गोकुलेश्वरमा गाईभैंसीको कृत्रिम गर्भाधान
बैतडी : बैतडीको गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजमा पहिलो पटक कृत्रिम गर्भाधान प्रयोगशाला सञ्चालनमा आएको छ। व्यावसायिक पशुपालनमा लागेका किसानलाई उन्नत जातका गाईभैंसी उत्पादनमा सहयोग पुर्याउने उद्देश्यसहित प्रयोगशाला सञ्चालनमा ल्याइएको हो। प्रयोगशालाबाट गाईभैंसीमा कृत्रिम गर्भाधान गराइनेछ।
डिलाशैनी गाउँपालिका, गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेज र सामाजिक चेतना तथा विकास संघ साडाले सञ्चालन गरेको आर्थिक विकासमार्फत विपद् जोखिम न्यूनीकरण परियोजनाको सहयोगमा प्रयोगशाला स्थापना भएको हो।
११ लाख बढीको लागतमा प्रयोगशाला सञ्चालनमा ल्याइएको हो।जिल्लामा पहिलो पटक गाईभैसीमा कृत्रिम गर्भाधान गराउने उद्देश्यसहित प्रयोगशाला स्थापना भएको हो।
प्रयोगशालामा नाइट्रोजन,उन्नत जातको सिमेन राखिएको सामाजिक चेतना तथा विकास संघ साडाका कार्यक्रम संयोजक नागेन्द्र भट्टले जानकारी दिए। उनले भने, 'किसानलाई फाइदा होस् भन्ने उद्देश्यका साथ प्रयोशाला सञ्चालनमा ल्याइएको हो। यसले स्थानीय किसानलाई उन्नत जातका बाच्छाबाच्छी र पाडापाडी उत्पादनमा सहयोग पुग्नेछ।'
प्रयोगशालाबाट स्थानीय किसानका गाईभैंसीमा कृत्रिम गर्भाधान गराइनेछ। यसले किसानलाई सजिलो हुने किसान बलबहादुर साउँदले बताए। उनले भने, 'आफ्नो गाउँ नजिकैको कलेजमा प्रयोगशाला स्थापना भएको छ। यसले हामी किसानलाई फाइदा हुन्छ।'
गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजमा स्थापना भएको प्रयोगशालामा एकजना प्राविधिकको व्यवस्था गरिएको छ भने एकजनालाई घुम्ती सेवाका लागि राखिएको छ। तत्कालका लागि डिलाशैनी गाउँपालिका र दोगडाकेदार गाउँपालिकाका किसानलाई प्रयोगशालामार्फत सेवा प्रदान गरिने डिलाशैनी गाउँपालिकाका अध्यक्ष उकेन्द्र बोहराले बताए। उनले भने, 'गाउँपालिकाभरीका किसानलाई उन्नत जातका पशुपालनमा सहयोग पुगोस भन्ने हाम्रो उद्देश्य छ। यसका लागि कृत्रिम गर्भाधान प्रयोगशाला सञ्चालनमा ल्याएका छौं।'
कृत्रिम गर्भाधान प्रयोगशाला सञ्चालनमा आएपछि कृषि तथा पशुविज्ञान कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई पनि सजिलो हुने भएको छ। विद्यार्थीलाई प्रयोगात्मक काम गर्नका लागि प्रयोगशालाले सहयोग पुग्ने कलेज प्रमुख परमानन्द जोशीले बताए। उनले भने, 'प्रयोगशाला स्थापनाले किसानलाई मात्रै होइन, किसानका विषय पढ्ने विद्यार्थीलाई पनि सजिलो हुन्छ।'
गाईभैंसीका लागि कृत्रिम गर्भाधान प्रयोगशाला स्थापना भएपछि किसानलाई रांगा तथा साँढे पाल्ने झण्झट पनि अन्त्य हुने भएको छ। गाईभैंसीमा कृत्रिम गर्भाधानका लागि प्रयोगशाला सञ्चालनमा आएपछि किसानलाई सजिलो हुने किसान अमर साउँदले बताए।
कृत्रिम गर्भाधान प्रयोगशाला सञ्चालनमा आएपछि डिलाशैनी र दोगडाकेदार गाउँपालिकामा घरदैलो सेवा सञ्चालन गरिने जनाइएको छ।'किसानको माग अनुसार गाईभैंसीमा सिमेन राख्नका लागि घरदैलोमा गएर सेवा दिने व्यवस्था पनि मिलाइएको छ।'
साडाका कार्यक्रम संयोजक नागेन्द्र भट्टले भने, 'यसमा हामीले पनि परियोजनामार्फत सहयोग गर्नेछौं। अन्य स्थानीय तहले समन्वय गरेमा अन्य ठाउँमा समेत सेवा विस्तार गरिनेछ।'
प्रतिक्रिया दिनुहोस !