यसै थन्किन्छन् निगमका जहाज, पाइलट बहाना मात्रै
काठमाडौं : नेपाल वायु सेवा निगमले आन्तरिक उडानतर्फ चालू हालतका आठमध्ये ६ जहाज थन्काएको छ। अनि बहाना बनाएको छ- पाइलटै छैन। अन्नपूर्णलाई प्राप्त कागजातले भने उसँग जहाज उडाउने पाइलट पर्याप्त भएको देखाउँछ।
ल्याएको जहाजै नउडाएर गत आर्थिक वर्ष ३५ करोड रूपैयाँभन्दा बढी घाटा खाँदै आएको निगमसँग ६ वटा चिनियाँ जहाज छन्। तीमध्ये दुईवटा ठूला (एम ६०) र चारवटा साना (वाई १२) छन्। निगमले मुस्किलले एउटा ठूलो र एउटा सानो मात्रै उडाउने गरेको छ भने चारवटा ग्राउन्डेड छन्।
ट्वीनअट्टर
त्यसैगरी ३० वर्षअघिको ट्वीनअट्टर विमान पनि साउन १८ देखि एयरपोर्टमा ग्राउन्डेड छ। कुनै बेला १२ वटासम्म रहेका ट्वीनअट्टर अहिले तीनवटा मात्र बाँकी छन्। बाँकी दुईमध्ये पनि एउटा उडे अर्काे उड्दैनथ्यो। मुलुकको अति दुर्गम क्षेत्रलाई जोड्ने यी जहाजलाई पनि निगमले पाइलट नभएको भन्दै थन्काइरहेको छ।
निगमसँग ट्वीनअट्टर उडाउने पाइलट १० जना छन्। यीमध्ये आईआर गुरुङ, पी शेर्पा, एम विष्ट, यू सिलवाल र एमबी तुम्बाहाङ्फे पाइलट हुन् भने एमबी शाही, आरके रौनियार, के थापा, बी प्याकुरेल र ए आर्या को-पाइलट छन्। ट्वीनअट्टर उडाउने पाइलटमध्ये गुरुङ, श्रेष्ठ र विष्ट तारा एयरलाइन्सबाट करारमा मासिक १०-१० लाख रूपैयाँ तिरेर ल्याइएको हो। जहाज बन्द गराएर ती पाइलटलाई निगमले तलब मात्र खुवाइरहेको छ।
निगमको सञ्चालन कार्यविधिअनुसार एक जहाज उडाउन २.५ पाइलट प्रतिसेट हुनुपर्छ। यो मापदण्डअनुसार एक दिनमा १० पटक अवतरण (ल्यान्डिङ) गर्दा प्रतिजहाज २.५ जना पाइलट चाहिन्छ। निगमले एउटा जहाजले बढीमा ६ पटक अवतरण गर्छ। दस जना क्याप्टेनले दुईवटा जहाज पूर्ण क्षमतामा उडाउन सक्छ। निगमले लुक्ला, मुगुजस्ता अत्यन्त विकट क्षेत्रमा उडाउन सक्ने पाइलट एन भट्टराईलाई ६ महिनाअघि एयरबसतर्पm सरुवा ग¥यो। उनको ठाउँमा अरुलाई पूर्ति गरेन। एमबी शाही र आरके रौनियार पाइलटमा बढुवा हुने योग्यता आर्जन गरिसकेका छन्। तर निगमले अहिलेसम्म पाइलट बनाएको छैन।
निगमले ट्वीनअट्टरमार्पmत दैनिक ५ घण्टा २५ मिनेट, साताको ३७ घण्टा ४० मिनेट र मासिक एक सय ६१ घण्टा १० मिनेट उडान भर्ने तालिका लागू गरेको छ। यसअन्तर्गत रुकुम, ताल्चा (मुगु), जुम्ला, फाप्लु, भोजपुर, बाग्लुङ, खानीडाँडा, सिमकोट, डोल्पा, बाजुरा उडाउने सूची राखेको छ।
‘यो सूची मन्त्री र सचिवहरूलाई देखाई निगमले आन्तरिकतर्पm सेवा पु¥याइरहेको देखाउन मात्र हो,’ निगमका एक पाइलटले अन्नपूर्णसित भने, ‘मुस्किलले कहिलेकाहीं एउटा उड्छ, त्यो जहाजले यो सूचीअनुसार उडान भर्न कहिले पनि सक्दैन।’
निगम स्रोतका अनुसार बिग्रेर थन्केका तीनवटै ट्वीनअट्टरलाई यहाँका इन्जिनियरहरूले मर्मत त गरे तर जहाज निर्माता कम्पनी भाइकिङबाट विशेषज्ञ झिकाएर नजँचाएसम्म उड्ने छैनन्। निगमले भाइकिङका प्राविधिक झिकाएको छ।
एमए ६०
अत्यधिक महँगोमा भिœयाइएका चिनियाँ जहाज एमए ६० का लागि निगमले आठजना पाइलट व्यवस्था गरेको थियो। आठ जनामध्ये दुई पाइलट अनुप मानन्धर र ग्रिष्म श्रेष्ठलाई ६ महिनाअघि एयरबसमा सरुवा गरेपछि रिक्त भएको ठाउँमा व्यवस्था गरेन। एउटाको पूर्जा झिकेर अर्काेमा चलाउनुपर्ने बाध्यता भएकाले एउटा जहाज स्थायी रुपमा ग्राउण्डेड गरिएको निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले बताए।
हाल चार क्याप्टेन र दुई फ्रन्ट अफिसर (को पाइलट) छन्। ६ जना पाइलटले दुईवटा जहाज सहज उडाउन सक्ने निगम स्रोतले बतायो। एमए ६० चलाउने को-पाइलट सुनील श्रेष्ठ र जीवेश लामाको पनि पाइलट हुने योग्यता (१५ सय घण्टा उडान र दुई वर्ष काम गरेको) पुगे पनि निगमले उनीहरूलाई पाइलट बनाएको छैन।
यो वर्गको जहाज विराटनगर, धनगढी, नेपालगञ्ज र भद्रपुर उडाउने प्राधिकरणको सूची छ। निगमले प्रतिवेदन बनाउँदा यी दुई जहाज जनकपुर, सिमरा, भरतपुर, पोखरा, सुर्खेत गएको देखाएको छ, तर यथार्थमा गएको छैन। यी ठूला जहाजले दिनमा चार घण्टा ४२ मिनेट, सातामा ४० घण्टा र मासिक एक सय ७१ घण्टा उड्ने भनेको छ। तर ती सबै कागजमा सीमित रहेको निगम स्रोत बताउँछ।
निजी क्षेत्रको एउटा जहाजले पाँचदेखि ६ सेक्टरसम्म उडान भर्छ र औसत दैनिक आठदेखि बाह्र घण्टासम्म उडाउँछ, पाइलट फेरेर। ‘निजी क्षेत्रले उडाएको आधा पनि छैन निगमको’, स्रोतले भन्यो, ‘पाइलट छैन भन्ने बहाना मात्रै देखाउँछ।’
वाई १२
चिनियाँ जहाज वाई १२ उडाउन निगमले पाइलट र को-पाइलट गरी १२ जनाको बन्दोबस्त गरेको थियो। यसमा पाँच पाइलट र बाँकी को-पाइलट छन्। क्याप्टेन अनिशमान शाक्यले राजीनामा दिए पनि स्वीकृत भएको छैन। एउटा जहाज उडाउन २.५ जना पाइलटका हिसाबले चारवटा जहाजका लागि विद्यमान जनशक्ति पर्याप्त देखिन्छ।
निगमले चारवटा साना चिनियाँ जहाज साताभरि नै उडाउने सूची तय गरेको छ। तर सूचीअनुसार जहाज कहिले पनि उडेन। दैनिक औसत चार घण्टाभन्दा बढी यी जहाज उडाउने उसको सूची छ। वाई १२ जहाजका लागि सिमरा, भैरहवा, सुर्खेत, पोखरा सेक्टर तय गरिएको छ। चारवटा मध्ये तीनवटा ग्राउन्डेड छ। यसमा पाइलट अभाव रहेको प्रवक्ता श्रेष्ठको दावी थियो।
के भन्छ निगम ?
निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले चिनियाँ जहाज उडाउनुभन्दा थन्काउनुमा निगमलाई फाइदा भएको बताए। उनका अनुसार वाई १२ ले १२ जनाभन्दा बढी यात्रु चढाउन सक्दैन, जबकी यसको क्षमता १८ जना भनेर ल्याइएको थियो। ‘चाइनीज जहाज दुर्गममा उड्नै सक्दैन,’ उनले अन्नपूर्णसित भने, ‘उडाउनुभन्दा थन्काउनु जाति।’
चिनियाँ जहाजकै कारण निगमको आन्तरिक उडान घाटा वार्षिक रूपमा बढिरहेको छ। यस्तो घाटा वार्षिक ३५ करोडभन्दा माथि रहेको वायुसेवा निगमले जानकारी दिएको छ।
अघिल्लो वर्ष ३३ करोड घाटामा गएको निगमको आन्तरिक उडान यो वर्ष अझै बढेको निगमकै अनुमान छ। आन्तरिक उडानमा अन्तर्राष्ट्रियको जस्तो छुट्टाछुट्टै तथ्यांक नभएकाले चिनियाँ र अन्य जहाजको नाफाघाटा नछुट्टाएको निगमको भनाइ छ।
निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठका अनुसार क्षमताभन्दा कम यात्रु बोक्नुपर्ने, पर्यटकीय गन्तव्यमा उडान नहुने, सरकारले तोकिदिएको भाडादरमा उडान गर्नुपर्ने, बिमा शुल्क अन्य जहाजको तुलनामा अधिक भएको, पाइलट समस्यासहितको कारणले चिनियाँ जहाजलाई नाफामा उडाउन सकिएको छैन।
चिनियाँ जहाजमा पाइलटको समस्याले भनेकै समयमा नउड्ने र सबै जहाज उड्न नसकेकै कारण निगमले यो जहाजबाट नाफा कमाउन नसकेको भनाइ श्रेष्ठको छ।