लमजुङमा बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ४ पुग्यो, ३ अझै बेपत्ता (अपडेट)

बेसीसहर : लमजुङमा बुधबार दिउँसो अविरल वर्षापछि आएको बाढी र पहिरोमा परी चारजनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन्। मृत्यु हुनेमा मस्र्याङदी गाउँपालिका- ३ खुदी पल्लोटारीकी ६० वर्षीया अतिरुपा थापा, उनकी १० वर्षीया नातिनी शिरिषा, वडा नं. ३ को अर्खलेबेसीकी ७० वर्षीया ललितमाया गुरुङ र मस्र्याङ्दी गाउँपालिका- ५ की विष्णुकली गुरुङ रहेका छन्।
अतिरुपा र शिरिषा पहिरो छल्न भाग्दै गर्दा पुरिएका थिए। ललितकलालाई तोप्रोखोलामा आएको बाढीले बगाएको हो। उनको बिहीबार बिहान मात्र शव फेला परेको हो । विष्णुकली बाख्रा चराउन जाँदा पहिरोमा परेकी हुन् । उनका ४० बाख्रामध्ये १३ वटा मरेको अवस्थामा फेला परेको छ भने २७ वटा अझै हराएका छन्।
बाढीमा परी तीनजना बेपत्ता भएका छन् । बेसीसहर-११ स्थित दोर्दी खोला हाइड्रोपावरमा काम गर्ने २ जना मजदुरलाई मस्र्याङ्दीले बगाएको हो। मस्र्याङ्दीमा वेपत्ता हुनेमा बर्दियाका ठाकुरद्धारा नगरपालिका- ५ का ३२ वर्षीय वलिराम चौधरी र २५ लक्षमण थारु रहेका छन्।यस्तै मस्र्याङ्दी गाउँपालिका- ४ नासकुचेका ५५ वर्षीया राजु लामा स्थानीय तोप्रो खोलामा आएको बाढीमा बेपत्ता भएका छन्।
बाढीले १ ट्याक्टर, ३ वटा मोटरसाइकल, एउटा मिनीट्रक र एउटा जीप बगाएको छ। बाढी पहिरोले मस्र्याङ्दी गाउँपालिका ३, ४, ५ र ६ का क्षेत्रमा बढी क्षति पुर्याएको छ । पहिरोमा परी ७ जना घाइते भएका छन्। घाइते हुनेमा मस्र्याङ्दी-३ खुदी तरापुका टुकमाया खत्री, कृष्ण थापा, रसीव थापा, सिजन थापा, सोही वडाको अर्खलेबेसीका फुलमाया गुरुङ रहेका छन्। यस्तै वडा नं. ४ श्रीचौरका मेनका घले र समिर विक पनि घाइते छन् ।
घाइतेको लमजुङ जिल्ला सामुदायिक अस्पताल र खुदी स्वास्थ्य चौकीमा उपचार भैरहेको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताए।
पहिरोका कारण मस्र्याङ्दी गाउँपालिका-४ ताघ्रिङको घोप्टेभीरमा केही सर्वसाधारण र यात्रुहरु फसेका छन्। विभिन्न स्थानमा गएको पहिरोले सडक अवरुद्ध हुँदा जीपमा यात्रा गरेका यात्रु र स्थानीय घोप्टेभीरको डाँडामा अलपत्र परेका हुन्। उनीहरुलाई उद्धार गर्न गएका प्रतिनिधिसभा सदस्य देवप्रसाद गुरुङ, पूर्व सांसद जमीन्द्रमान घले, गृहमन्त्रालयको विपद् महाशाखाकी सहसचिव इन्दु घिमिरेसहितको टोली हेलिकप्टरमा घटनास्थल पुगेका थिए।
पहिरोमा फसेका सर्वसाधारण र पर्यटकको उद्धारका लागि गएका उनीहरु हेलिकप्टर अवतरण गर्ने स्थान अभाव भएपछि फर्किएका छन् । 'पहिरोले बाटो क्षतविक्षत छ। डाँडाकाँडा, समथल कतैपनि हेलिकप्टर ल्याण्ड गर्ने स्थान पाइएन', सांसद गुरुङले भने, 'हेलिकप्टर ल्याण्ड गर्न नसकेपछि चाउचाउ, चिउरा र पानी खसालेर फर्कियौँ।'
हेलिकप्टरबाट पनि उद्धार गर्न नसकिएपछि नेपाली सेनाको एउटा टोली पैदलमार्ग हुँदै त्यसतर्फ पठाइएको प्रजिअ ढकालले बताए । बेसीसहर-चामे सडकको अर्खलेबेंसी, काप्रेभीर, रामबजार, स्याँगे लगायत क्षेत्रमा पहिरो जाँदा करीब आधा दर्जन घर बगाएको प्रहरी नायव उपरिक्षक यादव ढकालले बताए। यस्तै मस्र्याङ्दी गाउँपालिका ६, बाहुनडाँडामा ४ वटा घर पहिरोले बगाएको छ। वडाअध्यक्ष लिलाप्रसाद घलेले आफ्नो घरसमेत पहिरोले लगेको बताए ।
मस्र्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले स-साना खहरे खोलामा समेत बाढी आएको, ठाउँ ठाउँमा पहिरो चलेका कारण स्थानीय आवातजावत गर्न नसकेको बताए। ठाउँ ठाउँमा पहिरो गएपछि बेसीसहर चामे सडक पूर्णरुपमा अवरुद्ध छ। अर्खलेबेसीदेखी च्याम्चेसम्मको सडकमा दर्जनौ सवारी साधन छोडेर चालक तथा यात्रु सुरक्षित स्थानतर्फ भागेको स्थानीयले बताएका छन्।
प्रतिक्रिया दिनुहोस !
