नेपाल-चीन सैन्य अभ्यास सुरु

नेपाल-चीन सैन्य अभ्यास सुरु

काठमाडौं : नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाको संयुक्त सैन्य अभ्यास चीनको सिचुवान प्रान्तको छेन्दूमा सुरु हुँदैछ। असोज १–१२ गतेसम्म हुने अभ्यासमा सहभागी हुन महासेनानीको नेतृत्वमा १६ सदस्यीय विशेष फौजको टोली छेन्दू जान लागेको हो।

सैनिक प्रवक्ता सहायक रथी गोकुल भण्डारीले तालिममा सहभागी हुन आवश्यक तयारी पूरा भएको बताए। उनले भने, ‘सेनाको टोली सैन्य तालिममा सहभागी हुन आज छेन्दु जाँदै छ।’ बिम्स्टेक राष्ट्र्को संयुक्त सैन्य अभ्यासमा नेपालको सहभागितामा विवाद उत्पन्न भएपछि अन्तिम समयमा प्रधानमन्त्री केपी ओलीले सेनालाई सहभागी हुनबाट रोकेका थिए। बिम्स्टेक सदस्य राष्ट्रको संयुक्त सैन्य अभ्यास भदौ २५–३१ गते (सेप्टेम्बर १०–१६) सम्म भारतको पुणेमा भएको थियो। प्राविधिक र आर्थिक सहायताका लागि बनेको संगठनमा सैन्य अभ्यासले प्रवेश पाउनु असान्दर्भिक भएको भन्दै आलोचना भएपछि प्रधानमन्त्री ओलीले अभ्यासमा सहभागी नहुन सेनालाई निर्देशन दिएका थिए।

नेपाली–चिनियाँ जनमुक्ति सेनाको संयुक्त सैन्य अभ्यासबारे जापान, कोरिया, भारत, अमेरिका र विभिन्न युरोपेली देशले असहजता प्रकट गरे पनि नेपाली सेनाले चीनसँगको संयुक्त सैन्य अभ्यास नियमित र सामान्य भएको बताउँदै आएको छ। सेनाले अमेरिकी सेनासँग समेत संयुक्त सैन्य अभ्यास गर्दै आएको छ। सेनाले भारतीय सेनासँग पनि बर्सेनि संयुक्त सैन्य अभ्यास ‘एक्सरसाइज सूर्यकिरण’ गर्दै आएको छ। चिनियाँ जनमुक्ति सेनासँग सेनाको संयुक्त सैन्य अभ्यास ‘सगरमाथा फ्रेन्डसिप’को यो दोस्रो संस्करण हो।

अघिल्लो वर्ष नेपालमा भएको संयुक्त सैन्य अभ्यासको दोस्रो संस्करण छेन्दूमा हुन लागेको हो। गत वर्ष वैशाखमा भएको अभ्यास यस पटक सरकार गठनमा भएको ढिलाइ र प्रधानमन्त्री ओलीको चीन भ्रमणले केही समय पछि धकेलिएको हो। प्रधानमन्त्री ओली र त्यसलगत्तै तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीको चीन भ्रमणपछि सैन्य अभ्यास गर्ने टुंगो लागेको थियो। सैन्य अभ्यासमा सहभागी हुने सैनिक अधिकारीबाहेक सेनाका तर्फबाट पर्यवेक्षक टोली समेत सहभागी हुनेछ।

आतंकवादबाट उत्पन्न हुन सक्ने सम्भावित सुरक्षा चुनौती दृष्टिगत गरी दुवै देशका विशेष सेनाले गत वर्ष पहिलो पटक संयुक्त सैन्य अभ्यास गरेका थिए। दोस्रो संस्करणमा समेत संयुक्त सैन्य अभ्यास प्रतिआतंकवाद युद्धकला र विपद् व्यवस्थापनलगायतमा नै केन्द्रित हुनेछ। गत वर्ष वैशाख ३–१२ गतेसम्म महाराजगन्जस्थित विशेष वाहिनीमा दुई देशका विशेष सेनाले अभ्यास गरेका थिए। नेपाली–चिनियाँ जनमुक्ति सेनाबीचको पहिलो संयुक्त सैन्य अभ्यासलाई ‘सगरमाथा फ्रेन्डसिप—२०१७’ नाम दिइएको थियो।

गत वर्ष चिनियाँ जनमुक्ति सेनाका कर्नेल याङ सुमेङको नेतृत्वमा २२ सदस्यीय टोली संयुक्त सैन्य अभ्यासका लागि काठमाडौं आएको थियो। चिनियाँ जनमुक्ति सेनासँग भएको सैन्य अभ्यासबारे टीकाटिप्पणी हुँदै आए पनि सेनाले भने कैयौं देशका सेनासँग हुने तालिम आदानप्रदानले सैन्य कूटनीति सुदृढ हुँदै जाने बताउँदै आएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.