दुई महिनामा २५ बालबालिका हराए

दुई महिनामा २५ बालबालिका हराए

हेटौंडा : पछिल्ला दुई महिनामा मकवानपुरबाट २५ जना बालबालिका हराएका छन्। बालबालिकाको क्षेत्रमा काम गर्दै आइरहेको संस्था सिविन–नेपाल हेटौंडाका अनुसार चालु आर्थिक वर्षको साउन र भदौ महिनामा नौ बालिका र १६ बालक हराएका हुन्।

विशेषगरी भारतीय सीमाबाट नजिकैको जिल्ला भएका कारण पछिल्लो समय मकवानपुरमा बालबालिका हराउने क्रम बढेको सिविनका हेटौंडा प्रमुख झबेन्द्र ज्ञवालीले बताए। ‘घरायसी कारणबाटै धेरै बालबालिकाले घर छाडेको देखिन्छ’, उनले भने, ‘पारिवारिक हिंसा, खराब साथीको संगत, बुबाआमाको संरक्षणको अभाव लगायतका कारणले काम गरेको देखिन्छ।’

गत आर्थिक वर्ष २०७४÷०७५ मा कूल ४५ जना बालबालिका हराएका थिए। हराएका मध्ये १७ जना बालिका र २८ जना बालक रहेको सिविनको तथ्यांक छ। २०७३÷७४ मा मकवानपुरबाट ४० जना बालबालिका हराएका थिए। तीमध्ये १३ बालिका र २७ रहेको तथ्यांकमा उल्लेख छ।

‘चालु आर्थिक वर्षको दुई महिनामै अघिल्लो वर्षभन्दा करिब ५५ प्रतिशत बढी बालबालिका हराएपछि सरोकारवाला थप गम्भीर हुनुपर्ने भएको छ’, ज्ञवालीले भने, ‘हराएकामध्ये आधाजस्तो मात्र सम्पर्कमा आउने गरेका छन्। कतिपय आएर पनि हामीलाई जानकारी नभएको हुनसक्छ।’ मकवानपुरको पूर्वीक्षेत्र र पश्चिम क्षेत्रमा यस्ता घटना बढी रहेको उनले बताए।

बालविवाह पनि बढ्दै

भदौ १ गतेबाट नयाँ मुलुकी संहिता लागू भएको छ। जसमा युवतीले २० वर्ष पुगेपछि मात्र विवाह गर्न पाउने प्रावधान रहे पनि मकवानपुरमा बालविवाहको घटना भने बढ्दै गएको छ। चालु आर्थिक वर्षको साउन र भदौ महिनामा मात्र १६ वटा बालविवाहको घटना भएको सिविनको तथ्यांक छ। ‘१४ बालिका र दुई बालकको विवाह भएको छ’, ज्ञवालीले भने, ‘हामीले थाहा नपाएका अन्य थुप्रै घटना हुनसक्छन्।’

अशिक्षा र गरिबीका कारण विषेशगरी मकवानपुरको पश्चिमी क्षेत्रमा बढी मात्रामा बालविवाह हुने गरेको छ। सिविन हेटौंडाका अनुसार आर्थिक वर्ष २०७४÷७५ मा मकवानपुरमा १२ वटा बालविवाहका घटना भए भने अघिल्लो आर्थिक वर्षमा जम्मा पाँचवटा बालविवाह भएको तथ्यांक छ। तीमध्ये चारजना बालिका र एकजना बालकको विवाह भएको थियो। यसैबीच, सिविनले गरेको अनुगमनमा आर्थिक वर्ष २०७४÷७५ मा मकवानपुरमा २२ बाल श्रमिक भेटिए। २०७३÷७४ मा भने मकवानपुरमा २९ बाल श्रमिक भेटिएको सिविनले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.