चरित्र हराएको राज्य
जब म राष्ट्रिय चरित्र र नायक/नायिकाबारे चर्चा गर्न थाल्छु, एकाएक मेरो सामुन्ने निर्मला पन्त र चुडामणि शर्मा ठिंङ उभिन्छन्। प्रिय निर्मला ! मलाई, मेरो युग र मेरो समाजको नामर्दीपनलाई माफ गर। म बोल्ने मुर्दा हुँ। म र हामी चिहानघारीमा मस्तीका सास फेरिरहेका छौं। यसै पनि काठमाडौंबाट महेन्द्रनगर निकै टाढा सुदूरपश्चिममा छ। तिमी अब भोट दिन सक्दिनौ, आन्दोलनमा सहभागी बन्न सक्दिनौ, त्यसैले राजनीतिक पार्टीलाई वास्ता छैन। तिमी विज्ञापन दिन सक्दिनौ, त्यसैले मिडियाका लागि महत्वहीन हौ। तिमी मानवअधिकार र नागरिक समाजको अभियान पनि बन्न सकेको छैनौ। तिमी सबाल्टर्न हौ, तिम्रो अस्मिता र चिच्याहट यो ‘सभ्य’ समाजको विषय अब रहेन। ‘सभ्य’ समाजलाई, यस्तै त हो, सदा भइरहन्छ भन्ने भइसक्यो।
प्रिय निर्मला ! जतिजति मेरा छोरी र नातिनी हुर्किंदै जान्छन्, त्यतियति म मुर्दा मान्छे पनि आतंकित भने हुन्छु। निर्मला ! मेरो मुर्दा समाज यो वीभत्स समयमा लाचार मान्छेहरूबीच म पनि एक हुँ। मसँग घृणा छैन, आक्रोश छैन, संवेदना छैन, म सोच्नै नसक्ने महाव्यक्तिवादी बनिसकें, माफ गर। साउन १० गते। त्यो वीभत्स दिन। दिँउसो तिम्रो चीत्कार पक्षीले बाहेक कसैले सुन्न सकेन। म र मेरो समाज अहिले पनि मौन प्रतिक्रिया दिँदैछ। महेन्द्रनगर र राजधानीलाई दुखेन। यो मौन संस्कृति, चुप समाज, लाचार प्रशासन, सोच र अवस्था कतै हाम्रो राष्ट्रिय चरित्र त बन्दै छैन ?
केही दिन चर्चामा रहे पनि अर्बौंको भ्रष्टाचारआरोपी चुडामणि शर्मा योजनाबद्ध सुनकाण्ड झैं ओझेलमा पारिए। यस्तो विषयान्तर किन भयो ? के चुडामणिजस्ता व्यक्ति नै हाम्रा चरित्रनायक हुन् ?
पाकिस्तानका नवनिर्वाचित प्रधानमन्त्री इमरान खानले संसारकै विलासी र भ्रष्ट जीवनशैलीका राजनेतालाई सरल र सहज जीवनको उदाहरण पेस गर्दै पराजित गरे। सार्क मुलुक भएर मात्रै होइन, पाकिस्तानसँग हाम्रो राजनीतिको सम्बन्ध पनि निकट छ। प्रधानमन्त्री खानको सरल र सहज भावी राजनीतिक प्रतिबद्धता ‘समाजवादउन्मुख’ नेपाली नेताहरूका भनाइ र गराइबीच देखिने अन्तरविरोधका लागि पनि पाकिस्तानबाट आएको हाकाहाकी चुनौती हो।
जुल्फिकर अली भुट्टो फाँसीमा चढ्दा ३५/३६ सालको विद्यार्थी आन्दोलनलाई ऊर्जा बन्यो। अहिले खानले फेरि मुर्दा समाज र दास मनोवृत्तिका नेपाली राजनीतिक कार्यकर्तालाई दायित्वबोध गराए। तर खानले जुन भ्रष्ट राजनीतिक संरचनामा पूर्णिमाको चन्द्रमाजस्तो उज्यालो इतिहास लेख्ने कोसिस गरिरहेका छन्, त्यसलाई सैनिक नेतृत्व, गुप्तचर संस्था, इस्लामिक अतिवादी, सामन्ती एवं भ्रष्ट राजनीतिज्ञले कसरी पचाउलान् ? धर्मान्ध र जातिवादी स्वप्नद्रष्टा नेतृत्वको बाटाका काँडा हुन्। त्यसमाथि सम्पूर्ण पाकिस्तानी राज्यसंयन्त्रलाई नै भ्रष्ट पारेर त्यो भूगोलमा पाउ पसार्ने पश्चिमाहरूले इमरानलाई कसरी लिने हुन्, भविष्यको गर्भमै छ। भ्रष्ट चरित्र नायकका रूपमा स्थापित स्थानमा भ्रष्टाचारलाई समाप्त पार्नु नै इमरानको मुख्य चुनौती हो।
अर्बौंको भ्रष्टाचारआरोपी चुडामणि शर्मा योजनाबद्ध सुनकाण्ड झैं ओझेलमा पारिए। के चुडामणिजस्ता व्यक्ति नै हाम्रा चरित्रनायक हुन् ?
माथिका दुई प्रसंगले राष्ट्रिय चरित्र र चरित्र नायकको व्यावहारिक खोजी गर्छ। अब प्रश्न उठ्छ– संविधानको दिशानिर्देशनअनुसार हाम्रो संघीय लोकतान्त्रिक धर्मनिरपेक्ष गणतन्त्रको राष्ट्रिय चरित्र के हो र त्यसैअनुसारको चरित्र नायक को हो ? कुनै पनि समाज वा राष्ट्रको चरित्र एकै दिन वा एकाध वर्षमै फेरिँदैन। सोच्ने तरिका, आदर्शको अर्थ, सपनाका भाषा एकै दिन बनेका पनि हुँदैनन्। हरेक सत्ता चरित्रका आधारमा सिद्धान्त, विचार, आदर्श र सपना निर्मित हुन्छन्। त्यो राजनीतिक, आर्थिक र सांस्कृतिक चरित्र बनेर समाजमा देखिन्छ। त्यसैले राष्ट्रिय चरित्रको मानक सत्ता मात्र होइन, सामाजिक चेत पनि हो। सोही चेतनाअनुसार राष्ट्रिय चरित्र र नायक खोजिन्छ।
भदौ १ गतेदेखि नयाँ संहिता लागू भयो। सत्ताचरित्र कानुनको अनुहारमा देखापर्छ। जंगबहादुर राणाले धर्मशास्त्रनिर्देशित मुलुकी ऐन १९१० देखि चलाए। तत्कालीन राजनीतिक, आर्थिक र सामाजिक व्यवस्थाको दिशानिर्देशमा १५५ वर्ष पहिला सुरु गरिएको मुलुकी ऐन मनुस्मृतिका आधारमा थियो। राजकीय धर्मअनुसार नै नैतिकता र अनैतिकता परिभाषित थिए भने दण्ड र पुरस्कारको मापदण्ड हिन्दु वर्णा श्रमका अधारमा थिए। अझै त्यसको निरन्तरता छ।
संविधानको धर्मनिरपेक्ष मूल भावनाविपरीत अहिले पनि नयाँ संहितामा जंगबहदुरको भूत सवार छ। अपराध र दण्ड वा धार्मिक विषयमा पुरानै सोच हावी छ। अझ गोपनीयतासम्बन्धी कानुन र भीख माग्ने ‘अपराध’ को व्यवस्थाले जगहँसाइ गर्यो। राज्य सबै जनताको अभिभावक बन्न नसकेको अवस्था र देशकै अर्थतन्त्र पनि विदेशी सहायता, ऋण र दयामा आधारित छ भने भीख मागेर पनि बाँच्न विवशलाई जरिवाना गर्ने व्यवस्था महाठट्टा बन्यो।
हरेक देशको सामाजिक मनोवज्ञिानअनुसार नै राष्ट्रिय चरित्र निर्माण र निर्धारण हुन्छन्। सोहीअनुसार चरित्रनायक/खलनायक पनि बन्छन्। समय, आर्थिक सम्बन्ध, सांस्कृतिक चेत र राजनीतिक परिवर्तनसँगै पात्रका चरित्र पनि फेरिँदै जान्छन्। नायक खलनायकमा फेरिन्छन् भने सामाजिक असन्तोष, अन्तुष्टि, विद्रोहसँग नयाँ समयका नायक जन्मिँदै जान्छन्। परिवेश फेरिए पनि नायकहरूले राजनीतिसँगै आर्थिक र सांस्कृतिक चरित्र फेर्न सकेनन् भने आफ्नै आदर्श र नायकत्वको बोझ थेग्न सक्दैनन्। या त उनीहरू पुरानै राजनीतिक संस्कृतिमा ढालिनुपर्छ या सन्दर्भहीन भएर थन्किन बाध्य हुन्छन्। जुन सामाजिक आवश्यकताले नायक बन्यो, त्यसैको स्वामित्व लिन सकेन भने ऊ खलनायकमा फेरिएको पत्तो हुँदैन।
समयको गति चिन्न नसक्ने नायकका लागि इतिहास निर्मम हुन्छ। पाकिस्तानमा त्यही भयो पुराना पार्टी तपसिलमा पुगे, निवर्तमान प्रधानमन्त्री नवाज सरिफ जेलमा पुगे। निराश जनमतका सामने नयाँ पार्टी र नयाँ नेता उदायो। सत्तासँग आदर्श र नायकत्व पचाउने अत्यन्तै कडा पाचक हुन्छ। आदर्शका गीत गाएर सत्ताको चरित्र निर्माण थलोमा पुगेका हिजोका त्यागीलाई सत्ताले कसरी सजिलै पचायो भन्ने प्रश्नको उत्तर खोज्न सत्ता संरचनालाई नियाल्नुपर्ने हुन्छ।
हाम्रो राष्ट्रिय चरित्रलाई बुझ्न सुगौली सन्धिसम्म पुगेर त्यसबेला भएका बहस र सहभागी पात्रलाई पनि हेर्नुपर्ने हुन्छ। एकातर्फ अंगे्रजसँग नेपाल लड्दै थियो भने अर्कोतर्फ कूटनीतिक सम्पर्कमा गएका गजराज मि श्र र चन्द्रशेखरोपाध्य निजी हितका लागि राष्ट्रिय अस्मिता बेच्दै थिए। योद्धा रणभूमिमा थिए तर लडाइँमा पराजित नभएकाहरू स्वार्थमा बिके। आचार, विचार र व्यवहारमा आदर्शलाई होइन, भ्रष्टतालाई स्विकारियो। अंग्रेजबाट पाएको बक्सिसका लागि राष्ट्रिय अस्मिता तिनले बेचेको पीडा अहिले पनि विद्यमान छ। स्वाभिमानी चरित्र पानीका फोकाजस्तै बीचबीचमा देखा परे पनि राष्ट्रिय चरित्रमै टिक्न भने सकेनन्।
निर्मला ! माफ गर। अहिले हाम्रो देशमा पुनः भ्रष्ट चरित्र हावी भएको छ। यसबेला तिम्रो चीत्कार हामीले सुन्न सकेका छैनौं।