तीन वर्ष पनि टिकेन हुलाकी सडक

तीन वर्ष पनि टिकेन हुलाकी सडक

टीकापुर : कैलालीको सुदूरपूर्वी दक्षिणी भेगलाई पूर्वपश्चिम राजमार्गसँग जोड्ने लम्की–टीकापुर–खक्रौला हुलाकी सडकको अवस्था दयनीय बनेको छ। भारतीय कम्पनीले तीन वर्ष अगाडि कालोपत्रे गरेको हुलाकी सडकमा ठूल्ठूला खाल्डा परेपछि सडकको अवस्था दयनीय बनेको हो।

सडकमा परेका खाल्डामा वर्षाको पानी जमेपछि सडकको अवस्था यातायातका साधन चल्नै नसक्ने गरी बिग्रिएको छ। लम्कीदेखि टीकापुर हुँदै भारतीय सीमानाका खक्रौलासम्मको सडकको अवस्था दिनप्रति दिन बिग्रदै गइरहेको छ।

सडकको अवस्था बिग्रिए पनि मर्मत सम्भारमा सम्बन्धित निकायले ध्यान नदिएको भन्दै स्थानीयहरू आक्रोशित बनेका छन्। उनीहरूले स्थानीय सरकारले सडक मर्मतमा कुनै चासो नदिएको आरोप लगाएका छन्।

लम्कीदेखि टीकापुरसम्मको १४ किलोसिमटर सडकखण्डमा समेत अधिकांश ठाउँमा खाल्डा परेका छन्। लम्की नजिकैको अमौरी क्षेत्रको सडकमा खाल्डैखाल्डा छन्।

सडकमा खाल्डा परेपछि सवारी आवागमनमा कठिनाई भइरहेको छ। कालोपत्रे निर्माण सम्पन्न भएको तीन वर्ष नबित्दै सडकमा ठूला ठूला खाल्डा परेपछि विशेष गरी साना सवारी साधन बढी समस्यामा परेका छन्।

खाल्डा पुर्न बिछ्याइएको ग्राभेलका कारण पानी परेको दिन सडक हिलाम्मे बन्ने गरेको छ। सर्वसाधारणलाई हिँडडुलमा समेत निकै समस्या भइरहेको छ। ‘सडकभरि खाल्डैखाल्डा छ, हिँड्न सक्ने अवस्था छैन’ जानकी गाउँपालिका अमौराका पतिराम चौधरीले भने। ‘पानी परेको दिन त सवारी साधन यी खाल्डामा फस्ने गरेका छन्।’

सडक मर्मतका लागि स्थानीय सरकारले चासो नदिएको टीकापुरका नन्दबहादुर कार्कीले बताए। ‘सडकका विभिन्न भागमा खाल्डैखाल्डा छ’ कार्कीले भने। ‘यी खाल्डा त स्थानीय सरकारले मर्मतमा ध्यान दिनुपर्छ।’

लम्की–टीकापुर–खक्रौला सडक भारत सरकारको आर्थिक सहयोगमा कालोपत्रे भएको थियो। लम्कीदेखि खक्रौलासम्मको २७.६ किलोमिटर सडक भारतीय निर्माण कम्पनी जिआर गाभरले ३४ करोड रुपैयाँमा निर्माण गरेको हो। सडक निर्माणमा राईट्स लिमिटेडले परामर्शदाताको रुपमा काम गरेको थियो।

सडक कालोपत्रे भएपछि समेत परामर्शदाता कम्पनीले सडक मापदण्ड अनुसार कालोपत्रे नभएको भन्दै केही स्थानमा भत्काउन लगाएको थियो। सोही क्रममा टीकापुर बजार क्षेत्रमा रहेको झण्डै चार किलोमिटर कालोपत्रे भत्काइएको थियो। त्यसपछि भने परामर्शदाता कम्पनीले सडकको गुणस्तरीयतामा खासै चासो नदिइएको स्थानीयको भनाई छ।

हुलाकी सडकलाई पूर्वपश्चिम राजमार्गसँग जोड्ने उद्देश्यले सडक कालोपत्रे भएको हो। स्थानीयले दक्षिणी क्षेत्रलाई जोड्ने लिङ्क सडकको गुणस्तरीयतामा ध्यान दिन आग्रह गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.