पाल्पाली ढाका : इतिहास र पहिचान

पाल्पाली ढाका : इतिहास र पहिचान

तानसेन नगरपालिका-६ की पूर्णमाया महर्जन ८१ वर्ष पुगिन्। अहिले पनि उनी ढाकाको तानमै छिन्। ०१५ सालमा ढाकाको कपडा बनाउन थालेकी उनी नै अरूलाई सीप सिकाउने महिला हुन्। ६ दशकअघि स्वदेशी वस्त्रालय पाल्पाली ढाका कपडा उद्योग स्थापना गरेकी महर्जनले आज पनि पाल्पाली ढाका कपडा उद्योग सञ्चालन गर्दै आएकी छन्। 

ताान बुन्ने र चर्खा कात्ने काम उनले भारतबाट सिकेकी हुन्। त्यही सीपले नै बनेको पाल्पाली ढाका देश मात्रै होइन, विदेशमा समेत चर्चामा छ। आधुनिक कपडा भित्रिएपछि भने अहिले पाल्पाली पहिचान बोकेको ढाकामा बादल लागेजस्तो भएको छ। ‘पाल्पाली ढाका भनेर आधुनिक मेसिनले बनाएका कपडा बेचिएको छ’, पूर्णमाया भन्छिन्, ‘यसो गर्दा पाल्पाली ढाका लोप हुन सक्छ।’

गर्विलो इतिहास
पाल्पामा ढाका भित्र्याएको स्वदेशी वस्त्रालय कपडा उद्योगमा २०१७ सालमा ४ वटा हाते तानमा कपडा बुन्न थालियो। ८  जना महिलाले उद्योगमा रोजगारी पाए। २०१८ सालसम्म आइपुग्दा उद्योगले उत्पादन गरेको खद्दरको साडी बजारमा राम्रो बिक्री भयो।  नेपालमा ढाका टोपी र चोलोको महत्व बढ्दै गएकाले महर्जन दम्पतीले ढाका टोपी र ढाकाको चोलो उत्पादन गर्न थाले।

पाल्पामा ढाका टोपी र चोलो उत्पादन हुँदा काठमाडौमा बंगलादेशको राजधानी ढाकाबाट ढाका बुट्टेदार कपडा आउँथ्यो। सोही कपडाको टोपी बनाई धनी साहुमहाजनले लगाउने प्रचलन चलेको थियो। सोही समयमा एउटा टोपीको मूल्य १० रुपैयाँदेखि २५ रुपैयाँसम्म पर्दथ्यो। टोपीको मूल्य महँगो भएका कारण सर्वसाधारणको पहुँचमा थिएन। ढाकाको जस्तै बुट्टा भएको कपडा पाल्पाको स्वदेशी वस्त्रालयमा पनि उत्पादन हुने थालेपछि पाल्पाको कपडालाई आम रूपमा पाल्पाली ढाका भन्न थालिएको हो। 

बगंलादेशबाट उत्पादन भएको ढाका टोपी सर्वसाधारणको पहुँचमा नभएको अवस्थामा पाल्पाली ढाका टोपीले सर्वसाधारणदेखि मध्यम परिवारको समेत मन जित्यो। २०१९ सालदेखि पाल्पामा ढाका कपडाको उत्पादन सुरु भए पनि मसिनो धागोबाट बुट्टा भर्नुपर्ने भएकाले गाह्रो कामका कारण कामदार पाउन कठिन भयो। गरेका कामदार पनि लामो समय नटिक्ने भएपछि महर्जन दम्पती आफैं तानमा खटिएर ढाका बुने।  २०२१ सालमा स्वदेशी वस्त्रालय ढाका कपडा उद्योगबाट उत्पादन भएको

एउटा टोपीको मूल्य ५ रुपैया कायम गरियो। पसलमा राखेका टोपी दुईचार दिनमै सकिए। महर्जनमा उत्साह थपिँदै गयो। नेपालका अधिकांश स्थानमा पाल्पाली ढाका टोपीको प्रचार बढी भयो। कामदार थपिँदै गए। पाल्पाली ढाका टोपी र चोलोको व्यापार बढ्दै गयो। उद्योग प्रवद्र्धनका लागि घरेलु विभागबाट सरकारले ऋणको व्यवस्था गर्‍यो। 



२०३५ सालमा पाल्पाली ढाका उद्योगमा १ सय ७५ वटा हाते तान, चर्खा चालाउने २० जना, कपडा बुन्ने ३ सय ५० जना, टोपीको कपडा काट्ने सिलाउने गरी ३० जना गरी ४ सय जनाले काम गरे। सम्पूर्ण उद्योग तथा कामदारको रेखदेख पूर्णमाया महर्जनले नै गर्दै आएकी थिइन्। पाल्पामा ढाका टोपीको काम गर्न पूर्वका पहाडी जिल्लादेखि पश्चिम कैलाली-कञ्चनपुरका महिला तथा पुरुष आउने गरेका थिए। 

निराश वर्तमान
२०४८ सालसम्म पाल्पामा  एउटै ढाका उद्योग सञ्चालनमा रह्यो। उद्योगमा काम गरेका दक्ष ढाका कालिगडबाट जिल्लाभित्र र बाहिर ढाका कपडा उद्योग सञ्चालन भए। अहिले पाल्पामा २० भन्दा बढी ढाका कपडा उद्योग सञ्चालनमा छन। प्रत्यक्ष रूपमा ५ सयभन्दा बढी महिलाले पाल्पाका ढाका उद्योगमा कपडा बुन्दै आएका छन्। उत्पादित ढाका कपडालाई विविधीकरण गरी ४ सयभन्दा बढी व्यक्तिले टाई, पर्स ब्याग, टोपी, दौरा सुरुवाल, आस्कोट, इस्टकोट जस्ता सरसमान बनाउने रोजगारी पाएका छन्। पाल्पाली ढाका कपडाको वार्षिक रूपमा ८ देखि १० करोड रुपैयाँको कारोबार हुँदै आएको छ।

तानसेनमा मात्र स्वदेशी वस्त्रालय ढाका कपडा, सरस्वती ढाका कपडा, पौडेल ढाका कपडा उद्योग, कार्की ढाका कपडा उद्योग, मदनपोखरा ढाका कपडा उद्योग, नेपाल कपडा उद्योग, बाँस्टारी ढाका कपडा उद्योग, मंगलचन्द ढाका कपडा उद्योगलगायतका उद्योग सञ्चालनमा छन्। २०१५ सालदेखि सुरु भएको पाल्पाली ढाका कपडा उद्योगले अहिले राष्ट्रिय गहनाका रूपमा पहिचान बनाएको छ। पाल्पाली ढाका कपडाको महत्व बढ्दै गएको छ। २०५५ सालसम्म टोपी र चोलोमा सीमित पाल्पाली ढाकाले बच्चादेखि वृद्धवृद्धासम्मको मन जितेको छ। 

हाल पाल्पाली ढाको कपडाको ट्रेडमार्क प्रयोग गरी अन्य स्थानमा उत्पादन भएका ढाका कपडा बिक्री हुँदै आएकाले पाल्पाली ढाका उत्पादक निराश छन्। पाल्पाली ढाकाको ट्रेडमार्कको दुरुपयोग बढ्दै गएको छ। भारत तथा नेपालमा विभिन्न स्थानमा मेसिनबाट उत्पादित गुणस्तरहीन ढाका कपडा ल्याई पाल्पाली ढाकाको लोगो लगाएर बिक्री गर्ने प्रचलन बढ्दै गएको छ। यसले पाल्पाली ढाकाको सान घटाउने चिन्ता छ। हाते मेसिनको उत्पादन मनग्गे नहुँदा बजार माग पुग्न सकेन। त्यही कारण बाहिर कपडाको हस्तक्षेप भयो।



ढाकाको भविष्य 
पाल्पाली ढाकाको पहिचान यथावत् राख्न सरकारी ड्रेसका रूपमा प्रयोग हुनुपर्ने उत्पादकको माग छ। अहिलेसम्म पाल्पाली ढाका कपडालाई अन्य कपडासँग प्रतिस्पर्धा गरी व्यापार गर्नुपरेको छैन। पाल्पाली ढाकाको उत्पादनमा विविधीकरण बढ्दै गएको र उपभोक्तासमेत बढ्दै गएकाले ढाका कपडा उद्योगको भविष्य उज्ज्वल देखिन्छ।

अधिकांश पाल्पाली ढाका हाते तानबाट बुनेको गुणस्तरीय हुन्छ। त्यसैले धुँदा रङ नजाने भएकाले यसको व्यापार बढ्दै गएको कार्की ढाका उद्योगका कमलकृष्ण कार्कीले बताए। पाल्पा ढाका कपडाको उत्पादन जति धेरै भए पनि बजारका लागि कुनै समस्या छैन। सदरमुकाम तानसेनमा पसलमा समेत बढी नाफा कमाउने योजनामा बाहिरी स्थानको ढाका कपडामा पाल्पाली लेभल लगाएर बिक्री हुँदै आएकाले पाल्पाली ढाकाको भविष्यलाई खतरा बढाउने उद्योगकी संस्थापक पूर्णमाया महर्जनको भनाइ छ। स्वदेशी वस्त्रालयको मान्यता पाएको पाल्पाली ढाका कपडालाई राज्य स्तरबाट प्रोत्साहन देखिँदैन। 

२०१५ सालदेखि सुरु भएको पाल्पाली ढाका कपडा उद्योगले अहिले राष्ट्रिय गहनाका रूपमा पहिचान बनाएको छ। पाल्पाली ढाका कपडाको महत्व बढ्दै गएको छ। २०५५ सालसम्म टोपी र चोलोमा सीमित पाल्पाली ढाकाले बच्चादेखि वृद्धवृद्धासम्मको मन जितेको छ। 

केन्द्र, प्रदेश तथा स्थानीय सरकारबाट नीतिगत सहयोग नपाएको पाल्पामा निरन्तर ढाका उत्पादन गरी उद्योग र व्यवसाय सञ्चालन गर्दै आएका हरि रायमाझी बताउँछन्। ‘स्वदेशी उद्योगलाई बचाउने गरी नीतिनियम आएको छैन। लगानीमैत्री वातावरण छैन। दक्ष कामदारको अभाव छ। त्यसैले सञ्चालनमा रहेका घरेलु तान घट्दै गएका छन्’, उनले गुनासो गरे। विगतमा सरकारी स्तरबाटै दक्ष प्रशिक्षक उत्पादन गरिन्थ्यो। तर अहिले स्तरीय तालिमको अभाव रहेको ढाका उद्योगीहरूको भनाइ छ।

दिनभर मानिस कामको खोजीमा हिँड्छन्। तर ढाका बुनेर खान लाज मान्ने स्थिति छ। एक जना व्यक्तिले दैनिक ८ घण्टा काम गर्दा मासिक १५ हजारभन्दा बढी आम्दानी गर्ने सरस्वती ढाका कपडा उद्योगका रायमाझीले बताए। पाल्पाका सबैजसो ढाका उद्योगमा कामदारको समस्या छ। पाल्पामै मात्र तत्काल ८० देखि १ सय जनालाई ढाका उद्योगमा रोजगारी दिन सकिने सम्भावना छ।  

पाल्पाली उद्योगलाई भविष्यमा देशकै नमुना उद्योगका रूपमा सञ्चालन गर्न अहिले बजार क्षेत्रमा रहेका तानलाई स्थानीय तहबाट घरेलु औद्योगिक क्षेत्र स्थापना गरी स्थानान्तरण गर्नुपर्ने, प्रदेश ५ भित्र विद्यालय तगा कलेजमा लगाउने टाई पाल्पाली ढाकाको हुुनुपर्ने, कुनै संघसंस्था तथा सरकारी कार्यालयका कर्मचारीका लागि पाल्पाली ढाकाको पोसाक बनाउने गरी प्रदेश सरकार तथा स्थानीय सरकारले नीति लिएमा पाल्पाली ढाका उद्योग चार गुणा वृद्धि हुने पौडेल ढाका कपडा उद्योगका प्रोपाइटर मनोज पौडेलको भनाइ छ। 
पाल्पाली ढाका कपडा उद्योगले २०१५ सालदेखि नै राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। अब त्यसको जगेर्ना गर्दै पाल्पाको पहिचान टिकाइराख्न तीनै तहका सरकारले काम गर्नुपर्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.