झिनो बन्दै नेपालको पदक सम्भावना

झिनो बन्दै नेपालको पदक सम्भावना

जकार्ता (इन्डोनेसिया)  : एसियाली खेलकुद प्रतियोगिताको १८औं संस्करणमा नेपालले पदक जित्ने सम्भावना झिनो बन्दै गएको छ । पदकको आशा गरिएका खेलहरूले एकपछि अर्को निराशाजनक प्रदर्शन गरेपछि जारी एसियाडबाट नेपाली टोली रित्तो हात घर फर्कने सम्भावना बढेको हो ।

इन्डोनेसियाबाट रित्तो हात घर फर्किए नेपाली टोली एसियाली खेलकुदको इतिहासमा ३२ वर्षपछि पहिलो पटक पदकविहीन हुनेछ । सन् १९८६ मा दक्षिण कोरियाको सोलमा आयोजना भएको १०औं संस्करणपछि नेपालले एसियाली खेलकुदमा नियमित रूपमा पदक जित्दै आएको छ ।

दसौं संस्करणयता एसियाली खेलकुदमा नेपालले हालसम्म एक रजत र २२ कांस्य गरी कुल २३ वटा पदक जितेको छ । नेपाललाई तेक्वान्दोले एक ऐतिहासिक रजतसहित १४, बक्सिङले ६ र कराँतेले तीनवटा पदक चुमाएका छन् ।

अहिले पनि यिनै तीन खेलमा बढी भर पर्दै एसियाड यात्रामा होमिएको नेपालले नवौं दिनको खेल सकिँदासम्म पनि पदक तालिकामा आफ्नो उपस्थिति दर्ता गराउन सकेको छैन । नेपाललाई एउटा पनि पदक नदिलाई तेक्वान्दोका १३ वटै स्पर्धा सकिएका छन् भने कराँते र बक्सिङमा पनि नेपाली खेलाडीको प्रदर्शन अत्यन्तै निराशाजनक देखिएको छ ।

कराँतेले सहभागिता जनाएको आठमध्ये ६ वटा स्पर्धा सकिएका छन् भने बाँकी दुई स्पर्धा सोमबार खेलाइनेछ । ती दुई स्पर्धामा पनि पदक जित्न नसके जारी एसियाडमा कराँतेबाट पनि नेपाललाई निराशामात्र हात लाग्नेछ ।

कराँतेको पहिलो दिन शनिबार तीनवटा स्पर्धामा पराजित भएको नेपालले आइतबार थप तीनवटा स्पर्धामा पराजय बेहो¥यो । कुमुतेअन्तर्गत पुरुषतर्फको ६० केजीभन्दा मुनिको तौलसमूहमा नेपाली खेलाडी सोनम लामा आफ्नो पहिलो खेलमै पराजित भए । सोनमलाई भियतनामका खेलाडी नाग्युन भान हाईले ०-३ अंकले पाखा लगाए । उनी पहिलो चरणमा बाई पाएर सोझै दोस्रो चरणमा पुगेका थिए ।

बक्सिङको पुरुष ६९ केजी तौलसमूहमा कतारका खेलाडीविरुद्ध प्रतिस्पर्धा गर्दै नेपालका विष्णुप्रसाद घले गुरुङ (रातो) । तस्बिर सौजन्यः लोकेन्द्रकुमार बस्नेत

यसैगरी पुरुषतर्फकै ६७ केजीभन्दा मुनिको तौलसमूहमा पनि नेपालको नतिजा सन्तोषजनक रहेन । उक्त स्पर्धामा नेपालका विजय लामा तुलनात्मक रूपमा बलियो जापानी प्रतिद्वन्द्वी सिमोहारा हिरोतोसँग पराजित भए । खेलको प्रारम्भदेखि नै नेपाली खेलाडीको गतिलो चुनौतीको सामना गरेका जापानी खेलाडी अन्ततः १-० अंकले विजयी भए ।

आइतबार नै भएको महिलातर्फको ६१ केजीभन्दा मुनिको तौलसमूहमा पनि नेपाली खेलाडी सुनिता महर्जन पराजय व्यहोर्न बाध्य भइन् । सुनितालाई थाइल्यान्डकी खेलाडी सुकिब आरमले १-४ अंकले पराजित गरेकी थिइन् ।

यसैगरी बक्सिङमा पनि नेपाली खेलाडीको प्रदर्शन आशालाग्दो भएन । पुरुष फ्लाइवेट ५२ केजी तौलसमूहको प्रिक्वार्टरफाइनलमा नेपालका प्रेम चौधरीलाई फिलिपिनो मुक्केबाज रोगेन ल्याडनले ०-५ अंकले पराजित गरे ।

पुरुषतर्फकै वेल्टरवेट ६९ केजी तौलसमूहमा पनि नेपाली मुक्केबाज विष्णुप्रसाद गुरुङ आफ्नो प्रतिद्वन्द्वीसामु निरीह देखिए । उक्त भिडन्तमा कतारका बक्सर थारुमालिङ्गम थुलासिमारनले विष्णुलाई ५-० अंकले पराजित गरे । महिलातर्फको फ्लाइवेट ५१ केजी तौलसमूहमा नेपालकी विमला श्रेष्ठ मंगोलियाकी जार्गलान अर्चिबतसँग ४-१ अंकले पराजित भइन् ।

यसैगरी आइतबारदेखि नै सुरु भएको टेबुलटेनिसमा पनि नेपाली खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् । महिला टिम स्पर्धामा समूह ‘डी’ बाट प्रतिस्पर्धा गरेको नेपाल आफ्नो दुवै खेलमा पराजित भयो । नेपाली महिला टोलीलाई मलेसियाले ३-० र सिंगापुरले पनि ३-० ले नै पराजित गरे ।

टेबुलटेनिसको पुरुष टिम स्पर्धामा पनि नेपालले आइतबार आफ्नो दुवै खेलमा पराजय भोग्यो । नेपाली टोली आफ्नो पहिलो खेलमा बलियो प्रतिद्वन्द्वी चीनसँग ३-० को सोझो सेटमा पराजित भयो । दोस्रो खेलमा भने नेपाली टोलीलाई मलेसियाले ३-० ले पराजित ग¥यो ।

प्याराग्लाइडिङमा भने नेपालले पदक जित्ने सम्भावना कायमै राखेको छ । प्याराग्लाइडिङको पुरुष टिम क्रसकन्ट्री स्पर्धाको दोस्रो चरणको खेल सकिँदासम्म नेपाल तेस्रो स्थानमा आसीन छ । उक्त स्पर्धामा १० टोली सहभागी छन् । नेपाली टोलीमा विमल अधिकारी, विजय गौतम, सुशील गुरुङ, युकेश गुरुङ र विशाल थापा सहभागी छन् । पुरुषतर्फ इन्डोनेसिया पहिलो र दक्षिण कोरिया दोस्रो स्थानमा छन् ।

सोही स्पर्धाको महिलातर्फ भने दोस्रो चरणको खेल सकिँदासम्म नेपाल पाँचौं स्थानमा छ । महिलातर्फ पनि १० टोली सहभागी छन् । नेपाली महिला टोलीमा प्रतिभा भुजेल, तृषा तामाङ र सविता तामाङ सहभागी छन् । महिलातर्फ दक्षिण कोरिया पहिलो, जापान दोस्रो, इन्डोनेसिया तेस्रो र थाइल्यान्ड चौथो स्थानमा छन् ।

यसैगरी आइतबार भएको भारोत्तोलनमा नेपाली खेलाडी तारादेवी पुन उपाधि होडबाट बाहिरिए पनि पाँचवटा नयाँ राष्ट्रिय कीर्तिमान बनाउन सफल भएकी छन् । महिलातर्फको ७५ केजी तौलसमूहमा तारा सहभागी १० खेलाडीमध्ये आठौं स्थानमा रहिन् । उक्त स्पर्धामा उत्तर कोरियाकी रिङ जोम सिमले कुल दुई सय ६३ केजी तौल उचाल्दै स्वर्ण, उज्बेकिस्तानकी ओताकजियभा ओमाडोयले दुई सय ३७ केजी तौल उचाल्दै रजत र दक्षिण कोरियाकी मुन मिन्हीले दुई सय ३६ केजी भार उचाल्दै कांस्य पदक हात पारे ।

नेपालकी ३४ वर्षीया अनुभवी खेलाडी ताराले स्न्याचतर्फ ७४ र क्लिन एन्ड जर्कतर्फ एक सय एक गरी कुल एक सय ७५ केजी तौल उचालिन् । स्न्याचतर्फ पहिलो लिफ्टमा ७० केजी तौल उचालेकी तारा दोस्रो लिफ्टमा ७४ केजी भार उचाल्न असफल भएकी थिइन् । तर, उनले तेस्रो लिफ्टमा भने ७४ केजी तौल उचालिन् ।

यसैगरी क्लिन एन्ड जर्कतर्फ पहिलो लिफ्टमा ९३ केजी उचालेकी ताराले दोस्रो लिफ्टमा ९८ र तेस्रो लिफ्टमा एक सय एक केजी भार वहन गरेकी थिइन् । १२औं दक्षिण एसियाली खेलकुदकी कांस्य पदक विजेता ताराले आफ्नै नाममा रहेको कीर्तिमान तोडेकी हुन् ।

यसअघि स्न्याचमा तारको नाममा ७३ केजीको कीर्तिमान थियो । ताराले स्न्याचको तेस्रो लिफ्टमा कीर्तिमान बनाएकी हुन् । उनले नेपालगन्जमा गत जेठमा सम्पन्न एसियाली खेलकुदको छनोटमा उक्त कीर्तिमान बनाएकी थिइन् । क्लिन एन्ड जर्कमा यसअघि ताराको नाममा ९७ केजीको कीर्तिमान थियो ।

एसियाडमा भारोत्तोलनतर्फ नेपालको प्रतिस्पर्धा पनि सकिएको थियो । प्रतियोगितामा तारासहित चारजना भारोत्तोलन खेलाडीले सहभागिता जनाएका थिए । तारासँगै कमलबहादुर अधिकारी र सञ्जु चौधरीले पनि कीर्तिमान बनाएका थिए ।

यसैगरी एसियाली खेलकुदमा पहिलो पटक सहभागिता जनाएको सेपाकताक्रोको पुरुष रेगु स्पर्धामा नेपाललाई चीनले २१-४, २१-९ ले हरायो । यसअघि मलेसिया र दक्षिण कोरियाले पनि नेपालाई हराएका थिए । नेपालले सोमबार भारतसँग खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.