पहिरोले सिनाम–आम्बेगुदिन जोड्ने पुल जोखिममा

पहिरोले सिनाम–आम्बेगुदिन जोड्ने पुल जोखिममा

ताप्लेजुङ : वर्षाका कारण ताप्लेजुङको विभिन्न ठाउँमा पहिरो गएको छ। पहिरोले सिरिजंघा गाउँपालिका र पाथीभरा याङ्वरक गाउँपालिका सदरमुकाम फुङलिङमा सवारीसाधन चल्न सकेका छैनन्। सिरिजंघाको सिनाममा र याङ्वरकको थेचम्बुमा पहिरो जाँदा सडक पुरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

प्रहरी निरीक्षक लक्ष्मण थापामगरका अनुसार दुवै सडक तत्काल खुल्ने सम्भावना छैन। ‘सोमबार बेलुकासम्म वर्षा नरोकिएकाले तत्काल सडक सुचारु हुने सम्भावना छैन’, थापामगरले भने।

सिरिजंघा गाउँपालिका–१ सिनाम र २ आम्बेगुदिन जोड्ने निउ खोलाको पुल बाढीपहिरोले जोखिममा परेको सिनामका वडाध्यक्ष उर्मिला थेवेले बताइन्। ‘पक्की पुल पहिरोका कारण जोखिममा छ, गाडी तरेर पार हुन सक्दैन,’ थेवेले भनिन्, ‘पाँथचरको थर्पुबाट सिनाम हुँदै गाउँपालिकाको केन्द्र तेल्लोक जाने सडकको सिनामखण्ड सबै पहिरोले पुरेको छ।’

नेउखोलाको उक्त पुलको दुवैतर्फका जिपको आसपास माथिबाट पहिरो झरेपछि उक्त पुल जोखिममा परेको हो। पहिरोले दुवैतर्फको ग्याबिङ जाली बगाएको छ। उक्त पुल दुई महिनाअघि मात्रै निर्माण सम्पन्न भएको हो। पुलमा भत्कने अवस्थामा पुगेपछि जिल्लाको पूर्वीक्षेत्रका नागरिक प्रभावित बनेका छन्। बाटोसमेत पहिरोले अवरुद्ध बनेपछि आम्बेगुदिन, तेल्लोकलगायत ठाउँबाट जिल्ला र जिल्लाबाहिर जाने सवारीसाधन बीचबाटोमै रोकिएका छन्। सिनामका धेरै घर पहिरोको उच्च जाखिममा रहेको थेवेले बताइन्।

वर्षा नरोकिएकाले उक्त स्थानको पहिरो पन्छाउन नसकिएको प्रहरीले जनाएको छ। उता, पाथीभरा याङ्वरक गाउँपालिका–२ थेचम्बु जाने सडक पनि अवरुद्ध भएको छ। खहरे–पूर्णडाँडाखण्डमा पहिरो जाँदा स्थानीय चन्दा राईको घरमा समेत लेदो पसेको प्रहरीले जनाएको छ। अन्य सर्ने घर नभएपछि राईको परिवार जोखिम मोलेर सोही घरमा बसेकी छन्।

पहिरो आएपछि भाग्ने क्रममा २५ वर्षीया गर्भवती निर्मला विष्टको हात भाँचिएको छ। उनलाई थेचम्बुमा प्राथमिक उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ। सोही पहिरोले सडकसमेत पुरेको हुँदा गाउँपालिका केन्द्र थेचम्बुसँग सम्पर्कविच्छेद भएको प्रहरी निरीक्षक मगरले बताए।

सोमबार दिनभरि मेची राजमार्गको काबेली–ताप्लेजुङखण्ड अवरुद्ध बनेको थियो। उक्त सडक सोमबार बेलुका मात्रै खुलाइएको छ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक लक्ष्मण थापामगरका अनुसार काबेलीबाट आएको एस्काभेटरले हिलो र भेल पन्छाएको थियो। पाथीभरा याङवरक गाउँपालिका–१ मेवाखा छेउको खोल्सामा माथिबाट पहिरोसहित बाढी आउँदा सडक पुरेको थियो। ताप्लेजुङमा सोमबार दिनभर २८ मिलिमिटर वर्षा भएको पूर्वक्षेत्रीय हावापानी कार्यालय ताप्लेजुङले जनाएको छ। जिल्ला विपद व्यवस्थापन समितिले सतर्क रहन सर्वसाधारणलाई आग्रहसमेत गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.