साउदीमा महिला सहभागिता बढ्दै
रियाद : साउदी अरेबियाको सञ्चार क्षेत्रमा महिलाको सहभागिता बढ्न थालेको छ। साउदीको इतिहासमा महिलाद्वारा साँझको समाचार वाचन नहुने गरेकोमा वेयम अल ढखिलले साउदी टेलिभिजन च्यानल–१ मा समाचार वाचन गरी सञ्चारमाध्यममा साउदी महिलाको आकर्षण बढेको पुष्टि गरेकी हुन्।
ढखिलले राज्य सञ्चालित साउदी टेलिभिजन च्यानलका समाचार वाचक ओमार अल नशवानको छेउमा बसी शनिबार साँझको बुलेटिन पढेको यहाँको खलिज टाइम्सको आइतबारको अंकमा उल्लेख छ। जमुना अलशामी दुई वर्ष पहिले अर्थात् सन् २०१६ मा साउदीमा बिहानको समाचार वाचन गर्ने पहिलो महिला बनेकी थिइन्।
साउदी टिभीको आधिकारिक ट्विटर च्यानलमार्फत ढखिल पहिलो रात्रि बुलेटिन प्रस्तोता बनेको भनी उल्लेख गरिएको छ। महिलामाथिका प्रतिबन्धलाई खुकुलो पार्ने र राजतन्त्रात्मक मुलुकको अर्थतन्त्रलाई ऊर्जा बाहेकका क्षेत्रबाट योगदान गर्ने साउदी अरेबियाज भिजन २०३० सुधार कार्यक्रमअन्तर्गत पछिल्ला दिनमा यहाँको प्रशासनले कडा नियमलाई केही खुकुलो पार्दै लान थालेको छ। साउदी अरेबियाका राजकुमार मोहम्मद विन सलमानले गत वर्षदेखि महिलाको सहभागितालगायतका विषयमा रहेको कडा नियम हटाउन शुरु गरेका हुन्।
केही साता पहिले रियादस्थित फ्लाइनस विमान कम्पनीले साउदी महिलालाई सार्वजनिक क्षेत्रमा प्रोत्साहन गर्ने कार्यक्रम स्वरूप विमानको सहचालक तथा परिचारिका भर्ना गर्ने बताएको थियो। जुन महिनादेखि साउदी महिलाले सवारी चलाउन पाउने कानुन बनाइएको थियो। यसपूर्व साउदी महिलालाई निजी वा सार्वजनिक कुनै कार वा गाडी चलाउन रोक लगाइएको थियो।
गत मार्चमा साउदी अरेबियाले इतिहासमै पहिलोपटक महिला तथा किशोरीहरूको दौडको आयोजना गरेको थियो। यस पहिले साउदीमा खेलकुद क्षेत्रमा महिलाले सहभागिता जनाउँदैनथे। ऐतिहासिक पहिलो दौड प्रतियोगितामा १ हजार ५ सय महिलाले सहभागिता जनाएका थिए।
प्रतिक्रिया दिनुहोस !