मनास्लु क्षेत्रका होटलमा मेनुरेट निर्धारण

मनास्लु क्षेत्रका होटलमा मेनुरेट निर्धारण

गोरखा : होटल व्यवसायीले पर्यटकलाई खानेबस्ने सेवाबापत जथाभावी शुल्क लिइएको गुनासो बढ्दै गएपछि मनास्लु पदमार्गमा रहेका होटलमा खानाको दर निर्धारण गरिएको छ । मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)को सक्रियतामा सिर्दिबासको जगतदेखि सामागाउँ र छेकम्पारसम्मका होटलमा खाना तथा कोठाका लागि दर निर्धारण गरिएको एमक्यापका प्रमुख नरेन्द्र लामाले जानकारी दिए ।

पर्यटक तथा होटल सेवालाई व्यवस्थित बनाउन एमक्यापमातहत रहने गरी संयुक्त पर्यटन व्यवस्थापन उपसमिति गठन गरिएको छ । गत बिहीबार भएको व्यवसायीको भेलाले जगतका गणेश कार्कीको संयोजकत्वमा उपसमिति गठन गरेको उनले बताए । भेलाले गत जेठमा निर्धारण गरिएको दर अनुमोदन गरेको छ । पर्यटकसँग आउने गाइड र भरियाका लागि असोज पहिलो सातादेखि सुरु हुने गरी कुपन सिस्टम लागू गर्ने पनि निर्णय गरेको लामाले बताए । ‘यसअघि जे÷जस्तो व्यवस्था भए पनि अबदेखि जगतदेखि धर्मशालासम्म गाइड र भरियालाई प्रतिछाक सादा खानाको दुई सयका दरले पैसा लिने निर्णय भएको छ’, उनले भने ।

सिर्दिबासदेखि सामागाउँ र छेकम्पारसम्मका विभिन्न ३४ ठाउँका होटलमा लागु हुने गरी पर्यटकका लागि २० प्रकारका खानाको मूल्य निर्धारण गरिएको उपसमिति संयोजक कार्कीले बताए । स्थानीय होटल व्यवसायीसँग छलफल गरेर पहिलोपटक मेनुरेट निर्धारण गरेको उनले बताए । ‘ढुवानी भाडालाई आधार मानेर हामीले खानाका परिकारको मूल्य निर्धारण गरेका छौं’, उनले भने, ‘जति माथि गयो, उति पाँच प्रतिशतका दरले मूल्य बढ्छ ।’ अहिले कायम गरिएकोे दररेट दुई वर्षसम्म घटबढ नहुने उनले बताए ।

स्थानीय होटल व्यवसायीसँग छलफल गरेर पहिलोपटक मेनुरेट निर्धारण गरिएको हो।

मेनुरेट कार्यान्वयन नगरेको सूचना पाए कारबाहीसमेत गरिने एमक्याप प्रमुख लामाले बताए । ‘पर्यटन व्यवस्थापन उपसमितिले यो मेनुरेट कार्यान्वयन गराउँछ । हामी पनि अनुगमन गर्छौं’, उनले भने, ‘कसैले कार्यान्वयन नगरेको भेटे कारबाही गर्छौं ।’ ढुवानी मूल्यका कारण खानाको मूल्य फरक परे पनि होटलमा बास बस्ने पर्यटकका लागि कोठाको मूल्य भने सबैतिर एउटै कायम गरिएको छ । सिंगल बेडको चार सय, डबल बेडको छ सय, ट्रिपल बेडको आठ सय र अट्याच रुमको एक हजार रुपैयाँ निर्धारण गरिएको छ । मनास्लु पदमार्ग क्षेत्रका सिर्दिबास, ल्हो, प्रोक, बिही, चुम्चेत, छेकम्पार, र सामागाउँमा ८१ होटलले पर्यटकलाई खाने बस्ने सुविधा दिँदै आएका एमक्यापले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.