जनप्रतिनिधिको गाडी चढ्ने होड

जनप्रतिनिधिको गाडी चढ्ने होड

नेपालगन्ज : बाँकेको राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु र उपाध्यक्ष धनीकुमारी खत्रीबीच कसले गाडी चढ्ने भन्ने विवादले ६ महिना बोलचाल भएन। कारण, १ भदौ २०७४ देखि गाउँपालिकाले अध्यक्ष थारुका लागि मासिक एक लाख १० हजार रुपैयाँ भाडा तिर्ने गरी गाडीको व्यवस्था गर्‍यो। तेलका लागि ३० देखि ३५ हजार रुपैयाँसम्म खर्च भइरहेको छ। मर्मत खर्च पाँच हजार दिने गरिएको छ।

गाउँपालिकाले भाडामा लिए पनि गाडी अध्यक्षको ‘निजी’ जस्तो भएको छ। अध्यक्ष थारु चढ्ने गाडीमा उपाध्यक्ष खत्री चढ्न नपाएको भन्दै गुनासो गर्न थालेकी छन्। ०७४ साउनमा गाउँपालिका बैठकमा एउटा गाडी किन्ने प्रस्ताव गरिएको थियो। उपाध्यक्ष खत्रीले प्रस्ताव ठाडै अस्वीकार गर्दै अड्डी कसिन्, ‘किन्ने भए दुई वटा किन्ने, एउटाले मात्र हुन्न्।’ उनकै अडानले अघिल्लो वर्ष गाउँपालिकाको गाडी किन्ने योजना तुहिएयो।

अध्यक्ष र उपाध्यक्ष दुबै कांग्रेसबाट निर्वाचित भए पनि मनमुटाव बढेको छ। १६ असारमा नेपालगन्जमा आयोजित कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित समक्ष उपाध्यक्ष खत्रीले योजना अनुगमनको जिम्मा दिने तर उपाध्यक्षलाई किन गाडी सुविधा नदिइएको भन्दै गुनासो पोखेकी थिइन्। विकास योजनाको अनुगमन गर्न गाडी चाहिने उनको तर्क थियो। ‘विकास निर्माणको काम भए पनि उपाध्यक्षले हस्ताक्षर गर्नुभएन। रकम निकासा नहुने भएपछि गाउँपालिकाले उहाँका लागि गाडीको व्यवस्था गर्‍यो’, गाउँपालिकाका एक कर्मचारीले भने।

वडा अध्यक्षले रकम निकासा प्रभावित हुन थालेको भन्दै दवाब दिएपछि गत २४ वैशाखदेखि योजना ‘अनुगमन गर्ने प्रयोजन’का लागि भन्दै गाउँपालिकाले उपाध्यक्ष खत्रीलाई पनि गाडीको व्यवस्था गर्‍यो। गाडी भाडा भयो, मासिक एक लाख १० हजार तय गरिएको छ। उनको गाडीमा ४० हजार रुपैयाँको तेल खर्च आउँछ। ‘महिला भएकाले विभेद भएको थियो। अहिले अध्यक्ष र मैले चढ्ने गाडीको भाडा र तेल बराबार खर्च हुन्छ’, खत्रीले भनिन्।

गाउँपालिकाले दुई वटा गाडीका लागि मासिक तीन लाख रुपैयाँभन्दा बढी खर्च गरिरहेको छ। दुबै गाडी अध्यक्ष र उपाध्यक्षले ‘निजी’ जस्तै प्रयोग गरिरहेका छन्। भाडाको गाडीबाट खर्च बढेको भन्दै गाउँपालिकाले यो वर्ष ५०–५६ लाख रुपैयाँसम्मको एउटा नयाँ गाडी किन्ने प्रक्रिया सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत टोपेन्द्रबहादुर केसीले जानकारी दिए। ‘कार्यालय प्रयोजनका लागि गाडी किन्न लागिएको हो। टेण्डर भइसकेको छ। एक महिनाभित्र नयाँ गाडी आउँछ’, उनले भने।

लाखौं रुपैयाँ खर्च गर्दै भाडाको गाडी चलाउने राप्ती सोनारी गाउँपालिका एक्लो होइन। नरैनापुर र जानकी गाउँपालिकाले पनि ‘कार्यालय प्रयोजन’ भन्दै अध्यक्षका लागि एक लाख रुपैयाँभन्दा बढी रुपैयाँ भाडामा गाडी प्रयोग गरिरहेका छन्। नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद साह भारतीय नम्बर प्लेटको गाडी चढ्छन्। जानकी गाउँपालिकाले एक लाख रुपैयाँ भाडामा लिएको गाडीमा गाउँपालिकाले इन्धन भर्ने गर्छ। पदाधिकारीलाई २० लिटर र विषयगत समितिका संयोजक कर्मचारीलाई मासिक १० लिटर तेल दिने व्यवस्था गरेको गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले बताए। गाउँपालिका उपाध्यक्ष भूमिसरा धिताल भने स्कुटर चढ्छिन्।

नेपालगन्ज उपमहानमा प्रमुख डा.धवलशम्शेर राणा, उपाध्यक्ष उमा थापामगर र प्रमुख प्रशासकीय अधिकृत तोयनारायण सुवेदी गाडी चढ्छन्। तेल आवश्यकता अनुसार प्रयोग भइरहेको सूचना अधिकारी शरदकुमार पौडेलले बताए। उपमहानगरले आर्थिक वर्ष ०७५÷०७६ मा प्रस्तावित आय व्ययमा इन्धन शीर्षकमा ४५ लाख रुपैयाँ बजेट छ। सवारी इन्धन (सरसफाइ) मा १५ लाख र इन्धन सवारी अन्य सवारी शीर्षकमा ३० लाख रुपैयाँ छ।

कोहलपुर नगरपालिकामा पनि यही अवस्था छ। नगरपालिकासँग दुई वटा गाडी छ। एउटा नगर प्रमुख लुटबहादुर रावत र प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद देवकोटा चढ्ने अर्को उप–प्रमुख सन्जुकुमारी चौधरी र नगरपालिका कार्यालय प्रयोजनका लागि छुट्टाइएको उप–प्रमुख चौधरीले बताइन्। ‘कार्यालय प्रयोजन गाडी प्रयोग हुने भएकाले तेल आवश्यकता अनुुसार खर्च हुन्छ’, उनले भनिन्। नगरपालिकाले आर्थिक वर्ष ०७४÷७५ मा पदाधिकारीका लागि ५ लाख, कार्यालय प्रयोजनका लागि १० लाख र अन्य प्रयोजनमा एक लाख पाँच हजार रुपैयाँ बजेट छुट्टाएको थियो।

डुडुवा गाउँपालिका अध्यक्षको आफ्नै गाडी छ। गाडीमा आवश्यकता अनुसार इन्धन खर्च हुन्छ। स्थानीय तहले तेलमा आवश्यकता अनुरुपलाई परिभाषित नगर्दा तेल खर्चमा मनोमानी देखिन्छ। स्थानीय सरकारका पदाधिकारी सरकारी गाडी निजी प्रयोजनमा कुदाइ रहेका छन्। वडा अध्यक्ष, नगर र गाउँ कार्यपालिका धेरैजसो सदस्यले मोटरसाइकल प्रयोग गरीरहेका छन्। उनीहरुले पनि इन्धन सेवा लिइरहेका छन्।

मितव्ययी जनप्रतिनिधि

स्थानीय सरकारको काममा आफ्नै सवारी साधन प्रयोग गरेर मितव्ययीता अपनाउने जनप्रतिनिधि पनि जिल्ला छन्। खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपति र बैजनाथ गाउँपालिका अध्यक्ष मानबहादुर रुचाल आफ्नै सवारी चलाउँछन्। दुबै अध्यक्षले गाउँपालिकाबाट इन्धन सुविधा भने लिएका छन्। खजुराले अध्यक्षको गाडीलाई लग बुकमा भर्न लगाएर आवश्यकता अनुसार २० देखि ५० लिटरसम्म इन्धन सुविधा दिने गरेको छ। ‘यति नै भन्ने छैन। काम अनुसार कहिले धेरै त कहिले थोरै हुन्छ’, कक्षपतिले भने।

बैजनाथका अध्यक्ष रुचाल निजी मोटरसाइकल चढ्छन्। मासिक दुई हजार पाँच सयदेखि तीन हजार रुपैयाँसम्मको तेल लिने गरेको बताउँछन्। ‘जनताको सेवा गर्न आफ्नै मोटर साइकल चढ्छु। गाडी चाहिन्छ भन्ने छैन। काम चलेकै छ’, उनले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.