खानीले हिमनदी संकटमा
सान्तियागो : चिलीमा दक्षिण अमेरिकाको कुल हिमनदीको पाँच भागको चार भाग छ । यहाँ ध्रुवीय क्षेत्रभन्दा बाहिर विश्वमै सबैभन्दा ठूलो हिमक्षेत्र पनि छ । यद्यपि तर तिनीहरू खानी उद्योगबाट सिर्जित धुलोबाट जोखिममा पर्न थालेका छन् ।
चिलीको क्याथोलिक विश्वविद्यालयका जलवायु वैज्ञानिक फाब्रिस लाम्बार्तको विचारमा चिलीका २४ हजार ११४ वटा हिमनदी खानीसँग सम्बन्धित क्रियाकलापबाट खतरामा पर्न थालेका छन् ।
उनी भन्छन्, ‘तर प्रत्यक्ष कारण र असर स्थापित गर्न भने अझै कठिनाइ छ ।’ खानीबाट निस्किने धुलो हिमनदीमा मिसिन्छ, सेतो हिमसतह पूरै धुलोले ढाकिन्छ । प्रष्टै छ, धुलोका कणले सौर्य ऊर्जा सोच्छ र यसले तीव्र गतिमा हिमनदी पग्लिन्छ । यो ठूलै समस्या हो किनभने चिलीका कतिपय हिमनदीका छेउमै खानीहरू रहेका छन् ।
चिलीमा कार्यरत गैरसरकारी दिगो चिलीकी निर्देशक सारा लाराइनको भनाइमा छिमेकी देश अर्जेन्टिनाको झैं चिलीमा पनि हिमनदीको सुरक्षाका लागि कडा कानुन आवश्यक छ । सारा भन्छिन्, ‘शक्तिशाली खानी उद्योगीहरूले यस्तो प्रस्ताव बीचमै तुहाइदिन्छन् । सन् २००५ देखि नै छ सात वटा हिमनदी संरक्षण परियोजना सांसदहरू समक्ष प्रस्तुत गरिएको हो । हरेक पटक यस्ता परियोजनालाई खानी क्षेत्रले कार्यान्वयनमा लैजानै दिएका छैनन् ।’
चिलीको खानी परिषद्का सभापति होकिन भिल्लारिनो यस्तो कानुन आवश्यक नरहेको बताउँछन् । उनी भन्छन्, ‘सत्तरी प्रतिशतभन्दा बढी खानीहरू हिमनदीको वरपर नै छैनन् ।’ तैपनि हालको कानुनमा विद्यमान हिमनदीलाई नोक्सान हुनबाट जोगाउन कम्पनीहरू बाध्य हुने व्यवस्था गरिएको छ । लाम्बार्टका अनुसार उद्योगीहरूले अरू पाँच वर्ष खानी बन्द गर्नेछैनन् तर खानी उद्योगलाई तहसनहस नपारी हिमनदी पनि जोगाउने चुनौती चिलीका जनतासामु छ । यद्यपि खानी पनि देशको अर्थतन्त्रको अत्यावश्यक भाग भएको चर्चा गरे ।
चिलीको अर्थतन्त्र मुख्य रूपमा खानीमा निर्भर छ । चिलीमा वार्षिक करिब ५६ लाख टन तामा उत्पादन हुन्छ । यो विश्वकै तेस्रो ठूलो उत्पादन हो । वातावरणीय कानुनविज्ञ पिलार मोरागाको भनाइमा चिलीमा हिमनदीको संरक्षणका लागि कडा कानुनी संरचनाको तत्काल जरुरी भइसकेको छ । सन् २०१४ मा हिमनदीको नजिकमा रहेका कतिपय असुरक्षित औद्योगिक क्रियाकलापमा प्रतिबन्ध लगाउने गरी विधेयक संसद्मा दर्ता भएको थियो ।
विधेयकमा धेरैवटा कामै नलाग्ने संशोधन गरियो र अन्ततः जुन महिनामा राष्ट्रपति सेबास्तियन पिनेराको सरकारले विधेयक नै फिर्ता लियो । सरकारको भनाइमा जैविक विविधताको संरक्षण गर्न तथा मुलुकका राष्ट्रिय निकुञ्ज र संरक्षण क्षेत्रहरूलाई सुरक्षित गर्न विद्यमान नियम नै पर्याप्त छन् । तर विज्ञहरूले चिलीका सबै हिमनदी संरक्षित निकुञ्ज क्षेत्रभित्र नरहेको भन्दै असन्तोष प्रकट गरेका छन् ।
‘चिलीमा ८६.४ प्रतिशत हिमनदी संरक्षित क्षेत्रमा छन् तर मुलुकका मध्य र उत्तरी क्षेत्रमा हिमनदीको संरक्षणका लागि कुनै उपाय अवलम्बन गरिएको छैन र यही क्षेत्रमा दिनानुदिन पानीको अभाव बढ्दै गएको छ’, लाम्बार्तले भने, ‘यी क्षेत्रको जलवायु प्रक्षेपणले आगामी ५० वर्षभित्रै आकाशे वर्षामा ३० प्रतिशतले कमी आउने देखाएको छ ।’ हिमनदीहरू हिउँको सुगठित स्वरूपबाट बनेको हुनाले कम वर्षा हुनेक्रम बढ्दै गएमा हिमनदीहरूको पुनरुत्पादनमा व्यापक असर पर्दछ, किनभने गृष्म ऋतुमा हिउँ पग्लनेक्रम सबैभन्दा बढी हुन्छ ।
खानी उद्योगका सञ्चालकहरूले सरकारी अधिकारीहरूमाथि दबाब दिएको अस्वीकार गरेका छन् । उनीहरूले अरू नयाँ नियमहरू रोक्ने सरकारको निर्णयको स्वागत गरेका छन् । ‘सरकारले राजनीतिक जोखिम मोलेर पनि जिम्मेवारीपूर्ण निर्णय गरेको हाम्रो ठम्याइ छ । यो राम्रो सोचविचार गरेर गरिएको निर्णय हो’, भिल्लारिनोले भने । वातावरणविद्हरू अझै पनि आशावादी नै छन् किनभने वातावरणमन्त्री मार्सेला कुबिजोसले दुई साताअघि मात्र हिमनदीको संरक्षणका लागि प्रभावकारी समाधान खोजी गर्नेगरी विज्ञहरूको एउटा समिति निर्माण गरिएको घोषणा गरेका छन् ।
एएफपी,
प्रतिक्रिया दिनुहोस !