अपराध संहिताविरुद्ध चिकित्सक आन्दोलित
![अपराध संहिताविरुद्ध चिकित्सक आन्दोलित](https://annapurnapost.prixacdn.net/media/albums/aspatal-andolan-photo_20180902100032_tDpP2nSkan.jpg)
विराटनगर : मुलुकी अपराध संहिताका केही प्रवधानले काम गर्ने वातावरण नबनेको भन्दै त्यसको विरोधमा मोरङ जिल्लाका चिकित्सक आन्दोलित भएका छन्। सरकारले ल्याएको मुलुकी अपराधसंहिता ऐन २०७४ र मुलुकी फौजदारी कार्यविधि ऐन २०७४ संशोधनको माग गर्दै चिकित्सक आन्दोलित भएका हुन्।
मोरङका साना, ठूला, सरकारी तथा निजी स्वास्थ्य संस्थामा आन्दोलनको प्रभाव परेको छ। विराटनगरस्थित कोसी अञ्चल अस्पताल तथा अन्य स्वास्थ्य संस्थाका चिकित्सक आन्दोलनमा निस्किएपछि बिरामी मार्कामा परेका छन्।
चिकित्सक संघ कोसी अञ्चल शाखा विराटनगरले आइतबार जिल्लाका सम्पूर्ण अस्पतालका आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका छन्। विराटनगरस्थित कोसी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. रोशन पोखरेलले बिरामीको अवस्था हेरेर मात्र उपचार हुने बताए।
नेपाल चिकित्सक संघ, कोसी अञ्चल शाखाका अध्यक्ष डा. फरवार्ड सिलवालले सरकारले ल्याएको नयाँ ऐनमा चिकित्सकमाथि अपराधि जस्तो व्यवहार गरिएपछि आन्दोलनको विकल्प नभएको बताए।
संशोधनको प्रतिवद्धता जनाउँदै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले आन्दोलनमा उत्रने तयारी गरेका चिकित्सकसँग साउन ३० गतेदेखि भदौ १५ गतेसम्मको समय मागेको थियो। समय अवधि समाप्त हुँदा पनि सरकारले आफ्नो प्रतिवद्धता भुलेको भन्दै चिकित्सक आन्दोलित भएका हुन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)