काष्ठमण्डप पुनर्निर्माण मंसिरबाट
काठमाडौं :काष्ठमण्डप पुनर्निर्माण मंसिरबाट गरिने भएको छ । क्षमापूजा गरेको तीन महिनापछि हनुमान ढोका दरबार क्षेत्रभित्र रहेको काष्ठमण्डपका लागि इँटा निर्माण, जग परीक्षणलगायत पूर्वाधारको काम थालिएको छ । वैशाख ३१ गते काष्ठमण्डपमा क्षमापूजा गरिएको थियो ।
भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डप पुनर्निर्माणका सम्बन्धमा विवाद भएपछि स्थानीयले बनाउने जिम्मा लिएका थिए । क्षमापूजामा गरेको प्रतिबद्धताअनुसार पूर्वाधार तयारीको काम सुरु भएको काष्ठमण्डप निर्माण समितिका संयोजक राजेश शाक्यले बताए ।
काष्ठमण्डपमा रहेका काम लाग्ने र नलाग्ने वस्तु छुट्याउने काम भइरहेको छ । भदौभित्रै जग विश्लेषण प्रतिवेदन आएपछि निर्माण थालिने उनको भनाइ छ । विज्ञ समूहको सिफारिसमा रेजिल्यान्ड स्ट्रक्टर प्रालिले जग विश्लेषण प्रतिवेदन तयार गरिरहेको छ । ‘जग विश्लेषण प्रतिवेदन भदौमै आउँछ, त्यसपछि औपचारिक काम सुरु हुन्छ’, उनले भने ।
पुरानै शैलीमा निर्माण गर्न त्यस्ता इँटा बनाउने अर्डर दिइसकिएको छ । मन्त्री स्तरीय निर्णय गराएर बर्दिवासबाट काठ ल्याउने प्रक्रियासमेत सुरु गरिएको छ । माटोको गुणस्तर परीक्षणको काम भइरहेको छ । अब तीन महिनासम्म सबै पूर्वाधारका काम सकेर मंसिरबाट पुनर्निर्माणको काम सुरु हुने उनले बताए ।
‘मंसिरबाट काष्ठमण्डप निर्माण गर्ने हो । त्यतिखेरसम्म इँटा बनिसक्छ, माटोको परीक्षण भइसक्छ, काठ पनि आइपुग्छ,’ प्रदेशसभा सदस्यसमेत रहेका संयोजक शाक्य भने । तीन वर्षभित्र काष्ठमण्डप पुनर्निर्माण गर्ने गरी काम गर्ने उनको भनाइ छ । त्यसका लागि अहिलेसम्म ५० लाख रुपैयाँ ‘सिड मनी’का रूपमा काठमाडौं महानगरपालिकाबाट उपलब्ध भएको छ ।
पुरातत्व विभागले काष्ठमण्डप निर्माण गर्न १९ करोड लागत अनुमान गरेको थियो । शाक्य भने अहिले लागत एस्टिमेट तयार नगरिएको दाबी गर्छन् ।
कष्ठमण्डप निर्माणका लागि जनताको अपनत्व होस् भनेर चन्दा संकलन गरिएको उनले बताए । थप आवश्यक रकमका लागि केन्द्र सरकार र महानगरपालिकासँग पनि माग गरिने उनको भनाइ छ ।
काठमण्डप निर्माणको तीन÷तीन महिनामा कार्य प्रगति सार्वजनिक गरिने संयोजक शाक्यले बताए । ‘काम गर्ने बेला गल्ती पनि हुन्छन्, त्यो औलाइदिनुहोस्, काष्ठमण्डप सबैको हो’, उनले भने ।
पुरातत्व विभाग र काठमाडौं महानगरपालिकामध्ये कसरले बनाउने भन्ने विषयमा पटकपटक विवाद भएपछि स्थानीय आफैं काष्ठमण्डप निर्माणमा जुटेका हुन् ।