दशैंअघि कुसुममा बिजुली बल्ने

दशैंअघि कुसुममा बिजुली बल्ने

नेपालगन्ज : सुगम जिल्ला । पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको गाउँ । २०४४ सालमै हाइटेन्सन प्रसारण लाइनमुनि बस्ती तर पनि वर्षौंदेखि अन्धकार । बाँके जिल्लाको साबिक खासकुश्मा गाविसका ९ वटा वडा (हाल राप्ती सोनारी गाउँपालिका १) कुसुम क्षेत्रको वास्तविकता हो यो ।

सडक, यातायात लगायत सबै सुविधा हुँदा पनि राप्ती सोनारी गाउँपालिकाको यो वडा वर्षौदेखि विद्युत सेवाबाट वञ्चित भयो । सरकारले बत्ती बाल्ने प्रबन्ध नगर्दा एक दशकअघि स्थानीय आफ्नै पहलमा बत्ती ल्याउन कस्सिए । सम्भव भएन तर हिम्मत हारेनन् । २०७० सालमा भने ग्रामीण विद्युतीकरणका लागि उनीहरू जुटे । कुसुम ग्रामीण विद्युत सहकारी नामक संस्था गठन गरे । संस्थाका संस्थापक उपाध्यक्ष सुरेश महराले अनुभव सुनाए, ‘घर घरबाट कम्तीमा ५०÷५० रुपैयाँका दरले उठायौं । सक्नेले अझ बढी पनि दिए । जिविस, गाविस, सामुदायिक वनले सहयोग गरे । एक करोड रुपैयाँ संकलन भयो । तर अझै बत्ती आउने नआउने टुंगो छैन ।’

ग्रामीण विद्युतीकरणका लागि सरकारको ९० प्रतिशत र स्थानीयले १० प्रतिशत रकम जुटाउने प्रावधान छ । स्थानीयले पर्याप्त बजेटको जोहो पनि गरे । कुसुम क्षेत्रमा विद्युतका लागि सामुदायिक विद्युत विभागले २ असार २०७१ सालमा ललितपुरको जनमुक्ति कन्ट्रक्सन कम्पनीसँग १२ महिनाभित्र काम सम्पन्न गर्ने गरी झन्डै साढे तीन करोड लागतको सम्झौता पनि ग¥यो । गाउँ गाउँमा पोल गाडिए । तार टाँगिए । तर पनि लक्ष्य अनुसार काम भएन । ठेकेदार कम्पनीले पटक पटक म्याद थप्दै गयो । बत्ती बल्ने आशामा पोल हेर्दै बसे स्थानीयवासी । वर्षाको समयमा राप्ती पारीका गाउँमा कति पोल त ढले पनि । उनीहरूमा निराशा छायो ।

सरकारी ६ करोड ३० लाख ४७ हजार र समुदायको ६३ लाख रुपैयाँको लागतमा कुसुम क्षेत्रका झन्डै तीन हजार घरधुरीमा विद्युत सेवा पु¥याउने लक्ष्य छ । ठेक्का सम्झौता भने तीन करोड ४५ लाख ८० हजारको छ । सरकारी लगानीमा ठेक्का सम्झौता बाहेक प्राधिकरणले केही पोल, ट्रान्सफर्मर, मिटरलगायतमा लगानी गरेको प्राधिकरणको कोहलपुर वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले बताए । उनले भने, ‘कुसुमस्थित अत्तरिया ग्रीड शाखाबाटै कुसुम क्षेत्रमा एक सय केभीएका १३ वटा लोड सेन्टरबाट विद्युत सेवा दिने लक्ष्य छ । तत्काल ९ वटा लोड सेन्टरबाट झन्डै एक हजार घरधुरीमा विद्युत सेवा दिने तयारी भइरहेको छ ।’

नौ स्थानमा ट्रान्सफर्मर जडान भइसकेको छ । चार ठाउँमा भने जडान गर्न बाँकी छ । प्राधिकरणले सम्भव भएजतिलाई चाँडोभन्दा चाँडो विद्युत सेवा विस्तार गर्न खोजेको छ । कुसुम ग्रामीण विद्युत सहकारी संस्थाका अध्यक्ष तेजबहादुर केसीले ठेकेदार कम्पनीले समयमैै काम सम्पन्न नगर्दा काममा ढिलाइ भएको जानकारी दिए । ‘समुदायको तर्फबाट गर्नुपर्ने सबै काम हामीले गरिसकेका छौं । विद्युत प्राधिकरणले पनि सहयोग गरेकाले दशैंअघि नै विद्युत सेवा पु¥याउने गरी काम भइरहेको छ’, उनले भने ।

ठेकेदार कम्पनीले कहिले भूकम्प त कहिले नाकाबन्दीको बाहाना गर्दै सम्झौताको दुई पटकसम्म म्याद थपेको सुवेदीको भनाइ छ । ठेकेदारले ढिलासुस्तीकै कारण विद्युत सेवामा ढिलाइ भएको थाहा पाएपछि प्रदेशसभा सदस्य कृष्णा केसी ‘नमूना’ ले पहल गरिन् । ‘धेरै ठाउँमा ठेक्का लिने । पेश्की बुझ्ने तर काम अघि नबढाउने प्रवृत्ति रहेछ । मैले काठमाडौं पुगेरै मन्त्रालय, विद्युत विभाग र ठेकेदार कम्पनीलाई दवाब दिएँ । अहिले काम अन्तिम चरणमा पुगेको छ । अब बत्तीको उज्यालोमा तपाईहरूले दशैंको टीका लगाउन पाउनुहुन्छ’, ग्रामीण विद्युतीकरणबारे शुक्रबार कुसुममा आयोजित कार्यक्रममा उनले स्थानीयलाई आश्वास्त पारिन् । सोही कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका मध्यपश्चिम क्षेत्रीय कार्यालय प्रमुख मनोजकुमार सिंह पनि दशैं अघि विद्युत सेवा पुग्ने घोषणा गर्दै भने, ‘दशैंअघि तपाईहरूले बत्ती बाल्न पाउनुहुन्छ । ढुक्क हुनुहोस् । म विद्युत सेवा दिने ग्यारेन्टी गर्छु ।’

नेपाल विद्युत प्राधिकरण मध्यपश्चिम क्षेत्रीय कार्यालयका अनुसार बाँके जिल्लामा नरैनापुर मात्र विद्युतविहीन सिंगो गाउँपालिका हो । त्यसबाहेक अधिकांश स्थानीय तहमा आंशिक रूपमा भए पनि विद्युत सेवा पुगेको छ । राप्ती सोनारी गाउँपालिकाका वडा नं. १, ६ र ७ मा पूर्र्ण रूपमा विद्युत पुगेको छैन । राप्ती सोनारीको वडा नं. २ मा ग्रामीण विद्युतीकरण विधिबाटै तीन वर्षअघि विद्युत पुगेको हो । बैजनाथ गाउँपालिकाका केही वडामा पोल गाडिए पनि तारसमेत टाँगिएको छैन । अन्य स्थानीय तहका अधिकांश स्थानमा विद्युत आंशिक रूपमा भए पनि पहुँच भएको विद्युत प्राधिकरणका क्षेत्रीय प्रमुख सिंहले दाबी गरे । उनी भन्छन्, ‘कुसुममा दशैंअघि विद्युत पुग्छ । नरैनापुर क्षेत्रमा विद्युत सेवा विस्तारको सबै प्रक्रिया टुंगो लागिसकेकाले एक वर्षभित्र विद्युत सेवा पुग्छ ।’

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.