नयाँ संहिताले सम्बन्ध विच्छेदमा पुरुषलाई सजिलो

नयाँ संहिताले सम्बन्ध विच्छेदमा पुरुषलाई सजिलो

श्रीमतीले मानसिक तथा शारीरिक यातना दिएको भन्दै भदौ दोस्रो साता काभ्रे, बेथाञ्चोक गाउँपालिका-५ का ३२ वर्षीय नरेश वाइबाले सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरे। जिल्ला अदालत धुलिखेलमा दायर मुद्दामा लामो समयदेखि श्रीमती आफूसँग सम्पर्कमा नरही माइतीमा बस्दै आएको उनले उल्लेख गरेका छन्।

१५ वर्षअघि वैवाहिक सम्बन्धमा बाँधिएका उनी अहिले त्यसलाई टुटाउन मुद्दा दर्ता गर्दा खुशी देखिए। 'बल्ल न्याय पाउने आश पलायो,' भाइलाई साथमा लिएर आएका वाइबाले मुस्कुराउँदै भने। भदौ १ गतेदेखि कार्यान्वयनमा आएको परिवर्तित 'मुलुकी देवानी संहिता'ले सम्बन्ध विच्छेदका लागि श्रीमान्लाई पनि बाटो सजिलो बनाइदिएको थाहा पाएर आफू अदालत आएको उनको प्रतिक्रिया थियो। 

काभ्रेका वाइबाकै बाटो पछ्याए, काठमाडौँका अनिल मर्हजन, शिशिरप्रसाद नेपाल, भेषबहादुर बुढा, कमल अर्याल, दिवस गुरुङ, सरोज केसी लगायतले पनि। संहिता लागू भएको पहिलो महिनामै काठमाडौँ उपत्यकाका ८० पुरुष श्रीमतीबाट छुटकारा पाउन अदालत पुगेका छन्।

यसअघि सम्बन्ध विच्छेदका लागि बिरलै अदालतसम्म आइपुग्ने पुरुष, संहिताले खोलिदिएको बाटो प्रयोग गर्दै श्रीमतीबाट टाढिन आतुर रहेको आँकडाले देखाएका छन्। उपत्यकामा मात्रै एक महिनामा यत्रो संख्यामा सम्बन्ध विच्छेदका मुद्दा दर्ता हुनुले श्रीमती छाड्ने पुरुषको हतारो प्रकट भएको छ। अवस्था उपत्यकाबाहिर पनि उस्तै छ। 

संहिताले सजिलो
रूपन्देहीको तिलोत्तमा नगरपालिका-३ का पुष्कर पाण्डेले जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दायर गरेका छन्। १५ वर्षअघि बिहे गरेका पाण्डे दम्पतीको १४ वर्षीया छोरी छिन्। बिहे गरेको चार÷छ महिनामै खटपट सुरु भएको उनीहरूको सम्बन्ध विभिन्न उतारचढावबीच १५ वर्ष टिक्यो। 

सम्बन्ध विच्छेदका लागि भदौ ३ गते जिल्ला अदालत रूपन्देहीमा मुद्दा दर्ता गरेका उनी यो अवधिमा श्रीमतीका कारण तनाव मात्रै झेलेको बताउँछन्। पाण्डे भर्खरै लागू भएको मुलुकी संहिताले आफूजस्ता 'पत्नीपीडित'लाई न्याय दिएकोमा खुशी छन्। 'महिला वा पुरुष जोसुकै भए पनि आफ्नो जिन्दगी स्वतन्त्रतापूवर्क बाँच्न पाउनुपर्छ,' उनले 'सम्पूर्ण'सँग भने, 'अहिलेको कानुनले मजस्ता पत्नीपीडितलाई न्याय दियो।'

पहिलेको मुलुकी ऐनमा पनि पुरुषले सम्बन्ध विच्छेद गर्न सक्ने व्यवस्था थियो। तर, त्यसको प्रक्रिया अलिक झन्झटिलो थियो। तत्कालीन स्थानीय निकाय (गाविस र नगरपालिका) ले श्रीमान्-श्रीमतीबीच मेलमिलाप गराउन नसकी अदालत जान सिफारिस गरिदिएको खण्डमा मात्रै सम्बन्ध विच्छेदको मुद्दा अदालतमा प्रवेश गराउन पाइन्थ्यो।

सम्बन्ध विच्छेदका लागि अदालतमा मुद्दा दायर गरेका अधिकांश पुरुषले श्रीमती साथमा नबसेको, मानसिक यातना दिएको, कमाएको पैसा दुरुपयोग गरेको कारण उल्लेख गरेका छन्।

त्यो पनि श्रीमतीको मञ्जुरी र यथेष्ट प्रमाणबिना सम्भव नहुने भएकाले अधिकांश पुरुषले सम्वन्ध विच्छेदका लागि अदालती बाटो रोज्दैन थिए। 'अहिले सम्बन्ध विच्छेद गर्ने पुरुषको संख्या ह्वात्तै बढ्नुमा संहिताले ल्याइदिएको सजिलो कारक भएको छ,' जिल्ला अदालत ललितपुरका स्रेस्तेदार चन्द्रप्रसाद तिवारी भन्छन्, 'अहिले मुलुकी संहिताले सीधै अदालत गएर पुरुषले पनि सम्बन्ध विच्छेदका मुद्दा दर्ता गर्न पाउने बाटो खोलिदिएको छ।' उनी पहिलेको प्रक्रिया लामो र झन्झटिलो भएको बताउँदै थप्छन्, 'पहिले स्थानीय निकायमा मुद्दा सल्टाउन एक÷डेढ वर्षसम्म समय लाग्थ्यो। त्यहाँ नमिलेपछि बल्ल अदालत जान पाइन्थ्यो, त्यो पनि महिलाले नचाहेको अवस्थामा मुद्दा दर्ता गर्न सक्ने अवस्था नै थिएन।'

दिनदिनै मुद्दाको चाङ 
कानुनका जानकारहरूका अनुसार संहिताले पुरुषलाई सम्बन्ध विच्छेदका लागि सहज बाटो दिएको छ। मुलुकी देवानी संहिता लागू भएको पहिलो महिनामै सम्बन्ध विच्छेद गर्न पुरुषहरू उत्साहित देखिए। अधिकांश ग्रामीण भेग रहेको प्रदेश नं. ५ मा संहिता लागू भएको १० दिन नबित्दै ४३ पुरुषबाट सम्बन्ध विच्छेदका लागि अदालतमा मुद्दा दायर भए।

प्रदेशको पाल्पा जिल्ला अदालतमा संहिता लागू भएको पहिलो दिनमै दुई जना पुरुषले सम्बन्ध विच्छेदका लागि मुद्दा दायर गरे। १२ जिल्ला रहेको प्रदेशका अधिकांश जिल्लामा सम्बन्ध विच्छेद गर्न चाहने पुरुष देखिए। पहिलो सातामै सबैभन्दा बढी रूपन्देहीमा ११ र दाङमा आठ पुरुषले श्रीमतीसँग अलग हुन सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरे। 

सम्बन्ध विच्छेद गर्न चाहने पुरुषको संख्या दिनानुदिन बढिरहेको छ। जिल्ला अदालत काठमाडौँका अनुसार भदौ महिनामा जिल्लामा कुल १ सय ५९ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भए। त्यसमा ५८ जना पुरुषले मुद्दा दायर गरेका छन्। ललिपुर जिल्ला अदालतमा २० जनाले सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेकामा १० जना पुरुष छन्। 

त्यस्तै, भक्तपुरमा ३५ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएको र त्यसमा १२ जना पुरुष रहेको जिल्ला अदालत भक्तपुरले जानकारी दियो। त्यसै गरी, दोलखा, मकवानपुर, काभ्रेपलाञ्चोक आदि जिल्लामा पनि सम्बन्ध विच्छेद गर्न अदालतसम्म धाउने पुरुष धेरै रहेको पाइएको छ। 

देशभरि सम्बन्ध विच्छेदका बढ्दो मुद्दाले पुरुष नयाँ कानुनको पर्खाइमा रहेको देखाउने काठमाडौँ जिल्ला अदालतका स्रेस्तेदार टीकासिंह खत्री बताउँछन्। 'हालसम्म सम्बन्ध विच्छेद गर्न आएका सबै पुरुषले पहिलेको कानुन अप्ठ्यारो भएको र नयाँ कानुन पर्खेर बसेको बताएका छन्,' खत्री भन्छन्।
 
आरोप अनेक 
सम्बन्ध विच्छेदका लागि अदालतमा मुद्दा दायर गरेका अधिकांश पुरुषले श्रीमती साथमा नबसेको, मानसिक यातना दिएको, कमाएको पैसा दुरुपयोग गरेको कारण उल्लेख गरेका छन्। 

काठमाडौँका दिवस गुरुङले सम्बन्ध विच्छेदका लागि दायर गरेको मुद्दामा पत्नीले घरव्यवहार नधानेको, सम्पत्ति हिनामिना गरेको र मानसिक 'टर्चर' दिएकाले आफू अलग हुन चाहेको उल्लेख गरेका छन्। 

रूपन्देहीको तिलोत्तमा नगरपालिका-३ का पुष्कर पाण्डे आफूले जीवनकै अप्ठ्यारो क्षणमा पनि श्रीमतीको साथ नपाएको बताउँछन्। 'सात वर्षअघि वीर अस्पतालमा मेरो ढाडको शल्यक्रिया भएको थियो,' उनी भन्छन्, 'म ४५ दिन अस्पताल बसेँ। जीवन-मरणको दोसाँधमा हुँदा उनी एक पटक पनि अस्पताल आइनन्, मलाई भेट्न। एक कल फोनसमेत गरिनन्।' 

भक्तपुर जिल्ला अदालतका अनुसार अधिकांश पुरुषले श्रीमती लामो समयदेखि साथमा नबसेकाले छुट्टिन चाहेका छन्। काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गर्नेहरूले पनि त्यस्तै कारण उल्लेख गरेका छन्। 'मुद्दा दायर गर्ने धेरै पुरुषले श्रीमती आफूसँगै नबसेको, विदेश गएका बेला सम्पत्ति हिनामिना गरेको र अर्कैसँग सल्केको आरोप लगाएका छन्,' स्रेस्तेदार खत्रीले भने। 

८२ वर्षीय पनि सम्बन्ध विच्छेदतिर 
मुलुकी देवानी संहितामा रहेको सम्बन्ध विच्छेदको खुकुलोपनमाथि टेकेर दोलखाका ८२ वर्षीय वृद्ध दधिराम खड्का (नाम परिर्वतन) ले पत्नीसँग सम्बन्ध विच्छेद गरिपाऊँ भनेर मुद्दा दर्ता गराएका छन्। उनकी श्रीमती अहिले ७६ वर्षकी भइन्।

ती वृद्धवृद्धा करिब १० वर्ष अलग्गिएर बसे। पछिल्ला पाँच वर्षदेखि दुवै जना सँगै रहे पनि उनीहरूबीच बोलचाल थिएन। 'नयाँ कानुन कुरेर बसेको थिएँ,' मुद्दा दर्ता गर्न जिल्ला अदालत पुगेका खड्काले भने, '८२ वर्षको उमेरमा आएर बल्ल इच्छा पूरा हुने भयो।'

त्यस्तै, दाङका एक जना ७४ वर्षीय वृद्धले पनि श्रीमतीसँग सम्बन्ध विच्छेदका लागि अदालतमा मुद्दा दायर गरेका छन्। उपत्यकाका तीनटै जिल्ला अदालतमा पनि बुढेसकालमा सम्बन्ध विच्छेदको मुद्दा दायर गर्नेहरूको संख्या उल्लेख्य छ। '६० वर्ष कटेकाले पनि मुद्दा दायर गरेका छन्,' काठमाडौँ जिल्ला अदालतका स्रेस्तेदार खत्रीले भने, 'बुढेसकालमा छुट्टिएर स्वतन्त्र बस्ने रहर भएका थुप्रै पुरुष देखिए।'

इन्ट्रोः परिवर्तित मुलुकी देवानी संहिताले पुरुषलाई सम्बन्ध विच्छेदका लागि सहज बनाइदिएपछि रूपन्देही, तिलोत्तमा नगरपालिका- ३ का पुष्कर पाण्डेले जिल्ला अदालतमा मुद्दा दायर गरेका छन्।  

'१५ वर्ष तनावमै बित्यो'

तपाईंको  बिहे  कहिले भयो ?
हाम्रो विवाह भएको अहिले १५ वर्ष भयो। २०६० सालमा मागी बिहे भएको थियो। 

परिवारको दबाबमा कि राजीखुशी बिहे गर्नुभएको थियो ? 
बिहेको कुरा घरका मान्छेले चलाएका थिए। पछि हाम्रो भेटघाट भयो अनि मन पराएरै बिहे गरेका थियौँ। 

तपाईंहरूका सन्तान छन् ? 
एउटी छोरी छिन्, १४ वर्षकी। १० कक्षामा पढ्दै छिन्। 

तपाईंहरूको सम्बन्ध कसरी बिग्रियो ?
बिहे गरेको चार÷छ महिनापछि नै हामीबीच ठाकठुक पर्न थालेको थियो। केही समयपछि म वैदेशिक रोजगारीमा गएँ। उनी माइत बस्न थालिन्। घरप्रतिको  जिम्मेवारी पूरा गरिनन्। छोरी जन्मेपछि घरमै बस्नुपर्छ भन्दा पनि उनले मानिनन्। उनको माइती गुल्मी हो। म विदेशबाट बिदामा घर आउँदा पनि उनी घर आइनन्। 

यसमा तपाईंकै गल्ती वा कमजोरी पो थियो कि ?
मैलै जानी-जानी त्यस्तो केही कमजोरी गरेको छैन। सात वर्षअघि वीर अस्पतालमा मेरो ढाडको अपरेसन भएको थियो। ४५ दिन अस्पताल बसेँ। जीवन-मरणको दोसाँधमा हुँदा उनी एक पटक पनि अस्पताल आइनन्, मलाई भेट्न। एक कल फोनसमेत गरिनन्। जिन्दगीकै कठिन घडीमा पनि मैले श्रीमतीको साथ, सहयोग र सहानुभूति पाइनँ। 

छोरीको भविष्य बिग्रन्छ भनेर सम्झाउनुभएन ?
मैले धेरै पटक सम्झाएँ। छोरीको भविष्यका लागि भए पनि हामी मिलेर बसौँ भनेँ। उनलाई यस्तो कुराले छुँदै छोएन। एकतर्फी प्रयासले मात्रै सम्बन्ध नटिक्दो रहेछ। 

अहिले सँगै  बसिरहनुभएको छ  कि छुट्टै ?
विदेश गएर कमाएको पैसाले नयाँ घर बनाएको छु। अहिले त्यहाँ छोरी र श्रीमती बस्छन्। नयाँ घरमा मिलेर बसौँला भन्ने सोचेको थिएँ। तर, त्यस्तो भएन। अहिले म डेरा लिएर एक्लै बसिरहेको छु। 

अरू के-के अप्ठ्यारा भोगियो ?
स-साना कुरामा शंका गर्ने उनको बानी छ। मैले कुनै महिलासँग बोल्नै नहुने ! उनले मानसिक 'टर्चर' दिइन्। म त उहिले नै सम्बन्ध विच्छेद गरेर स्वतन्त्र जीवन बाँच्न चाहन्थेँ। तर, कानुन हामी पत्नीपीडित पुरुषका लागि सजिलो खालको थिएन। १५ वर्ष तनावमै बित्यो। अहिले आएर बल्ल सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेको छु।
 
नयाँ कानुनले तपाईंलाई सजिलो बनाइदियो, हैन ?
महिला वा पुरुष, जोसुकै भए पनि आफ्नो जिन्दगी स्वतन्त्रतापूवर्क बाँच्न पाउनुपर्छ। अहिलेको कानुनले मजस्ता पीडितलाई न्याय दिएको छ। 

दर्ता गरेको मुद्दामा तपाईंको खास के माग छ ?
हामी चार भाइ छौँ। एक जना छुट्टिसक्नुभएको छ। हामी अहिले तीन भाइ सँगै छौँ। मैले किनेको जग्गा श्रीमतीकै नाममा दर्ता गरिदिएको थिएँ। नयाँ घर त्यही जग्गामा छ। अंशसहित श्रीमतीसँग सम्बन्ध विच्छेदका लागि अदालतमा मुद्दा दर्ता गरेको छु। न्याय पाउँछु भन्ने विश्वास छ। 

सम्बन्ध विच्छेद : पहिले र अहिले

पहिले 
मलुकी ऐनअनुसार श्रीमतीले श्रीमान्लाई निजको मञ्जुरीबिना लगातार तीन वर्ष वा सोभन्दा बढी समय छोडी अलग बस्ने गरेमा, श्रीमान्को ज्यान जाने, अंगभंग हुने वा अरू कुनै ठूलो शारीरिक÷मानसिक कष्ट हुने किसिमको काम गरेमा, श्रीमतीलाई  निको नहुने यौनसम्बन्धी कुनै रोग लागेमा वा श्रीमतीले परपुरुषसँग शारीरिक सम्पर्क राखेको ठहरिएमा त्यस्ती श्रीमतीसित श्रीमान्ले तत्कालीन सम्बन्धित गाउँ विकास समति वा नगरपालिकामा सम्बन्ध विच्छेदका लागि निवेदन दिन पाउँथे। 

गाविस वा नगरपालिकाले श्रीमान्-श्रीमतीलाई सम्झाइबुझाइ मिलापत्र गराउन कोसिस गथ्र्याे। मेलमिलाप हुन नसके र विवाह कायम राख्नुभन्दा सम्बन्ध विच्छेद गराउनु उचित देखिएमा निवेदन परेको एक वर्षभित्र स्थानीय निकायले सम्बन्ध विच्छेदका लागि जिल्ला अदालतमा सिफासिर गर्नुपथ्र्यो। दुवै पक्ष सम्बन्ध विच्छेदका लागि सहमत भएको बाहेक अन्य अवस्थामा एक वर्षसम्म मिलापत्रका लागि स्थानीय निकायमै प्रयास गरिन्थ्यो। पुरुष आफूले सम्बन्ध विच्छेद गर्न चाहेमा श्रीमतीलाई अंश दिनु त पथ्र्यो नै महिलाले श्रीमान्सँग सम्बन्ध विच्छेद माग्दा पनि श्रीमान्ले नै उनलाई सम्पत्तिसहित दिनुपर्ने, माना चामल भर्नुपर्ने व्यवस्था थियो ।

अहिले 
मुलुकी देवानी संहिताअनुसार पतिको मञ्जुरी नलिई पत्नी लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा, पत्नीले खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा, पतिको अंगभंग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल-प्रपञ्च गरेमा र पत्नीले अन्य पुरुषसँग यौन सम्बन्ध राखेको ठहरेमा पतिले सम्बन्ध विच्छेद गर्न पाउँछन्। 

सम्बन्ध विच्छेदका लागि अहिले पुरुषले सीधै अदालतमा मुद्दा दायर गर्न पाउँछन्। अदालतले दुवै पक्षलाई भरसक सम्झाइबुझाइ मेलमिलाप गराउनु पर्नेछ। मेलमिलाप नभएमा निवेदन परेको एक वर्षभित्र अदालतले सम्बन्ध विच्छेद गराइदिनुपर्नेछ।

खान लगाउन नदिएको वा घरबाट निकाला गरिदिएको, श्रीमान्को अंगभंग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम गरेको र अन्य पुरुषसँग यौन सम्बन्ध राखेको ठहरेमा त्यस्ती पत्नीसँग सम्बन्ध विच्छेद गर्दा अंश दिन वा खर्च भराउन श्रीमान् बाध्य हुँदैन। 

उपत्यकामा भदौमा दर्ता भएका सम्बन्ध विच्छेदका मुद्दा
जिल्ला    कुल मुद्दा    पुरुष    महिला
काठमाडौँ    १५९    ५८    १०१
ललितपुर    २०    १०    १०
भक्तपुर    ३५    १२    २३

स्रोतः काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला अदालत


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.