एसियाली खेलकुद : ब्याडमिन्टनमा नेपाललार्इ राहत
जकार्ता (इन्डोनेसिया) : १८औं एसियाली खेलकुदमा नेपाली खेलाडीले निरन्तर निराशाजनक प्रदर्शन गरिरहँदा बिहीबार ब्याडमिन्टनले भने केही राहत दिएको छ । प्रतियोगिताको छैटौं दिन बिहीबार आआफ्नो पहिलो खेलमा जित हात पार्दै नेपाली ब्याडमिन्टन खेलाडी दुई स्पर्धाको प्रिक्वार्टरफाइनलमा पुगेका छन् ।
पुरुष डबल्स स्पर्धामा नेपालका विकास श्रेष्ठ र नवीन श्रेष्ठको जोडी तथा महिला एकल स्पर्धामा नङ्सल तामाङ पहिलो खेलमा सफलता हात पार्दै प्रिक्वार्टरफाइनलमा पुगेका हुन् । नङ्सलले आफ्नो पहिलो खेलमा माल्दिभ्सकी नवाह फाथिमाथलाई २-० को सोझो सेटमा हराइन् । २१-१९ ले पहिलो सेट जितेकी नङ्सलले दोस्रो सेटको नतिजालाई पनि २१-१५ ले आफ्नो पक्षमा पारिन् ।
यसैगरी पुरुष डबल्सतर्फको खेलमा विकास र नवीनको जोडी पनि मंगोलियन प्रतिद्वन्द्वीलाई २-० कै सोझो सेटमा हराउँदै प्रिक्वार्टरफाइनलमा पुगेका हुन् । विकास र नवीनको जोडीले मंगोलियाका सुमियासुरेन यन्कवत र तेमुलिन गोम्बोदोर्जको जोडीलाई २१-१२, २१-७ ले पराजित ग¥यो ।
अन्य स्पर्धामा भने ब्याडमिन्टन खेलाडी पनि पराजित भए । पुरुष डबल्सतर्फकै अर्को प्रतिस्पर्धात्मक खेलमा नेपालका रत्नजित तामाङ र दीपेश धामीको जोडी पाकिस्तानका रिजवान आजम र सुलेरी कासिफ अलीको जोडीसँग १९-२१, २०-२२ ले पराजित भयो ।
महिला एकलतर्फको अर्को खेलमा नेपालकी जेसिका गुरुङ थाइल्यान्डकी इथानन राचानोकसँग ७-२१, ४-२१ ले पराजित भइन् । महिला डबल्सतर्फ थाइल्यान्डकी राविन्दा प्राजोङ्जाई र किथारकुल जोनकोलफानको जोडीले नेपालकी जेसिका गुरुङ र नङ्सल तामाङको जोडीलाई २१-७, २१-५ अंकले पाखा लगायो ।
मिक्स डबल्सतर्फ नेपालकी नङ्सल र रत्नजित तामाङको जोडी आयोजक इन्डोनेसियाका डेबी सुसान्तो र रिकी कारन्दासुको जोडीसँग १३-२१, ७-२१ ले पराजित भयो । मिक्स डबल्सतर्फ नै नेपालका दीपेश धामी र जेसिका गुरुङको जोडी हङ्कङका चुन ही र होई वाको जोडीसँग ११-२१, ११-२१ को सोझो सेटमा पराजित भयो ।
यसैगरी पौडीको महिला ५० मिटर ब्रेस्टस्ट्रोक स्पर्धामा नेपालकी टिशा शाक्य हिट चरणबाटै बाहिरिइन् । हिट एकको लेन चारबाट प्रतिस्पर्धा गरेकी १५ वर्षीया टिशा आफ्नो हिटमा तेस्रो भइन् । उनले निर्धारित दूरी पार गर्न ३९.४६ सेकेन्ड समय खर्चिइन् । उनले लाओसकी एक र माल्दिभ्सका दुई खेलाडीलाई पछाडि पारिन् । उनी आफ्नो हिटमा पहिलो हुने इन्डोनेसियाकी जलपरी अनाक आगुङभन्दा ८.४४ सेकेन्डले पछाडि परिन् ।
पौडीकै पुरुष एक सय मिटर फ्रिस्टायल स्पर्धामा नेपालका शिरीष गुरुङ पनि हिट चरणबाटै बाहिरिए । हिट दुईको लेन आठबाट प्रतिस्पर्धा गरेका शिरीष आफ्नो हिटको अन्तिम स्थानमा रहे । २० वर्षीय शिरीषले निर्धारित दूरी पार गर्न ५७.९२ सेकेन्ड समय खर्चिए । उनले सन् २०१४ मा कतारको दोहामा भएको वल्र्ड च्याम्पियनसिपमा सोही दूरी ५७.१५ सेकेन्डमा पूरा गरेका थिए । सन् २०१६ मा ब्राजिलको रियो दी जेनेरियोमा भएको ओलम्पिक खेलकुदमा पनि शिरीषले यही दूरी ५७.७६ सेकेन्डमा पार गरेका थिए ।
यसैगरी भारोत्तोलनको पुरुष ७७ केजी तौलको समूह ‘बी’मा नेपालका विकास थापा पाँचौं स्थानमा आए । २९ वर्षीय विकासले स्न्याचतर्फ एक सय १३ र क्लिन एन्ड जर्कतर्फ एक सय ३५ गरी कुल दुई सय ४८ केजी तौल उचाले । उनले ७७ केजी तौलसमूहमा पहिलोपटक प्रतिस्पर्धा गरेका हुन् । इन्चोन एसियाडमा भने उनले ६२ केजी तौलसमूहमा प्रतिस्पर्धा गरेका थिए ।
स्न्याचतर्फको आफ्नो पहिलो लिफ्टमा एक सय १३ केजी तौल उचालेका विकासले दोस्रो र तेस्रो लिफ्टमा भने एक सय १८ केजी भार उचाल्न सकेनन् । क्लिन एन्ड जर्कको पहिलो लिफ्टमा एक सय ३५ केजी उचाल्न नसकेका विकासले दोस्रो लिफ्टमा भने त्यति नै तौल उचालेका थिए । तर, तेस्रो लिफ्टमा उनी एक सय ३७ केजी भार उचाल्न असफल भए । उनको समूहमा आठजना खेलाडी सहभागी थिए ।
यसैगरी प्याराग्लाइडिङको महिला एकल एक्युरेसी स्पर्धाको फाइनल (१०औं) चरणमा नेपालकी तृषा श्रेष्ठ १४औं र प्रतिभा भुजेल १५औं स्थानमा आए । कुल १८ खेलाडी सहभागी उक्त स्पर्धामा थाइल्यान्डले स्वर्ण, दक्षिण कोरियाले रजत र आयोजक इन्डोनेसियाले कांस्य पदक जिते ।
सोही स्पर्धाको पुरुषतर्फ नेपालका विजय गौतम आठौं र सुशील गुरुङ २४औं स्थानमा आए । उक्त स्पर्धामा कुल ३३ जना खेलाडीको सहभागिता थियो । उक्त स्पर्धामा आयोजक इन्डोनेसियाले स्वर्ण, थाइल्यान्डले रजत र दक्षिण कोरियाले कांस्य पदक हात पारे ।
यसैगरी कबड्डीको पुरुष टिम स्पर्धामा पाकिस्तानले नेपाललाई ३८-२० अंकले हरायो । उक्त स्पर्धामा नेपालले समूह ‘बी’बाट प्रतिस्पर्धा गर्दैछ । स्क्वासको पुरुष एकल स्पर्धामा नेपालका अरहान्तकेशर सिंह र अमृत थापामगर आफ्नो पहिलो खेलमै पराजित भए । पाकिस्तानका तैयाब अस्लमले अरहान्तलाई र हङकङका ली हो इनले अमृतलाई समान ३-० ले पाखा लगाए ।
यसैगरी पेनकेकसिलातको ६०-६५ केजी तौलसमूहको प्रिक्वार्टरफाइनल खेलमा नेपालका विवेककुमार बिके इरानका मोहम्मद रहिमिबलदेजाईसँग ०-५ ले पराजित भए । आर्चरीको महिला रिकर्भ एकल स्पर्धाको इलिमिनेसन राउन्डमा नेपालकी ज्ञानु अवाले हङकङकी सुक चिङ आदासँग २-६ ले हारिन् । सोही स्पर्धाको पुरुषतर्फ नेपालका तिलक पुनमगरले पहिलो खेलमा भुटानका निमा वाङ्दीलाई ६-० ले हराए भने दोस्रो खेलमा उनी चीनका तिआन यु झुसँग ४-६ ले पराजित भए । नेपालका रोशन नगरकोटी पनि श्रीलंकाका सञ्जीव महमदाचीसँग ०-६ ले हारे ।