पराजित हुन पुग्यो। पहिलो खेलमा जापानले नेपाललाई २२-११ अंकले पराजित ग¥यो। साँझ खेलिएको दोस्रो खेलमा कतारले पनि नेपाललाई २१-१८ अंकले पाखा लगायो।

यसैगरी प्रतियोगिताको चौथो दिन भएको पुरुष कबड्डीमा पनि नेपाली खेलाडीको प्रदर्शन निराशाजनक रह्यो। कबड्डीमा पनि नेपालसामु जापान नै तगारो बन्यो। जापानले नेपाललाई ३१-२८ अंकले हरायो। आफ्नो पहिलो खेलमा पनि नेपाली कबड्डी टोली पराजित भएको थियो।

महिला भारोत्तोलनको ५३ केजी तौलसमूहमा भने नेपालकी सञ्जु चौधरीले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा सुधार गरिन्। उनले स्न्याचतर्फ ७२ र क्लिन एन्ड जर्कमा ८६ गरी कुल एक सय ५८ केजी तौल उचाल्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी हुन्। उक्त स्पर्धाको राष्ट्रिय कीर्तिमान यसअघि पनि उनकै नाममा थियो। उनले स्न्याच, क्लिन एन्ड जर्क र कुल गरी तीनवटै विधामा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी हुन्।

यसैगरी पौडीमा पनि नेपालका शिरीष गुरुङ हिट चरणबाटै बाहिरिए। मंगलबार पुरुष ५० मिटर फ्रिस्टायल स्पर्धामा प्रतिस्पर्धा गरेका शिरीषले निर्धारित दूरी पूरा गर्न २६.३३ सेकेन्ड समय खर्चिए। हिट दुईको लेन चारबाट प्रतिस्पर्धा गरेका शिरीष आफ्नो हिटमा तेस्रो भए। उनले लाओस, ताजकिस्तान र माल्दिभ्सका दुईजना खेलाडीलाई पछाडि पारेका थिए। उक्त हिटमा पहिलो भएका पाकिस्तानी खेलाडी याहया मुहम्मद खानभन्दा शिरीषले निर्धारित दूरी पूरा गर्न ०.८३ सेकेन्ड समय बढी खर्चिएका थिए। यसका अतिरिक्त साइक्लिङ, फेन्सिङ र आर्चरीमा पनि मंगलबार नेपाली खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

प्याराग्लाइडिङको पुरुष व्यक्तिगत स्पर्धामा नेपालका विजय गौतम पाँच राउन्डसम्म १४ औं स्थानमा छन् भने सुशील गुरुङ २५ औं स्थानमा छन्। यो स्पर्धामा ३३ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्। गौतम तीन राउन्डसम्म दोस्रो स्थानमा थिए।

यस्तै एक्युरेसीको पुरुष टिम इभेन्ट्समा पाँच राउन्डसम्मको खेल सकिँदा नेपाल आठौं स्थानमा छ। यो स्पर्धामा १५ राष्ट्रले भाग लिएका छन्। एक्युरेसीको महिला टिम इभेन्ट्समा नेपाल सातौं स्थानमा छ। प्याराग्लाइडिङको एक्युरेसीको अन्तिम नतिजा बुधबार आउनेछ। शुक्रबारबाट क्रस कन्ट्री इभेन्ट सुरु हुनेछ। नेपालले क्रस क्रन्ट्रीमा पदकको आशा गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.