सम्पदा पुनर्निर्माण कार्य सुस्त
काठमाडौं : पशुपतिनाथ क्षेत्रमा रहेका सम्पदाको पुनर्निर्माण कार्य सुस्त छ । श्लेषमान्तक वनसँग जोडिएका १५ शिवालयका मन्दिरको क्षेत्र भासिएको पशुपति क्षेत्र विकास कोषको भनाइ छ । तर त्यसको संरक्षणमा कसैको ध्यान गएको छैन । सत्तल बने पनि विश्वरूपा मन्दिरको पुनर्निर्माण पनि अघि बढ्न सकेको छैन ।
भूकम्पले क्षति पुर्याइयाएको तीन वर्षभन्दा धेरै भइसक्दा पनि जयवागेश्वरी मन्दिर क्षेत्र, मन्दिर क्षेत्रमा रहेका सम्पदा, गौरीघाट क्षेत्रमा रहेका वज्रघर र पञ्चदेवल, गुह्येश्वरी मन्दिर क्षेत्रका सम्पदा पुनर्निर्माण अघि बढ्न सकेको छैन । बजेट भए पनि परामर्शदाता, प्राविधिक जनशक्ति र उचित समन्वय अभावमा पुनर्निर्माणका धेरै काम अघि बढाउन नसकिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले बताए ।
गत वर्ष पशुपति क्षेत्रको पुनर्निर्माणका लागि २० करोड रुपैयाँ विनियोजन गरिएको थियो । ‘पुनर्निर्माण गर्छु भनेर ठाउँ ओगट्ने तर निर्माण नगर्नेसँग पनि हामीले सम्झौता तोडेर आफैं बनाउने निर्णय गरेका छौं’, ढकालले भने, ‘पुनर्निर्माण अघि बढाउन पनि त्यसको विकल्प देखिएन ।’ मन्दिरको जीर्णाेद्धार र संरक्षण आवश्यक रहेको उनको भनाइ छ ।
सत्तल बने पनि विश्वरूपा मन्दिरको पुनर्निर्माण पनि अघि बढ्न सकेको छैन ।
२०४६ सालमा बनेको गुरुयोजना कार्यान्वयन हुन नसकेको कोषले बताएको छ । २०५६ सालको योजना पनि अपेक्षाकृत रूपमा अघि बढ्न सकेन । हाल कोषसँग पशुपतिनाथ क्षेत्रको दीर्घकालीन विकास योजना नहुँदा योजनाबद्ध किसिमले यहाँका मन्दिरको संरक्षण गर्न नसकिएको हो ।
गुरुयोजना बनाउने प्रक्रिया सुरु गरेको र त्यसलाई सबै पक्षको सहयोग एवं सुझावमा अन्तिम रूप दिइने डा. ढकालले बताए । नेपाल सरकारअन्तर्गतका नापी विभाग, वातावारण विभाग, त्रिभुवन विश्वविद्यालय, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायतसँगको सहकार्यमा गुरुयोजना बनाउने प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए ।
पशुपति क्षेत्र विकास कोषसँगको छलफलमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पबाट क्षतिग्रस्त संरचना पुनर्निर्माणमा मौलिक शैली, प्रविधि र निर्माण सामग्रीको प्रयोगका लागि प्राधिकरणले आवश्यक पुरातŒवविद् तथा इन्जिनियरिङ जनशक्तिलगायतमा सहयोग गर्ने आश्वासन दिएका छन् ।
गौशालादेखि जयवागेश्वरी, जयवागेश्वरीदेखि गुह्येश्वरी, गुह्येश्वरीदेखि एयरपोर्ट र एयरपोर्टदेखि गौशालाको क्षेत्रलाई समेटेर गुरुयोजना बनाउन ज्ञवालीले सुझाए ।