डुंगा दुर्घटना : पुल नबनाउने ठेकेदारप्रति आक्रोश

डुंगा दुर्घटना : पुल नबनाउने ठेकेदारप्रति आक्रोश

गौर : डुंगा दुर्घटना भएपछि रौतहटवासी लालबकैया नदीमा पुल अलपत्र पार्ने ठेकेदारविरुद्ध आक्रोशित भएका छन्। ठेकेदार पप्पु कन्स्ट्रक्सनले समयमा पुल नबनाउँदा गौर नगरपालिकाको टिकुलिया घाटस्थित नदीमा डुंगा दुर्घटना भई ज्यानसमेत गएको स्थानीयको भनाइ छ। घटनापछि राहत र क्षतिपूर्तिको कुरा गर्नुभन्दा पनि घटना नै हुन नदिनेतर्फ ध्यान दिनुपर्ने माग उनीहरूले गरे।

ठेकेदार पप्पु कन्स्ट्रक्सनको विरोध गर्दै सोमबार गौरमा नेकपाको अगुवाइमा प्रदर्शन भएको छ। पीडित परिवारलाई नेपाल सरकारबाट उचित राहत र ठेकेदारलाई हदैसम्मको कारबाही माग गर्दै नेकपाले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ।

बागमती र लालबकैया नदीमा जीर्ण डुंगा प्रयोग हुँदै आएको, तालिम नलिएका चालकले डुंगा चलाएको, डुंगा सञ्चालन गर्दा आउन सक्ने जोखिमका लागि सुरक्षा व्यवस्था नगरेको, डुंगाको अवस्थाबारे स्थानीय तह र स्थानीय प्रशासनले अनुगमन नगरेकाले गम्भीर बन्न आग्रह गर्दै ज्ञापनपत्र बुझाइएको नेकपाका नेता शम्भु साहले सुनाए।

रौतहटका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जिल्लामा सञ्चालित डुंगाको अनुगमन गर्ने र पुल बनाउँदै गरेको ठेकेदार कम्पनीका विषयमा बुझ्ने जवाफ दिए। पप्पु कन्स्ट्रक्सनले २०७४ साल असार २५ गतेभित्र पुल निर्माण गर्ने सम्झौता गरेको भए पनि अहिलेसम्म पिलर मात्र बनाइएको छ। पुल निर्माणका लागि २०७१ साल असार २६ गते सम्झौता भएको थियो। निर्माणाधीन पुलको पिलरमा शनिबार साँझ डुंगा ठोक्किँदा १० जनाभन्दा बढी घाइते तथा केहीको ज्यानसमेत गएपछि ठेकेदारको विरोध भएको हो।

मुख्यमन्त्रीले गरे निरीक्षण

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले सोमबार डुंगा दुर्घटना भएको स्थल तथा अलपत्र पुलको निरीक्षण गरेका छन्। मुख्यमन्त्री राउतले डुंगा दुर्घटनामा ज्यान गुमाएकाका आफन्तसँग भेटसमेत गरे। पीडित परिवारसँग उनले पुल निर्माणमा ढिलाइसुस्तीबारे प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाए। प्रदेश सरकारसँग कुनै अधिकार नभएकाले केन्द्र सरकारलाई यसबारे जानकारी गराउने उनले सुनाए।

उनले दुर्घटनामा ज्यान गुमाएकाका पीडित परिवारलाई जनही २ लाखका दरले राहत तथा २५ हजार किरिया खर्च उपलब्ध गराउने प्रतिबद्धतासमेत व्यक्त गरे। उनले घाइतेको उपचार निःशुल्क गराउन स्थानीय प्रशासनलाई निर्देशन दिए। जिल्ला प्रशासन कार्यालयले मृतकका प्रतिपरिवारलाई १ लाखका दरले रकम उपलब्ध गराएको सीडीओ रिजालले बताए। गौर नगरपालिकाले १ लाख १५ हजार रुपैयाँका दरले पीडित परिवारलाई सहयोग गर्ने निर्णय गरेको मेयर अजय गुप्ताले बताए।

थप एकको शव फेला

गौर नगरपालिका–४ टिकुलिया घाटस्थित लालबकैया नदीमा शनिबार डुंगा पल्टिएर हराएकामध्ये थप एक जनाको शव फेला परेको छ। यसअघि तीन जनाको शव भेटिएको थियो। दुर्घटना भएको राति २४ जना सम्पर्कमा आए पनि पाँच जना बेपत्ता थिए। चार जनाको शव भारतीय भूमिमा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

सोमबार बिहान गौर–४ का १९ वर्षीय ओमप्रकाश चन्द्रवंशीको शव भेटिएको हो। गौर–४ की ४५ वर्षीया इन्दुदेवी पटेल बेपत्ता रहेकाले नेपाल र भारत दुवैतर्फ खोजी भइरहेको सीडीओ रिजालले बताए। शनिबार साँझ इशनाथ नगरपालिकाको बन्जाराहाबाट गौरस्थित टिकुलिया आउँदै गरेको डुंगा दुर्घटना भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.