‘श्रमिक बोक्ने’ विमान

‘श्रमिक बोक्ने’ विमान

दर्जनौं अन्तर्राष्ट्रिय विमान चढें, बिजनेस क्लासमा पनि निकैपल्ट तर हिमालय एयरलाइन्समा जस्तो निकृष्ट व्यवहार कहिल्यै देखिनँ


हिमालय एयरलाइन्स सञ्चालनमा आएदेखि चढ्न खुब रहर लागेको हो। नेपालको भएकाले। नेपालबाट विदेश जाने प्रायः एयरलाइन्समा उडेको छु। नेपाल एयरलाइन्समा त धेरैपल्ट। हिमालय कस्तो छ भन्ने खुल्दुली थियो। निजी भएकाले पक्कै व्यावसायिकतामा पोख्त होला भन्नेमा ढुक्क थिएँ। उड्ने मौका भने निकै समय जुरेन। गैरआवासीय नेपाली संघको मध्यपूर्व भेलामा सहभागी हुन अघिल्लो साता दुबई जानुपर्ने भयो। संयोगवश आयोजकले त्यही एयरलाइन्सको टिकट पठायो। म निकै ‘एक्साइटेड’ भएर विमानस्थल पुगें।

पत्रकारको सानो टोली थियो। साथमा आयोजकका केही निम्तालु। हाम्रो समूह त्रिभुवन विमानस्थलभित्र अध्यागमन क्षेत्र छिर्दै गर्दा एकजनाले अलि रूखो पाराले सोधे, ‘वैदेशिक रोजगारमा हो ? ’

‘होइन, घुम्न’, हामीले भन्यौं।

‘त्यसो भए यताको ट्राभल डेस्कतिर जानुहोस्’, उनको बोली अचानक नम्र भयो। वैदेशिक रोजगारमा जानेको अध्यागमन डेस्कमा सयभन्दा बढीको लाम थियो। जम्मा दुइटा काउन्टर खोलिएका थिए। कर्मचारी यात्रुलाई नानाभाँती सोधेर अल्मलाइरहेका थिए। एकजनाको काम सक्न निकै समय लगाइरहेका थिए।

अन्य प्रयोजनमा जानेका हकमा काउन्टर रित्तै थियो। व्यवहार फरक थियो। हामीले चर्चा गर्यौं , ‘वैदेशिक रोजगारमा जानेलाई किन विमानस्थलबाटै तुच्छ व्यवहार गरिन्छ ? रोजगारको खोजीमा विदेश जानु के अपराध हो ? कि कुनै पापमोचन ? ’

बरु वैदेशिक रोजगारमा जाने अधिकांश सर्वसाधारण यात्राबारे अनभिज्ञ हुन्छन्। गाउँबाट आएर पहिलोपटक विदेश उड्न लागेकालाई धेरै कुरा थाहा हुँदैन। तिनलाई उल्टै सहयोग गर्नुपर्ने होइन ? टर्रो भाषामा अनेक सोधेर उल्टै मानसिक यातना दिइन्छ। राम्रो व्यवहार गरिँदैन। सरकारी निकायदेखि जहाजसम्म त्यस्तै भोग्छन् तिनले। हामीले त्यही देख्यौं। केही हदसम्म भोग्यौं पनि।

०००

अगस्ट २१, मध्यराति। विमान यात्रुले भरियो। उड्ने तयारी भइरहेको थियो। महिला–पुरुष एयर होस्टेजहरू सिट–पेटी बाँधे /नबाँधेको जाँच्दै आए। नबाँध्नेलाई गाली गरे शैलीमा बाँध्न आदेश दिइरहेका (खासमा आग्रह गर्नुपर्ने हो) थिए। महिलाभन्दा पुरुषको बोली निकै खस्रो थियो।

हाम्रै समूहका केही व्यक्ति बिजनेस क्लासमा थिए। हामी त्यसको ठीक पछाडि। बिजनेस क्लासबाट एकजनाले उभिएर हामीतिर चियाए। सजिलो–अप्ठ्यारोबारे जिज्ञासा राख्न खोज्दै थिए। पुरुष एयरहोस्टेजले असभ्य पाराले उनलाई गाली गरे, ‘तपाईं खुरुक्क गएर आफ्नो सिटमा बस्नुहोस्।’ उनी ‘खुरुक्क’ गएनन्। अलमल परे। उनले फेरि झपारे, ‘मैले भनिदिएको छु है, तपाईं खुरुक्क जानुहोस्।’ उनले अप्ठ्यारो मान्दै ‘आदेश पालना’ गरे।

एयरलाइन्सको वेबसाइटमा बडो मज्जाले लेखिएको छ, ‘शाकाहारी वा मांसाहारी खानाको व्यवस्था छ।’ हेर्दै मिष्ठान्न परिकारको तस्बिर राखिएको छ। उडानको केही समयपछि दुई टुक्रा स्यान्डविच बाँडियो। गुणस्तरहीन प्लास्टिकले र्याअप गरिएको। साथमा सानो ग्लासको आधा रियल जुस। साढे चार घन्टाको यात्रामा यति कमसल खाना कुनै एयरलाइन्समा जुरेको थिएन। दालमोठ–च्युरा बोकेर हिँड्नुपर्ने हविगतमा पुर्या उने देखियो। बरु बजेट एयरलाइन्स भनेर घोषणै गरेको भए के हुन्थ्यो ? सक्नेले किनेर खान्थे। नसक्नेले घरैबाट लान्थे। ढुक्कै। वेबसाइटमा एउटा देखाएर अर्कै थोक खुवाउन मिल्छ ? यात्रुलाई ढाँटेर व्यापार गर्न सुहाउँछ ?

जहाजले एकैछिनमा पूरै उचाइ लियो। अनिदो रात गुज्रिँदो थियो। निद्राले गाँज्दै गइरहेको थियो। चिसो बढ्यो। हामीले महिला एयर होस्टेजलाई आग्रह गर्यौंन, ‘ब्लांकेट पाऊँ न।’

उनले भनिन्, ‘ब्लांकेट त लिमिटेड छ सर।’

‘त्यही लिमिटेड दिनुहोस् न’, मैले भनें।

‘त्यो त सकियो’, उनी भन्दै अर्कातिर लागिन्, ‘जाडो भयो भने बरु म एसी बन्द गर्न लगाइदिन्छु।’

एकैछिनमा विमानमा हपहपी गर्मी भयो। सुत्नेभन्दा पसिना पुछ्नुपर्ने अवस्था आयो। गुनासो गर्न छेउमा कोही आइदिएन।

०००

विमान दुबई नजिक पुग्दै थियो। इकोनोमी क्लासका पछिल्तिर भएका दुइटा शौचालयमा निकै परसम्म लाम थियो। ककपिटबाट घोषणा भयो, ‘हामी चाँडै दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड गर्दैछौं। कृपया, सबै आआफ्नो सिटमा फर्किनु होला।’

समस्या हिमालयको मात्र होइन। खाडी र मलेसिया रुटमा चल्ने अधिकांश एयरलाइन्समा नेपालीमाथि दोस्रो दर्जाको व्यवहार गरिन्छ। तिनले तिनका जहाजमा हरियो पासपोर्टधारी श्रमिक मात्र चढ्ने ठान्छन्। अनि श्रमिकलाई मान्छे नै गन्दैनन्। के श्रमिकको सम्मान गर्दा तिनको कद घट्छ ?

पिसाबले निकै च्यापेको थियो। मैले उपाय सोचें– बिजनेस क्लासअगाडिको शौचालय किन नजाने ? बिजनेस क्लासमा सबै निदाइरहेका थिए। शौचालय खाली थियो। नजिकै एक पुरुष एयर होस्टेज थिए। उनले मलाई रोक्दै भने, ‘पछाडि जानुहोस्, यसमा मिल्दैन।’

‘पछाडि खाली छैन। अब समय पनि छैन’, मैले भनें।

‘मिल्दैन भनेपछि मिल्दैन–मिल्दैन’, अति रूखो वचन बोल्दै उनी शौचालयको ढोकामा यसरी उभिए, मानौं त्यहाँ अब हात्ती आए पनि छिर्न सक्दैन। मैले जबर्जस्ती छिर्न खोजेकै थिएन। आपत्मा विकल्प रोजेको थिएँ। उनीजस्तो असभ्य हुन चाहिनँ। खुरुक्क पछिल्तिर गएर फेरि लाममा उभिएँ।

करिब १० मिनेटपछि शौचालयको ढोकानजिक पुगें। भित्र कोही थियो। महिला एयर होस्टेजले ढोका ढङढङ पारिन्। अर्को असभ्यता। विमानको शौचालयमा कोही पनि पक्कै फेसबुक चलाएर बसेको हुँदैन। भित्रका यात्रु आत्तिँदै निस्किए। हेर्दा उनी पहिलोपटक विदेश गएजस्ता देखिन्थे। निरीह बन्दै आफ्नो सिटतर्फ फर्किए। अनि, मैले मौका पाएँ। धन्न म भित्र हुँदाचाहिँ बाहिरबाट ढङढङ गरेन।

बिजनेस क्लास। विमानको थप कमाइ होस्, यात्रुले सुविधा पनि पाऊन् भनेर व्यवस्था गरिने हो। टिकट केही महँगो हुने भएकाले अतिरिक्त सुविधा पनि हुन्छ। तर त्यहाँका अधिकांश यात्रु ‘अपग्रेडेड’ थिए। इकोनोमीको टिकट काटेर पहुँचका भरमा बिजनेस पुगेका। ती सीमित यात्रुका लागि ओगटिएका शौचालय मिलाएर अरूले प्रयोग गर्दा के बिग्रिन्थ्यो ?

मैले दर्जनौं अन्तर्राष्ट्रिय विमान चढेको छु। बिजनेस क्लासमा पनि निकैपल्ट। कहिल्यै कुनै एयरलाइन्समा यस्तो निकृष्ट व्यवहार गरेको देखिनँ। त्यसैले जसले मलाई शौचालयमा पत्थर झैं उभिएर रोके, उनलाई जहाज ल्यान्ड गर्दै गर्दा सोधें, ‘तपाईंहरूसँग कम्प्लेन गर्ने कुनै फारम छ ? ’

‘छ’, उनले ल्याइदिए। मैले सुझावस्वरूप अन्त्यमा सुधार्ने तीन समस्या लेखें, व्यवहार, खाना र सुविधा। आलोचनाले भरिएको फाराम उनैलाई दिएँ। थाहा छैन, त्यो तिनै कर्मचारीले हेरेर डस्टबिनमा फाल्छन् वा व्यवस्थापनसम्म पुर्या उँछन् ? मैले दिने सुझाव दिएँ। आफ्नो कर्तव्य निर्वाह गरें।

०००

समस्या हिमालयको मात्र होइन। खाडी र मलेसिया रुटमा चल्ने अधिकांश एयरलाइन्समा नेपालीमाथि दोस्रो दर्जाको व्यवहार गरिन्छ। तिनले तिनका जहाजमा हरियो पासपोर्टधारी श्रमिक मात्र चढ्ने ठान्छन्। अनि श्रमिकलाई मान्छे नै गन्दैनन्। के श्रमिकको सम्मान गर्दा तिनको कद घट्छ ? नत्र अव्यावसायिक बसका कर्मचारीले यात्रुलाई गर्नेजस्तो नीच व्यवहार विमानमा कसरी हुन्छ ?

नेपाल एयरलाइन्सलाई भने यसमा दोष दिन मिल्दैन। व्यवहार राम्रै हुन्छ। खाना स्तरीय। सुविधा चित्तबुझ्दो।

हिमालय पनि त्यस्तै हुन किन नसक्ने ? यो केवल सुझाव हो। सच्चिन हो। जसले निर्मम सुझाव दिन्छ, ऊ सच्चा शुभचिन्तक हो। म नेपाली विमान कम्पनीको पक्षपोषक हुँ। यिनले फैलिनुपर्छ। नेपाली यात्रुलाई सकेसम्म आफ्नै देशका एयरलाइन्सले बोकेर भ्याउनुपर्छ। हाम्रा नागरिक बिदेसिँदाको खर्च हाम्रै देशमा ल्याउनुपर्छ। नेपाल एयरलाइन्स र अन्य कम्पनीले अझ जहाज थप्नुपर्छ। सेवा–सुविधा बढाउनुपर्छ। त्यसका लागि नेपाली विमानले नेपाली बोक्न जानून्। नेपालीलाई पनि आफ्ना ग्राहक ठानून्। र, सम्मान गरून्। मलाई चिन्ता लाग्छ– कुनै एयरलाइन्स फुर्किंदा–फुर्किंदै खेलाँचीमा नेकोन एयर नहुन्।

चाहिएको त्यति हो।

०००

हिमालयबाटै २७ तारिख बिहान फर्किंदा उसरी नै एक टुक्रो बर्गरले भोक मेटियो। ब्लांकेट ल्याइदिन्छु भनेर गएकी कर्मचारी उतै हराइन्।

तर खुसीका कुरा पनि छन्। जाँदा र आउँदा जहाज समयमा उड्यो। दुवैपटक यात्रा आरामदायी भयो। विमान हल्लिएकै खास थाहा भएन। अझ खुसी त त्यति बेला लाग्यो, जब काठमाडौं विमानस्थलमा अवतरण गर्दा चालक दलले विनम्रतापूर्वक भन्यो, ‘आइपुग्न २५ मिनेट ढिलाइ भएकामा क्षमाप्रार्थी छौं।’

यात्रुका अन्य पीडामा पनि यसरी नै क्षमा माग्दै जानुहोस्, अनि मात्र उचाइ लिइन्छ। शुभकामना !

[email protected]


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.