सगुन, फाग र हुड्केउली अब पुस्तकमा
बैतडी : प्रदेश ७ का विभिन्न जिल्लामा शुभकार्यमा गाइने सगुन, फाग र हुड्केउलीको संकलन प्रकाशन गरिएको छ। बैतडीका अमरबहादुर टेरले श्रुतिका आधारमा गाइने गीतहरू समेटिएका दुई पुस्तक ‘सगुन र फाग’ तथा ‘हुड्केउली’ पुस्तक प्रकाशन गरेका हुन्।
सगुन, फाग र हुड्केउलीका जानकारहरूसँग कुराकानी गरेर त्यसलाई पुस्तकमा उतारेको दशरथचन्द नगरपालिका–१, गुरुखोलाका टेरले बताए। उनले भने, ‘हाम्रा पुराना संस्कृतिहरू लोप हुँदै गएका छन्। सगुन र फागमा गाइने भाकाहरू लोप हुन थालेका छन्। युवा पुस्ताको संस्कृति संरक्षणमा आकर्षण बढाउन पुस्तक लेख्ने प्रयास गरेको हुँ।’
पुस्तक प्रकाशनमा दशरथचन्द नगरपालिका–१ को कार्यालयले सहयोग गरेको टेरले बताए। पुस्तकमा विवाह गर्ने बेला, यज्ञयज्ञादी लगाउने बेला तथा देवीदेवताको पूजाआजा गर्दा गाइने गीत ‘सगुन र फाग’मा समेटिएका छन्। यस्तै महाभारतका कथा समेटिएका सगुन र फाग पनि रहेको छ। ‘हुड्केउली’ पुस्तकमा शोभा राउतको जीवनगाथा समेटिएको छ।
अहिलेसम्म अलिखित रहेको हुड्केउलीलाई जानकारसँग कुराकानी गरी पुस्तकमा उतारिएको टेरले बताए। उनले भने, ‘हुड्केउलीका जानकार वीरे दमाईसँग कुराकानी गरेर उनले भनेका शब्दलाई पुस्तकमा उतारेको छु।’ आगामी दिनमा सगुन, फाग र हुड्केउलीको अडियो भिडियो सामग्री बनाउने तयारी पनि गरेको उनले बताए।
पुस्तकले लोप हुन लागेको सगुन, फाग र हुड्केउली संरक्षण गर्न सहयोग पुर्याउने दशरथ चन्द नगरपालिका–१ का वडाध्यक्ष भुवनराज भट्टले बताए। उनले भने, ‘त्यही भएर अमरबहादुरले संकलन गरेको पुस्तक प्रकाशनमा सहयोग गरेका हौं। वडाले पनि संस्कृति संरक्षणका कामलाई प्राथमिकतामा राखेको छ।’
स्थानीय संस्कृतिका जानकार भीमराज भट्ट भन्छन्, ‘सगुन, फाग, हुड्केउली जस्ता संस्कृतिहरू श्रुतिका आधारमा गाउने गरिएको छ। अब पुस्तकमा यी कुरा आएपछि अहिलेको पुस्तालाई पनि जनाकारी होला भन्ने आशा जागेको छ।’
मणिलेक मावि गुरुखोलामा आयोजित ‘सगुन र फाग’ तथा ‘हुड्केउली’ पुस्तकको विमोचन कार्यक्रम।