पप्पुले बनाएको टेकु पुल सञ्चालनमा रोक

पप्पुले बनाएको टेकु पुल सञ्चालनमा रोक

काठमाडौं : पप्पु कन्स्ट्रक्सनले बनाएको काठमाडौंको टेकु पुल प्राविधिकरूपमा कमजोर रहेको भन्दै सडक विभागले सञ्चालनमा रोक लगाएको छ । निर्माण कम्पनीले लापरबाही गरेर निर्माण गरेका कारण पुल कमजोर भएको सडक विभागले जानकारी दिएको छ । कालिमाटी–टेकु जोड्ने ६२ मिटरको यो पुल हस्तान्तरण नभएको, पुलमा देखिएका प्राविधिक समस्या समाधान नगरी निर्माण अगाडि बढाएको र परामर्शतादाले दिएको सुझाव पालन नगरी पुल निर्माण गरेको भन्दै सञ्चालनमा रोक लगाइएको सडक विभागले जानकारी दिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा दरबारमार्गलाई अघिल्लो शुक्रबार नै पत्र लेखेरै पुल सञ्चालन नगर्न अनुरोध गरिएको काठमाडौं सडक डिभिजन १ नम्बर कार्यालयका इन्जिनियर रामबहादुर गुरुङले अन्नपूर्णलाई जानकारी दिए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको तत्कालीन दिगो सहरी विकास आयोजनाले २० करोड १३ लाख रुपैयाँमा ठेक्का लगाएको यो पुलमा निर्माण कम्पनी पप्पुले जम्मा १३ करोड ९२ लाख रुपैयाँको मात्रै काम सकेको छ । यो पुल निर्माणको समय भने सन् २०१७ को डिसेम्बरमै सकिएको थियो । यो आयोजना चालू आर्थिक वर्षदेखि काठमाडौं डिभिजनै मर्ज भएको छ ।

दिगो सहरीले गत साउन ३२ गते नै पहिलो पत्र पठाएर यो पुल सञ्चालन नगर्न अनुरोध गरेको थियो । बिमस्टेक सम्मेलनमा सवारीको चाप मिलाउनुपर्ने भएकाले केही समय पुल खुला गरेको भए पनि फेरि अघिल्लो शुक्रबार पत्र पठाएरै पुल सञ्चालनमा नल्याउन आग्रह गरिएको काठमाडौं डिभिजनले जानकारी दिएको छ ।

दिगो सहरीले २०७१ को असारमा टेकु–डल्लु पुल बनाउने जिम्मा पप्पुलाई दिएको थियो । यो पुलको काम सकिएको भन्दै जानकारी पप्पुले सवारी चलाउन सकिने बताएको भए पनि आयोजनाले भने पुललाई निर्माण सम्पन्न नभएको भन्दै रोकेको हो । आयोजनका तत्कालीन इन्जिनियर लालबहादुर नेपालीका अनुसार पप्पुले बनाएको यो पुलमा तोकिएको मापदण्ड कायम नभएको उल्लेख छ । विभागले यो पुल बनाउँदा गुणस्तरको निर्माण सामग्री प्रयोग नगरेको, आयोजनाको निर्देशन अटेर गरेको, जानकारी र अनुमति बिना काम गरेको बताएको छ । पुल डिजाइन तथा निरीक्षण गर्ने परामर्शदाताको कुनै पनि आग्रह वा निर्देशन पालना नगर्दा पुल कमजोर भएको दाबीसहित दिगो सहरीले काठमाडौं डिभिजनलाई सबै जिम्मेवारी हस्तान्तरण गरेको छ ।

आयोजनाका अधिकारीका अनुसार इन्जिनियरिङ भाषामा पप्पुको यो विष्णुमती पुलमा मिक्स डिजाइन भएको छैन । परामर्शतादाको सुझावअनुसार पुलमा ढलान गर्दा डिजाइन अनुसारको सामग्री प्रयोग नभएको र पुलमा प्रयोग भएको डण्डी पनि २ एमएम कमको प्रयोग गरेको दाबी गरिएको छ । डिभिजनले यो पुल भेरिफाइ र एप्रुभ नभएसम्म प्रयोग गर्न निमल्ने भनेर सवारी चलाउन अनुमति नदिएको बुझाइ इन्जिनियर गुरुङको छ । निर्माण व्यवसायीले आफ्नोतर्फबाट ठीक भएको प्रतिवेदन दिएको भए पनि यस विषयमा आवश्यक छानबिन आवश्यक भएको उल्लेख छ । अब यो पुलको विषयमा सडक विभागकै पुल महाशाखालाई विस्तृत विवरण बुझाइने भएको छ । महाशाखाले नै यसको विषयमा आवश्यक छानबिन गर्नेछ । यो आयोजानाले दिएको प्रगति विवरणअनुसार ५० प्रतिशत मात्रै काम सकिएको डिभिजनको भनाइ छ ।

एसियाली विकास बैंकको ऋण सहयोग कार्यान्वयन गर्न पाँच वर्ष अगाडि सरकारले काठमाडौं दिगो सहरी यातायात आयोजना स्थापना गरेको थियो । अरु काम पूरा भए पनि सोही आयोजनाले ठेक्का लगाएको पुल भने अझै अलपत्रकै सूचीमा छ ।

पप्पुले राष्ट्रिय राजमार्गसहित सडक र पुल गरी हाल ४० वटा आयोजनाको ठेक्का हात पारेको छ ।

संघीय समाजवादी फोरमका सांसद हरिनारायण रौनियारको कम्पनी पप्पु बारम्बार विवादमा आउनु र उसैले बनाएको पुल सञ्चालनमा रोक लाग्नुले यो कम्पनीको विश्वसनियतामा थप प्रश्न उब्जाएको छ । पप्पु कन्स्ट्रक्सनको अर्को उदाहरण तीन कुनेमा निर्धाणाधीन वाग्मती पुल पनि हो । ‘काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले २०७१ पुसमा ठेक्का लगाएको यो पुलको गत असार मसान्तमा निर्माण गर्नुपर्ने थियो । तर, यो पुलको काम भर्खर दायाँबायाँ वाल उठाउने बाहेक केही भएको छैन । यो पुल सडकको दुवैतर्फ हाल बिजुलीबजारमा बनिरहेको जस्तो नेटवर्क आर्क ब्रिज बन्नुपर्छ ।

पप्पुले राष्ट्रिय राजमार्गसहित सडक र पुल गरी हाल ४० वटा आयोजनाको ठेक्का हात पारेको छ । पप्पु वा यसले जेभीमा ठेक्का लिएका पुलमध्ये ३३ वटाभन्दा बढी पुल निर्माण सुरु भएकादेखि अन्तिम चरणमा पुगेर रोकिएकासम्म छन् ।

यस पुलमध्ये राष्ट्रिय राजमार्गमा निर्माण गरिरहेका सात पुलमध्ये पाँचवटा र स्थानीय सडकमा निर्माण गरेको २६ वटा पुलमध्ये १८ वटाको ठेक्का सम्झौता सकिएको छ । ठेक्का सम्झौता एक वर्ष अगाडिदेखि गत असार मसान्तसम्म सकिएका यस्ता सडक भौनिक प्रगति न्यून भएका कारण निर्माण नै अलपत्र छन् । सडक विभाग र अन्य निकायले ठेक्का लगाएका यस्ता पुलमा अधिकांश निर्माण अलपत्र रहेको छ ।

पप्पुले तोकिएको समयमा काम नगर्ने, राजनीतिक आठमा काममा ढिलासुस्ती गर्ने, धेरैवटा काम हातमा लिएका कारण एकपछि अर्को अलपत्र हुँदै जाने गरेको अवस्था देखिएको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका प्रवक्त विश्व विजयलाल श्रेष्ठले बताए । यही अयोजनाले वाग्मती पुल ठेक्का लगाएको हो ।

पप्पुले २१ करोड रुपैयाँमा ठेक्का लागेको तीन कुनेको यस वाग्मती पुलमा बनाउन ४२ महिनाको समय पाएको थियो । उक्त सयम गत असारमा सकिएको भए पनि अझैसम्म म्याद थप भएको छैन ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.