समृद्ध नेपाल निर्माणका लागि सहकार्य गर्न मुख्यमन्त्री पौडेलको आग्रह

समृद्ध नेपाल निर्माणका लागि सहकार्य गर्न मुख्यमन्त्री पौडेलको आग्रह

हेटौंडा : प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले समृद्ध नेपाल निर्माणका लागि सरकारसँग सहकार्य गर्न सबै पक्षसँग आग्रह गरेका छन्।

चौथो संविधान दिवसको अवसरमा बुधबार हेटौंडामा आयोजित कार्यक्रममा मुख्यमन्त्री पौडेलले भने, ‘समृद्ध नेपाल निर्माणका लागि राजनीतिक दल, निजीक्षेत्र, सहकारी र नागरिक समाजलगायत सबै क्षेत्रलाई हातेमालो गर्न अनुरोध गर्छु।’

सम्मानसाथ जीवनयापन गर्ने लक्ष्य पूरा गर्न संविधानले लिएको मार्गदर्शनलाई आत्मसात् गर्नुपर्नेमा उनले जोड दिए। ‘संविधानले सभ्य, सुसंस्कृत र एउटा आदर्श समाज निर्माणका लागि मार्गदर्शन गर्छ र ती मार्गदर्शनलाई आत्मसात् गर्न सकियो भने मात्र हामीले समृद्ध राष्ट्र निर्माण गर्न सक्छौं’, पौडेलले भने। संघीय राज्य प्रणालीमार्फत राष्ट्रिय एकता सुदृढीकरण गर्न, सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागितामा दिगो आर्थिक विकासको लक्ष्य हासिल गर्न संविधानले मार्गप्रशस्त गरेको उनले बताए।

मुख्यमन्त्री पौडेलले नेपालको सन्दर्भमा संघीय राज्यप्रणाली नयाँ प्रयोग भए पनि यसको सफल अभ्यासमार्फत जनतालाई यथासम्भव उनीहरूको निकटबाट सेवा र विकासको प्रवाह गर्ने प्रदेश सरकारको लक्ष्य रहेको स्पष्ट पारे। ‘संविधानले संघ, प्रदेश र स्थानीय तहबीचको सम्बन्धलाई सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित हुने गरी दिशानिर्देश गरेकाले सोहीअनुसार काम गरिरहेका छौं’, उनले भने।

प्रदेश तहमा केन्द्रीय संरचना निर्माण सम्पन्न

मुख्यमन्त्री पौडेलले प्रदेशसभा र प्रदेश सरकारले काम सुरु गरेको ६ महिनाको बीचमा प्रदेश तहमा केन्द्रीय संरचना निर्माण सम्पन्न गरेको जानकारी दिए। ‘सरकारको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र वार्षिक बजेट तर्जुमा गरी प्रदेशसभाबाट स्वीकृतिसमेत प्राप्त गरी कार्यान्वयनको चरणमा पु¥याएको छ’, उनले भने, ‘प्रदेश तहबाट निर्माण गर्नुपर्ने कानुन पहिचान गरी प्रत्येक मन्त्रालयमार्फत कानुन निर्माण गर्ने कार्यलाई तीव्रतासाथ अगाडि बढाइरहेका छौं।’

साझा अधिकार सूचीभित्र रहेका विषयमा कानुन निर्माण गर्न नेपाल सरकारसँग समन्वय गरिरहेको बताउँदै पौडेलले प्रदेश मन्त्रालयअन्तर्गतका संरचनालाई अन्तिम रूप दिन गृहकार्य भइरहेको जानकारी दिए। ‘प्रदेश सरकारमार्फत हुने विकास निर्माणका काम अघि बढिसकेकाले केही समयमै तीव्र रूपमा गति लिने जानकारी गराउँछु’, उनले भने।

प्रदेशस्तरीय मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री पौडेलले जनआन्दोलन ०६२÷६३ का सहिद वासुदेव घिमिरेका परिवार र सशस्त्र जनयुद्धका समयमा राज्यपक्षबाट हत्या गरिएका तत्कालीन नेकपा माओवादीका नेता रुद्र पाख्रिनकी धर्मपत्नी राममायालाई सम्मान गरेका थिए।

यसैबीच, प्रदेश ३ की प्रमुख अनुराधा कोइरालाले अनअपेक्षाअनुसार काम गर्न सम्बद्ध पक्षलाई आग्रह गरेकी छन्।संविधान दिवसको अवसरमा प्रदेश प्रमुखको कार्यालयमा बुधबार आयोजित शुभकामना तथा चियापान कार्यक्रममा उपस्थितहरूलाई शुभकामना व्यक्त गर्दै कोइरालाले जनअपेक्षाअनुसार काम गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिइन्।

कार्यक्रममा ३ नम्बर प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेल, भौतिक पूर्वाधार विकासमन्त्री केशव स्थापित, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपाल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामा, सामाजिक विकासमन्त्री युवराज दुलाल, प्रदेश सरकारका प्रमुख सचिव आनन्दराज ढकाललगायत सहभागी थिए। कार्यक्रमअघि निस्किएको र्यालीले हेटौंडा बजार परिक्रमा गरेको थियो।

 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.