कम्प्युटर मर्मतमा कालिगढको खाँचो
सुनसरीका रञ्जित पोदार २२ वर्षअघि कुरियर कम्पनी चलाउँथे। बीबीएस गरेर उक्त व्यवसायमा हात हालेका पोदार आम्दानी राम्रो नभएपछि आफ्नो कामप्रति सन्तुष्ट थिएनन्। त्यसपछि एकाएक उनलाई आईटी क्षेत्रमा रुचि बढेर गयो। त्यस विषयमा दुई वर्षको कोर्स पनि गरे। आफूले पढेको कलेज नै बन्द भएपछि पढाइलाई निरन्तरता दिन भने पाएनन्।
उनले कम्प्युटर मर्मतको काम थाले। काममा निपुर्ण भएपछि राजधानीको न्युरोडमा ‘साथी कम्प्युटर’को सोरुम खोले, जहाँ कम्प्युटर बिक्रीका साथै मर्मत सेवा पनि उपलब्ध थियो। विस्तारै ल्यापटपको जमाना आयो, उनले त्यसमा पनि आफूलाई अपडेट गरे। हाल उनको पसलमा आठ जना कामदार कार्यरत छन्। उनीहरू १५ देखि २५ हजारसम्म तलब खान्छन्। ‘रुचि भएपछि काम सिक्न गाह्रो हुँदो रहेनछ। हिजोआज इन्टरनेटबाटै काम सिक्न सकिन्छ। हाम्रो पालामा इन्टरनेट पनि थिएन,’ पोदारले भने, ‘करिब ६ महिना मेहनतसाथ कम्प्युटर हार्डवेयरको काम सिक्ने हो भने एसेम्बल गर्न जान्ने भइन्छ। सीपीयू, र्याम, मदरबोर्ड आदि जोड्न सकिन्छ।’ प्राविधिक काममा मान्छे अनुभवले समेत खारिँदै जाने उनको भनाइ छ।
हार्डवेयरको काम सिकेपछि खाली बस्नु नपर्ने उनको अनुभव छ। ‘१८ देखि २० हजारको काम पाउन कुनै गाह्रो हुँदैन। त्यसका अतिरिक्त आफ्नै काम गर्न सकिन्छ। सामान्यतः एउटा कम्प्युटर सर्भिसिङ गरेको पाँच सय चार्ज लाग्छ। उनको अनुभवमा नेपालमा प्रविधिले धेरै फड्को मारेको छ। कम्प्युटर मर्मतको क्षेत्रमा कामको खाँचो छैन। त्यसकारण पनि उनी आईटीको क्षेत्रमा त्यसमा पनि कम्प्युटर र ल्यापटप मर्मतमा सम्भावना बढी भएको बताउँछन्।
पुतलीसडकस्थित कम्प्युटर ग्यालरीका केशव भट्टराईले कम्प्युटर मर्मतको क्षेत्रमा काम गरेको दुई दशकभन्दा बढी भयो। उनले लामो कोर्स लिएर कतै काम सिकेका होइनन्। उनी लगाव र अनुभवले खारिँदै गए। उनको अनुभवमा यो क्षेत्रमा लाग्न चाहनेलाई इलेक्ट्रोनिक्सको न्यूनतम ज्ञान भए सजिलो हुन्छ।
‘बजारमा कम्प्युटर मर्मतको काम सिकाउने तालिम केन्द्र प्रशस्त छन्। कोर्स र लागत शुल्क पनि आआफ्नै छन्। इमानले काम सिकाउँछ,’ भट्टराई भन्छन्, ‘अनुभवी मान्छेको बजारमा सधैं खाँचो छ। २० देखि ३० हजार मासिक कमाउन कुनै गाह्रो छैन। होम सर्भिसको काम पनि उत्तिकै आउँछन्। तालिमका पछि लाग्नुभन्दा पनि बढीभन्दा बढी काम सिक्न खोज्नुपर्छ।’ प्राविधिक काममा सीपको महत्व हुने भए पनि प्रमाणपत्रको आवश्यकता बढ्दै गएको उनको बुझाइ छ। त्यसका लागि सीटीईभीटीको कोर्स उपयुक्त हुने उनको बुझाइ छ।
राम्रो काम जानेको व्यक्तिले कम्प्युटर मर्मत केन्द्रमा काम पाउँछ। त्यस्तै बैंक, कर्पोरेट हाउस, सञ्चार गृह, निजी कार्यालय आदिमा कामको सम्भावना छ।
कुपण्डोलस्थित ‘माइक्रोल्यान्ड कम्प्युटर हार्डवेयर एजुकेसन प्रालि’ का सन्तलाल श्रेष्ठ अंग्रेजी भाषा सामान्य जानेकोे र इन्टरनेट चलाउन जानेको व्यक्तिलाई कम्प्युटर, ल्यापटप मर्मतको काम सिक्न अझ सजिलो हुने बताउँछन्। आफ्नो संस्थामार्फत तालिम पनि दिने गरेका उनले १५ हजार रुपियाँमा दुईमहिने कोर्स गर्न सक्ने बताए। त्यसपछि प्रशिक्षार्थीलाई ल्याबमै राखेर काम सिकाइने उनको भनाइ छ।
‘कम्प्युटर, ल्यापटप मर्मतको सामान्य काम सिकेको व्यक्तिले नेटवर्किङको काम, सामान रिप्लेसिङ, आदि काम जान्दछ’ श्रेष्ठले भने, ‘यो काम सिक्ने र काम गर्ने व्यक्तिलाई धेरै मर्मत सामग्री आवश्यक छैन। १० हजारमा सबै सामग्री पाइन्छ।’ पहिलेपहिले हार्डवेयरको काम भनेपछि हाउगुजी जस्तो लागे पनि हाल इन्टरनेटको सुविधाले सहज बन्दै गएको उनको अनुभव छ।
श्रेष्ठका अनुसार बजारमा राम्रो काम गर्ने मान्छेको अभाव छ। काम सिकेको मान्छे स्वावलम्बी बन्छ। त्यसका अतिरिक्त राम्रो काम जानेको व्यक्तिले कम्प्युटर मर्मत केन्द्रमा काम पाउँछ। त्यस्तै बैंक, कर्पोरेट हाउस, सञ्चार गृह, निजी कार्यालय आदिमा कामको सम्भावना छ। जागिरका अतिरिक्त सर्भिसिङको काम घरमै आउँछ। कामको चाप बढी नै हुन्छ।
झापाका काजीमान बस्नेत श्रीमती सुत्केरी हुँदाको ऋण तिर्न नसकेर वैदेशिक रोजगारीको सिलसिलामा मलेसियातिर लागे। तीन वर्ष वस्दा पनि आफू जाँदाको ऋण तिर्नेभन्दा बढ्ता उपलब्धि गर्न सकेनन्। घर फर्केर छटपटाइरहेका बेला उनका एक साथीले काठमाडौंबाट फोन गरेर कम्प्युटर, ल्यापटपको मर्मतको काम सिक्न सुझाए।
बस्नेतलाई साथीको कुरा चित्त बुझ्यो। काठमाडौं आएर साथीकै कोठामा बसेर १० हजार रुपैयाँमा ल्यापटप र कम्प्युटरको काम तीन महिनामै सिके। चौथो महिनादेखि तलब पाउन थाले। काम सिक्दा उनलाई विगतमा गरेको रेडियो मर्मतको कामले सघायो। हाल उनी एक कम्प्युटर मर्मत तथा बिक्री केन्द्रमा कार्यरत छन्।
‘इलेक्ट्रोनिक्स मालसामानको बनोटसम्बन्धी कुरा बुझेको मान्छेलाई केही हदसम्म सहज हुनेरहेछ। अहिले मासिक २५ हजार तलब खान्छु। बाहिरको काम पनि आउँछ।’ उनी एकछिन खाली बस्न भ्याउँदैनन्। वैदेशिक रोजगारीमा गएर समय बबाद गर्नुभन्दा छोटो समयमा कम्प्युटर मर्मतको काम सिकेर रोजगार बन्न उनको सुझाव छ।