भत्कियो ‘मनको बाँध’

भत्कियो ‘मनको बाँध’

फगत एक नजरमा

कसैले लियो मन,

जति बिर्सूं भन्छु

उति सम्झिने झन् !

रेडियोमा गुन्जिरहने लोकप्रिय पुरानो गीत। जसका गायक थिए– हरिप्रसाद रिमाल। रेडियो नेपालका पहिलो गायक रिमाल ९३ वर्षको उमेरमा शुक्रबार दुनियाँको नजरबाट बिदा भएका छन्। मनका गायक अनि ‘मनको बाँध’ लगायत दर्जनौं चलचित्र र नाटकका लोकप्रिय कलाकार अब रहेनन्। उनका कर्णप्रिय स्वर एवं जीवन्त अभिनय भने वर्षौं वर्ष बाँचिरहने छन्।

नेपाली संगीत र रंगमञ्चको आधुनिककालमा रिमाल पहिलो पुस्ताका कलाकार हुन्। ‘मेरो मन टुक्रा भएर आँखाबाट बहनेछ’ बोलको गीत रेडियोे नेपालमा २००७ साल चैत २० मा रिमालले प्रत्यक्ष गाएका थिए। यो नै नेपालमा रेडियोबाट बजेको पहिलो गीत थियो।

आमा मोहनकुमारी र बुबा घनश्यामका ४ छोरा २ छोरीमध्ये रिमाल साइँला थिए। १९८२ साल असोज ५ गते काठमाडौंको लगनटोलमा जन्मिएका रिमालले गायिका किशोरीदेवीसँग पहिलो र कल्याणी पौडेलसँग दोस्रो बिहे गरेका थिए।

गीतकार तथा चलचित्र निर्देशक यादव खरेल नेपाली कला क्षेत्रमा श्रव्य र दृश्य दुवै विधामा रिमालले योगदान दिएको स्मरण गरे। ‘रेडियोको लोकप्रियता नाटककै आधारमा अत्यन्तै बढेको थियो’, खरेलले भने, ‘नाटकजस्तो दृश्य विधामा पनि उहाँले प्राण भर्नुभयो अनि रेडियोजस्तो श्रव्य विधा विकासमा त मुख्य योगदानै दिनुभयो।’

खरेलले रिमाललाई मिलनसार, विनम्र र रसिक व्यक्तिका रूपमा चित्रित गरे। ‘उहाँ सफल चरित्र अभिनेता पनि हुनुहुन्थ्यो’, उनले भने, ‘नेपाली कला र संगीत क्षेत्रमा रिमालको निधनले अपूरणीय क्षति भएको छ।’

नाटककार अशेष मल्लले रिमालको कलाप्रतिको समर्पणभाव सम्मानयोग्य भएको चर्चा गरे। ‘म रंगमञ्चकै आँगनमा जन्मिएँ, हुर्किएँ, नाटक गर्दागर्दै मर्न पाऊँ,’ रिमालले गरेको कुराकानी सम्झँदै मल्लले भने, ‘आफ्नो विधामा उहाँ सधैँ संकल्पबद्ध हुनुहुन्थ्यो। उहाँ नेपाली रंगमञ्चमा एक युगका हुनुहुन्थ्यो, त्यो युगको अन्त्य भएको छ।’

रिमाल बहुमुखी प्रतिभाको धनी थिए। उनलाई नेपाली रंगमञ्चको एक युगका रूपमा पनि चिन्न सकिन्छ।’ मल्लले लेखेको घरभित्रको आकाश शिर्षकको रेडियो नाटक रिमालले नै निर्देशन गरेका थिए। त्यसैक्रममा रिमाल संग परिचित भएका मल्ल रिमालको निधनले नेपाली कला र संगीत क्षेत्रको एक युगको नै अन्त्य भएको बताए।

रिमालको परिवार नै साहित्यिक थियो। उनका दाजुुहरू गोपालप्रसाद रिमाल, कृष्णप्रसाद रिमाललगायत परिवारका अन्य सदस्य पनि नेपाली नाटक क्षेत्रमा क्रियाशील थिए। रिमालले स्वर दिएका ‘कल्ले कल्ले, कैले कैले डाक्छ मलाई’, ‘आँसु बहाऊ’, ‘जाऊ हामी बादलपारी’ ‘बिना बादल असिना आउँदैन’ ‘हातै काट्यो चालिसे चुराले’लगायत गीत आजसम्म पनि चर्चामा छन्।

सुरुवातमा गीत–संगीतमा सक्रिय रिमाल पछि रंगमञ्चतिर लागेका थिए। उनलाई नाटककार बालकृष्ण समले नाटक, अभिनय र निर्देशनतिर मोडेका थिए। ‘समले नै मलाई पहिलो अभिनय गराउनुभएको हो। उहाँ मलाई नाटक पढाउनुहुन्थ्यो। उहाँले नै लेख्नुभएको ‘मुकुन्द–इन्दिरा’ नाटकमा मैले पनि खेल्न पाएँ।’ पछिल्लो एउटा अन्तर्वार्तामा रिमालले भनेका थिए।

नेपाली नाटक इतिहासमा अभिनयमा आधुनिक शैली अँगाल्ने श्रेय हरिप्रसाद रिमाललाई जाने कलाकार तथा रंगकर्मी राजन खतिवडा बताउँछन्। ‘नाटक जीवन्त बनाउन आफ्नै स्थानीय लवज प्रयोग गर्ने र बोलीचालीको भाषा विकास गर्न रिमालले जोड दिन्थे।’

संगीतकार बुलु मुकारुङले नेपाली संगीतमा रिमालले गुणात्मक योगदान दिएको बताए। ‘शास्त्रीय संगीतभित्रको शिल्पशैली पछ्याउँदै रिमालले कर्णप्रिय गीत गाएका छन्’, उनले भने, ‘रेडियो नाटकको विकासमा उनको महत्वपूर्ण योगदान छ।’

लामो समय रेडियो नेपालको नाटक निर्देशनमा सक्रिय रिमाल नाचघरमा देखाइने नाटकमा समेत अभिनय गर्थेे। हरेक शनिबार रेडियो नेपालबाट दिउँसो १.३० बजे प्रसारण हुने रेडियो नाटक एक समय निकै चर्चित थियो। त्यो नाटकको विकासमा रिमालको योगदान भुल्न नहुने मल्लले बताए।

उनले आमा, मनको बाँध, परिवर्तन, के घर के डेरा, सन्तानलगायत चलचित्रमा अभिनय गरेका छन्। भीमसेनको अन्त्य र मुकुन्द इन्दिरा जस्ता ऐतिहासिक नाटकको सफल निर्देशन पनि उनले समेत गरे।

रिमाल पछिल्लो समय श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित थिए। उनको शुक्रबारै पशुपतिमा अन्त्येष्टि गरिएको छ। उनका दुई छोरा र एक छोरी छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.