किन गए सिरियाली विद्रोहीले कब्जा गरेको ठाउँमा टर्कीका सैनिक ?

किन गए सिरियाली विद्रोहीले कब्जा गरेको ठाउँमा टर्कीका सैनिक ?

इदलिब : टर्कीले सिरियाको विद्रोहीको कब्जामा रहेको इदलिब प्रान्तमा मंलबार थप सैनिक पठाएको छ। टर्की र रूसबीच इदलिबमा तत्काल सैन्य कारबाही नगर्ने सहमति भएलगत्तै टर्कीले इदलिबमा सैनिक तैनाथी बढाएको हो।

इदलिबको दक्षिणमा रहेको साराकिब सहरको मुख्य सडकमा करिब ३५ वटा सैनिक गाडी प्रवेश गरेका थिए। सैनिक सवारीलाई टर्की निकटस्थ नेशनल लिबरेसन फ्रन्ट (एनएलएफ) समर्थक विद्रोहीले पनि सुरक्षा दिएका थिए। यी विद्रोहीले टर्कीसँगको सिमानाका केही सिरियाली क्षेत्रमा नियन्त्रण गरिरहेका छन्। गत वर्षदेखि टर्कीले विद्रोही इलाकामा १२ वटा अनुगमन स्थलहरूमा सैनिक तैनाथ गरेको छ। टर्की, रूस र इरानबीचको सहमतिमा टर्कीले यी सैन्यचौकी राखेको छ।

गत साता टर्की र रूसले गैरसैनिक क्षेत्र निर्माण गर्नेसम्बन्धी सम्झौता गरेका थिए। सिरियाको पूर्व अलकायदासँग निकटस्थ जिहादी गठबन्धन हायात तहरिर अल–शामले विद्रोही क्षेत्रको आधाभन्दा बढी भूभाग कब्जामा राखेको छ भने एनएलएफका लडाकुले बाँकी क्षेत्रमा कब्जा गरेका छन्। 

पछिल्लो सम्झौतामा विद्रोहीले अक्टोबर १० भित्र आफूसँग रहेका सबै भारी हातहतियार टर्कीलाई सुम्पने तथा अक्टोबर १५ भित्रमा सबै अतिवादी क्रियाकलाप बन्द गर्ने उल्लेख छ। सम्झौतामा टर्की र रूसी सेनाले गैरसैनिक क्षेत्रमा गस्ती गर्ने उल्लेख छ। सन् २०११ मा शुरु भएको सिरियाको गृहयुद्धमा ३ लाख ६० हजारभन्दा बढी मानिस मारिनुका साथै करोडौं मानिस विस्थापित भएका छन्।

बेबारिसे घरमा सिरियाली बालबालिकाको पढाइ

विद्रोहीको कब्जामा रहेको उत्तरी सिरियामा विस्थापित बालबालिका एउटा बेबारिसे घरको भुइँमा बसेर कापीमा केही लेख्दै गरेका भेटिन्छन्।द्वन्द्वका कारण स्कुल भत्किएपछि चारजना शिक्षकले एक सयजति बालबालिकालाई यही अस्थायी स्कुलमा पढाउन थालेका हुन्। स्कुलमा अहिले ५ देखि १२ वर्ष उमेरका बालबालिका अध्ययनरत छन्। उत्तरी अलेप्पो प्रान्तको पश्चिमतर्फको यो सानो स्कुलमा केटाकेटी पढाउने प्रयास अहिले जारी छ। 

आधा निर्माण सकिएपछि त्यसै अलपत्र परेको यो घरको भुइँमा केटाकेटी सुकुलमै बस्छन्। उनीहरूले कापी किताब राख्ने स–साना झोला साथमै राखेको देख्न सकिन्छ। के गर्नु, ‘भविष्यका कर्णधार’का रूपमा लिइने साना बालबालिका पढ्ने यो स्कुलमा डेस्क, पुस्तकालय वा शौचालय छैन। यहाँ घरको वरिपरिको पर्खालमा लथालिङ्ग झुन्डिएका झ्यालबाट बाहिरको तातो हावा भित्रसम्म पुग्छ। चम्किलो नीलो टिसर्ट र जिन्समा सजिएकी एक बालिकाको कपाल राम्रोसँग बाटिएको छ। उनी किताबमा मग्न मात्र होइन लेखाइमा पनि उत्तिकै होसियार छिन्।

 ‘यो स्कुल होइन’, ११ वर्षका अली अब्देल जवाद भन्छन्, ‘यहाँ कक्षाकोठा छैन, बस्ने सिट छैन, केही पनि छैन। हामी त यहाँ भुइँमा बसेर पढिरहेका छौं।’ एउटा कक्षाकोठामा घुँघट ओढेका ससाना बालिका हाँसो गरिरहेका छन्। शिक्षकले भने मुश्किलले व्यवस्था गरिएको बोर्डमा लेखेर पाठ पढाउँदै छन्। अर्को कोठामा स्कुलकी एकमात्र शिक्षिका प्लास्टिक कुर्चीमा बकेकी छन््। उनका वरिपरि भित्तामा अडेस लागेर एक हुल केटाकेटी केही सिक्दै छन्।

केही बालबालिका प्लास्टिकबाट बनाइएको कार्पेटमा घुँडाले टेकेर बसेका छन्। कार्पेटको छेउमा उनीहरुका जुत्ता राम्रोसँग मिलाएर राखिएको छ। बालबालिका र शिक्षक सिरियाकै अर्को ठाउँबाट विस्थापित भएर यहाँ आइपुगेको एकजना शिक्षकले बताए। केही राजधानी दमास्कसको बाहिरी क्षेत्र पूर्वी घोउटाबाट यहाँ आइपुगेका छन्। विगतमा विद्रोहीको कब्जामा रहेको घोउटा गत अप्रिलदेखि सरकारको नियन्त्रणमा छ। अरू हामा वा होम्स प्रान्तबाट आएका छन्। यो घरको बाहिर आँगनमा एउटा फोहरासमेत जडान गरिएको छ तर यसमा पानी छैन। यो फोहरा केटाकेटीका लागि घुमीघुमी खेल्ने ठाउँ भएको छ।

विपक्षीको अधीनमा रहेका क्षेत्रमा सञ्चालित स्कुलहरूका लागि सामान्यतया दातृ संस्थाहरूले सहयोग गरिरहेका छन् तर विगतमा यस्ता धेरै स्कुलमा बमबारी भएका थिए। ‘हामी सधैं कहिले, कसले बमबारी गर्ला भनेर त्रसित हुन्थ्यौं’, मोहम्मद नाम गरेका शिक्षकले भने। स्कुल चलाइएको यो भवन विद्रोहीकै कब्जामा रहेको क्षेत्रमा छ। यहाँबाट नजिकै पूर्वी अलेप्पोमा सरकारी सेनाको नियन्त्रण छ। पश्चिमतर्फ इदलिब छ, जहाँ विद्रोहीको बलियो पकड छ। इदलिब प्रान्त र यससँग जोडिएका अलेप्पो र लताकीया प्रान्तमा करिब ३० लाख मानिस बसोवास गर्दछन्। सिरियाका अरू भागमा भड्किएको युद्धबाट आधाभन्दा बढी विस्थापित भएका छन्। यही महिनाको शुरुमा इदलिबमा सरकारी फौजले आक्रमण गर्ने त्रास बढेको थियो तर गत साता दमास्कस र यसको सहयोगी मस्को तथा विद्रोहीलाई सघाइरहेको टर्कीबीच फौजी कारबाही तत्काल नगर्ने सम्झौता भएको छ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.