टालटुलले  सडक  जाम बढ्यो

टालटुलले  सडक  जाम बढ्यो

काठमाडौं : हतारमा गरिएको सडक मर्मतका कारण सर्वसाधारणले सास्ती बेहोर्नुपरेको छ। बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडीका देशहरूको प्रयास (बिम्स्टेक) शिखर सम्मेलनको पूर्वसन्ध्यामा आकस्मिक रूपमा सडक मर्मत गर्दा जाम बढेको छ। र यसको सबैभन्दा समस्यामा यात्रु परेका छन्।

मर्मतसम्भारका कारण दरबारमार्ग, लैनचौर, त्रिपुरेश्वर, भद्रकाली, माइतीघर, बबरमहल, बानेश्वर, तीनकुनेलगायत क्षेत्रमा अत्यधिक जाम बढेको छ। मर्मतको काम रातिको समयमा गरे केही मुक्ति मिल्ने सार्वसाधारणको भनाइ छ। जाम बढेका कारण कलंकीबाट बबरमहल जान दुई घण्टा लागेको कलंकीकी बबिता भट्टराईले बताइन्। ‘सडक मर्मतको काम रातिमा गरिदिए हुन्थ्यो, हामीलाई साह्रै सास्ती भयो, कलंकीबाट बबरमहल आइपुग्न दुई घण्टा लाग्यो’, उनले भनिन्, ‘ मर्मतसम्भारका काम सधैं गर्नुपर्ने भए पनि यहाँ विदेशी आउँदा मात्रै गरिन्छ।’

काठमाडौंका मुख्य सडक यतिबेला धामाधम टालटुल गरिँदै छ। बानेश्वर, कोटेश्वर, माइतीघर, चक्रपथ, लैनचौर, कालिमाटी, सोल्टीमोड, थापाथली, दरबारमार्ग, बालुवाटारलगायत उपत्यकाका सडक टालटुल गर्ने काम धमाधम छ। एकाबिहानैदेखि आधा रातसम्म सडक मर्मत भइरहेको छ। बिम्स्टेकको चौथो शिखर सम्मेलन भदौ १४ र १५ गते काठमाडौंमा हुँदै छ। सम्मेलनमा सहभागी हुन भारत, भुटान, श्रीलंका, बंगलादेश, थाइल्यान्ड र म्यानमारका राष्ट्राध्यक्ष तथा सरकार प्रमुख काठमाडौं आउँदै छन्। उनीहरूलाई चिटिक्क देखाउन सडक विभागका कर्मचारी सडक मर्मतमा खटिएका छन्। सडक विभागअन्तर्गतका उपकरण पनि पूर्ण रूपमा उपयोगमा आइरहेका छन्। ठाउँठाउँमा रङरोगन गरेर संघीय राजधानीलाई झिलिमिली पर्ने काम भइरहेको छ। विगतमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउँदा होस् वा सार्क शिखर सम्मेलनको बेला होस रातरात काठमाडौं सिगार्ने काम भएको थियो। अहिले पनि अवस्था उस्तै छ। तीनकुनेलगायत स्थानमा सहरको कुरूपता नदेखियोस् भनेर टिनका बारसमेत लगाउने काम भएको छ।

तर चाबहिल–बौद्ध–जोरपाटी र कंलकी–नागढुंगा सडकको अवस्था भने उस्तै छ–दयनीय। उक्त सडक बनाउन न त सरकारको ध्यान गएको छ, न त्यसमा कुनै नेताले चासो देखाएका छन्। कंलकी–नागढुंगा सडकका कारण आफूजस्ता धेरै सर्वसाधारणले दुःख पाएको नैकापबाट रत्नपार्क दिनहुँ आवतजावत गर्ने शर्मिला डल्लाकोटीले बताइन्। त्यसमाथि कालिमाटी, टेकु एवं त्रिपुरेश्वरमा समेत बाटो मर्मत भइरहेकाले झनै सास्ती बेहोर्नुपरेको उनको गुनासो छ। ‘पहिला त कंलकी आउँदासम्म सस्ती थियो’, उनले भनिन्, ‘अहिले कालिमाटी, टुकेतिरको अवस्था पनि उस्तै छ।’

बिम्स्टेक सम्मेलनमा आउने पाहुनालाई चिटिक्क परेको सडक देखाउन अहिले धमाधम काम भइरहेको छ।

ट्राफिक व्यवस्थापनमा असर पार्ने गरी सडक मर्मत गर्ने काम भइरहेको क्षेत्रीय सडक निर्देशनालयका क्षेत्रीय प्रमुख शिवहरि सापकोटाको पनि स्वीकारोक्ति छ। मौसम अनुकूल नरहेको र यसले रातिमा मर्मत गर्ने अवस्था नरहेको उनले बताए। ‘दिउँसोमा त मौसमले प्रभावित गरेको छ भने रातिको अवस्था झनै अनुमान गर्न नसकिने हुन्छ’, उनले भने, ‘रातिमा काम गर्नै नसक्ने अवस्था छ। त्यसैले ट्राफिल व्यस्थापनमा अप्ठ्यारो नपर्ने गरी काम गरिरहेका छौं।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि सोल्टी होटल, विमानस्थलबाट हायात होटल, त्रिपुरेश्वरदेखि महाराजगन्ज हुँदै राष्ट्रपति भवन, सिंहदबार, दरबार स्क्वायर, भक्तपुर, पाटनलगायत धार्मिक स्थलमा मर्मतको काम भइरहेको छ।

चाबहिल–जोरपाटी सडकलाई कच्ची भए पनि तत्कालका लागि मर्मतसम्भार गरिने उनको भनाइ छ। महानगरपालिका सहप्रवक्ता नमराज सिलवालले भने महानगरले बिम्स्टेकका लागि भनेर कुनै पनि काम नगरेको दाबी गरे।

०००

माइतीघर–बानेश्वर सडक मर्मतसम्भार गरिँदै। अन्नपूर्ण


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.