राडारले दुर्घटना न्यून

राडारले दुर्घटना न्यून

दमौली : अत्यधिक गतिका कारण हुने गरेका दुर्घटना रोक्न तनहुँमा गरिएको राडार गनको प्रयोगले सवारी दुर्घटना कम गर्न प्रभावकारी भूमिका खेलेको प्रहरी अधिकारीको भनाइ छ । गत साउन १७ यता राडार गनमार्फत नियमित पृथ्वी राजमार्गका सवारी साधनको गति मापन गर्ने गरिएको छ । दमौली तथा बेलचौताराबाट नियमित तथा बेला बेला आकस्मिक रुपमा राजमार्गमा यस्तो गति मापन गर्ने गरिएको छ ।

साउनयता गरिएको कडाइपछि सवारी दुर्घटनामा ज्यान जानेको संख्यामा कमी आएको ट्राफिक प्रमुख कृष्णबहादुर क्षेत्रीले बताए । ‘अहिलेसम्म एक जनाको दुर्घटनामा ज्यान गएको छ’, उनले भने, ‘केही गम्भीर घाइते भएका छन् ।’ ट्राफिक प्रहरीले सडकमा गरेको जाँचका क्रममा अधिकांश सवारी साधन तोकिएको भन्दा अधिक गतिमा हिँडेको पाइएको थियो । एक महिनामा जाँच गरिएका ६ सय ७७ सवारी साधनमध्ये ७० प्रतिशतले निर्धारितभन्दा बढी गतिमा सवारी चलाएको भेटिएको छ । ‘बढी गतिमा सवारी चलाउनु नै दुर्घटनाको प्रमुख कारक रहेको पुष्टि भएको छ’, उनले भने ।

दुर्घटनाको प्रमुख कारण पत्ता लागेपछि ट्राफिकले नियमित रुपमा गति मापन गर्ने गरेको छ । दमौली र बेलचौतारामा रहेका चेकपोस्टमा नियमित जसो गति मापन हुने गरेपछि सवारी साधनका चालकले गति कम गर्ने गरेको ट्राफिक प्रमुख क्षेत्रीले बताए । ‘जाँचका क्रममा बढी गतिमा चलाउनेलाई कारबाही थालेका छौं’, उनले भने,‘दुर्घटनाको संख्या घट्नु पनि यसको कारण हो ।’ साउन १७ यता डेढ महिनाका अवधिमा एक जनाको सवारी दुर्घटनाका कारण ज्यान गएको छ । राजमार्ग भन्दा परको क्षेत्रमा राडार गनको परीक्षण नभएका कारण त्यस क्षेत्रमा भएका दुर्घटना यस अवधिमा केही देखिएका छन् ।

तर राजमार्गमा भने घटना निकै गिरावट आएको विश्लेषण ट्राफिक प्रहरीको छ । ‘निगरानी भइरहन्छ भन्ने चालकलाई परेको छ’, उनले भने,‘यसले उनीहरुको सवारी चलाउने बानीमा परिवर्तन भएको छ ।’ तर व्यास नगरपालिकाले दिएको दुईवटा मात्र राडार गनमध्ये एक दमौली र अर्को बेलचौतारामा भएका कारण जिल्ला प्रवेश गर्ने मुख्य नाका आँबुखैरेनी तथा अन्य सडकमा खटिने टोलीले नियमित रुपमा भने यसको प्रयोग गर्न पाएका छैनन् । ‘थप गन पाउने हो भने सवारीको नियम पालनामा कडाइ ल्याउन सकिन्छ,’ क्षेत्रीले भने ।

राडार गनले कसरी गर्छ काम ?

बन्दुकजस्तै देखिने राडार गनबाट निस्कने तरंगले सवारी साधनलाई छोएपछि गति देखिन्छ । राजमार्गमा खटिएका ट्राफिक अधिकारीले परबाटै गनमार्फत पठाउने तरंगबाट गति पत्ता लगाउँछन् । बढी गतिमा चलाएको भेटिएमा रोकेर तत्काल कारबाही गर्ने गरिएको छ ।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.