'जनप्रतिनिधि अण्डामा कर लागाउन कुखुराको खोरमा पुगेका छैनन्'
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले करको आलोचना भएकोप्रति चर्को आपत्ति जनाएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै कर आतंक मच्चाइएको भन्दै आपत्ति जनाएका हुन्।
‘कर आतंक मच्चाइयो, केपी ओली होइन करप्रसाद ओली भनियो, कुनै कुरामा वर्तमान सरकारलाई छलछाम गर्नु छैन’, प्रधानमन्त्री ओलीले भने, ‘नगरपालिकाका प्रमुख उपप्रमुख अण्डामा कर लाउन खोरमा पुगेका छैनन्, कर तिर्ने अभ्यास पनि गर्नुपर्छ, बिक्री गर्दा कर लाग्नु स्वभाविक हो।’
प्रधानमन्त्री ओलीले सरकारले करको नयाँ दायरा मात्र खोजेको प्रष्ट पारे। ‘करको दायरा र नयाँ क्षेत्रको खोजी भएको छ तर आलोचनाका नाममा यो विषयलाई जस्तो संवेदनशील बनाइएको छ , त्यस्तो होइन’, ओलीले भने, ‘भैँसी र कुखुरा पाल्दा कर लाग्दैन, बेच्दा लाग्छ।’
ओलीले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाबीचको नियन्त्रण र सन्तुलनबारे व्यख्या गर्नु आवश्यक नहुने बताए। प्रधानमन्त्रीले संसदीय सुनुवाइ समितिका निर्णयको आलोचना भएकोप्रति भने चर्को आक्रोश व्यक्त गरे।
‘सुनुवाइ समिति रबर स्टाम्प होइन, गरिमामय संसद रबर स्टाम्प होइन’, ओलीले भने, ‘हामीलाई लागेको उपयुक्त सिफारिस गरेका हौँ।’