लोप हुँदै उपत्यकाका प्राचीन हिटी

लोप हुँदै उपत्यकाका प्राचीन हिटी

काठमाडौं : ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेका काठमाडौं उपत्यकाका ढुंगेधारा (हिटी) लोप हुँदै गएका छन्। काठमाडौं, भक्तपुर र ललितपुरमा सयौं ढुंगेधारा थिए। खानेपानी प्रणाली विकास नहुँदासम्म उपत्यकावासी लिच्छवीकालदेखि नै ढुंगेधाराको पानी खाने गर्थे।

भोटेबहाल, सुन्धारा, यंगालहिटी, ढोका टोल, कैटाहिटी, ठहिटी, ताम्सीपाखाको हिटीलगायत स्थानमा रहेका ढुंगेधारामा एक थोपा पनि पानी आउँदैन। क्षेत्रपाटीबाट शोभाभगवती जाने बाटोमा रहेको ढुंगेधारा पुरेर घर बनाइएका छन्। वीर अस्पताल क्षेत्रमा रहेका ढुंगेधारा पुरिएका छन्। असन, बौद्ध, चाबहिल, भुवनेश्वरी, बानेश्वर, कोटेश्वर क्षेत्रमा रहेका धेरै ढुंगेधाराको नामनिसाना छैन। कतिपय ठाउँमा ढुंगेधाराका खोपाभित्र रहेका मूर्तिसमेत हराएका छन्। टेकुस्थित पकुहिटीमा रहेका दुईमध्ये एउटामा अलिअलि पानी आउँछ। मरुहिटीका चार धारामध्ये दुईमा पानी आउँछ भने वैष्णवी माताको मन्दिर छवासापाखास्थित दुई धारामा अलिअलि पानी आइरहेको छ। कोहिटी जैसीदेवल, भीमसेनस्थानमा रहेका धारामा भने पानी आउँछ।

काठमाडौं महानगर वडा नं १९ का अध्यक्ष शशीलाल श्रेष्ठले ढोका टोलको अरुणोदय आधारभूत विद्यालयछेउको धाराको माथि घर बनाएपछि पानी सुकेको बताए। ‘म यहीँ नुहाउँथें, चौबीसै घण्टा ठूलो पानी आउँथ्यो, अहिले छोरालाई यही कुरा भन्दा ऊ पत्याउँदैन’, उनले भने। ढुंगेधाराको पानीको मूलस्रोत राजकुलो हो। मुहान, भूमिगत पानी तथा राजकुलोबाट पानी ल्याएर ढुंगेधारा निर्माण गरिएको थियो। ऐतिहासिक दस्तावेजमा सबैभन्दा पहिले भक्तपुरका राजा जितामित्र मल्लले सन् १६७८ मा राजकुलो बनाएर ढुंगेधारामा जोडेको उल्लेख छ। विभागका पुरातत्व अधिकृत विष्णु पाठकले उपत्यकाका ढुंगेधारा र पोखरीबारे टोली बनाएर अनुसन्धान र खोजी भइरहेको बताए।

ढुंगेधाराको पानीले औषधिको काम गर्छ भन्ने विश्वास छ। ललितपुरको कुम्भेश्वर मन्दिरको बासाहिटीको पानी, औषधिका रूपमा उपभोग गर्न श्री ३ जंगबहादुर राणाले बेलायत लगेको उल्लेख इतिहासमा पाइन्छ। सबैभन्दा ठूलो मानिएको ढुंगेधारा सुन्धारामा दुई दशकदेखि पानी आउँदैन। लिच्छवीकालको सुरुमा कृति भनिने ढुंगेधारालाई लिच्छवीकालकै अन्त्यतिर ‘प्रणाली’ र मल्लकाल ‘हिटी’ भनिन्थ्यो। सन् १९८२ मा काठमाडौं सहरी विकास आयोजनाले गरेको सर्भेअनुसार काठमाडौंमा १ सय १७ वटा ढुंगेधारा थिए। यस्तै भक्तपुरमा १ सय ३ तथा ललितपुरमा ४० वटा ढुंगेधारा थिए।

ढुंगेधारा हराउँदै गएको धावक वैकुण्ठ मानन्धर बताउँछन्। ‘दौडेर आएर हामी त्यहीँ नुहाउँथ्यौं, पानी खान्थ्यौं तर अहिले सबै हराएर गए’, उनले भने। २०४७ सालमा बहुदलीय व्यवस्था पुनःस्थापनासँगै उपत्यकामा ठूलाठूला घर बनेपछि ढुंगेधारामा पानी आउन बन्द भयो। सुन्धारामा आउने पानी संचय कोष भवन (काठमाडौं मल)को निर्माणसँगै बन्द भएको छ। वीर अस्पतालको शवगृह जाने बाटो बनाउन क्रममा ढुंगेधारा नै नष्ट गरिएको सम्पदाकर्मी सन्तु महर्जन बताउँछन्। उनले ढुंगेधारा धार्मिक सहिष्णुताको प्रतीकसमेत रहेको सुनाए। ‘ढुंगेधारामा विष्णु, शंकर, बुद्धका मूर्तिहरू राखिएका छन्, यो धार्मिक सहिष्णुताको प्रतीक हो’, उनी दाबी गर्छन्।

ढुंगेधारामा जाडोमा तातो र गर्मीमा चिसो पानी आउँछ। बालाजुको बत्तीस धारामा स्नान गर्नुको धार्मिक महत्व छ। ढुंगेधारामा भगवानका मूर्ति राखिनुमा धारा वरिपरि फोहोर नहोस् भन्ने उद्देश्य हो रामकुमार भौकाजीले भने। गाईभैंसीलगायत जनावर जान नसक्ने गरी गहिरोमा चारैतिर पर्खाल लगाएर ढुंगेधारा बनाइएका छन्। भूकम्पले असर नगरेको ढुंगेधारा ठूला घर बनाउन थालेपछि नष्ट भएका छन्। राणाकालमा ढुंगेधाराको संरक्षण गरिएको थियो। २००७ सालपछि शाहकालमा ढुंगेधारा ध्वस्त हुन सुरुवात भएको सम्पदाविद्हरू बताउँछन्।

घर बनाउँदा राजकुलोबाट आउने पानीको लाइन नै काटिएको छ। सम्पदाविद् भौकाजीसमेत उपत्यकामा निर्मित ठुल्ठूला महलले गर्दा ढुंगेधारा सुकेको बताउँछन्। ‘भूकम्पले पनि ढुंगेधारामा आउने पानीको बहावमा कुनै असर परेन तर घर बनाउँदा पानी आउने लाइन नै काटियो’, उनी भन्छन्, ‘पाइपलाइन पनि यस्तो बनाइएको थियो, पानी फिल्टर भएर आउँथ्यो। ढुंगेधाराबाट आउने पानी अहिले जस्तो प्रदूषित हुँदैनथ्यो।’ विसं १९९० मा आएको भूकम्पले समेत ढुंगेधारालाई कुनै असर नगरेको उनी बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.