मुटुरोगी बढ्दै, रोकथाम भने सुस्त

मुटुरोगी बढ्दै, रोकथाम भने सुस्त

 काठमाडौं  : ‘गाउँमा पोस्ट मार्टम गर्ने डाक्टर छैनन् । किन चाहियो मुटु अस्पताल ? ’, १८ वर्षअघि सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा आयोजित कार्यक्रममा तत्कालीन स्वास्थ्य मन्त्रीको यो प्रश्न सुनेर चिकित्सकहरू छक्क परे । यस्तो प्रश्न अब सुन्न नपर्ने वरिष्ठ मुटुशल्य चिकित्सक डा. भगवान् कोइराला बताउँछन् । कारण मुटुरोगका बिरामी बढ्दै छन् । गत वर्ष गंगालाल केन्द्रमा एक लाख ५२ हजार बिरामीले बहिरंग सेवामार्फत मुटु परीक्षण गराएका थिए । एक हजार ७ सय ८२ जनाको मुटु शल्यक्रिया गरिएको छ । झण्डै साढे १३ हजार बिरामीले भर्ना भएरै उपचार गराए ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पनि मुटुरोगसँग सम्बन्धित बिरामीको घुइँचो छ । सेन्टरमा नयाँ र पुराना गरी २१ हजारभन्दा बढी मुटुरोगीले उपचार गराए । यस्तै अवस्था वीर अस्पतालमा पनि छ । त्यहाँ पनि नयाँ र पुराना गरी १० हजारभन्दा बढी बिरामीले उपचार सेवा लिए । नेपालमा कुल जनसंख्याको १० प्रतिशत मुटुका बिरामी भएको अनुमान छ । विश्वभर प्रत्येक वर्ष मुटु तथा रक्तनलीजन्य रोगको कारण मात्रै एक करोड ७५ लाख व्यक्तिको ज्यान जाने गरेको विश्व मुटु संगठनको तथ्यांकले देखाएको छ । क्यान्सर, दम र मधुमेहभन्दा खतरनाक मानिन्छ यस रोगलाई ।

‘हाम्रो प्रण ः स्वस्थ मुटु’ भन्ने नाराका साथ शनिबार आयोजित विश्व मुटु दिवसमा मुटुरोग विशेषज्ञले मुटुरोग न्यूनीकरणका लागि एकीकृत ढंगले रोकथामको कार्यक्रम ल्याउनुपर्ने बताए । गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा. ज्योतिन्द्र शर्माले सरकारले जनचेतना फैलाउनेलगायत रोकथाम कार्यक्रममा जोड दिनुपर्ने बताए । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवसामु उनले भने, ‘रोकथामको नीति बनाउने र कार्यक्रम गर्छौं भनी प्रण गर्नुपर्छ ।’

नेपाल हार्ट फाउन्डेसनलगायत झण्डै दुई दर्जन स्वास्थ्य संस्थाले मुटुरोगका सम्बन्धमा प्रचारात्मक अभियान गरिरहेका छन् । तर, ती अभियान अपर्याप्त भएको मुटुरोग विशेषज्ञहरू बताउँछन् । ‘हामीले जति गरेका छौं, त्यो अपुग छ । प्रचार र उपचार सेवा विस्तार गर्ने प्रण आज गर्छु ।’ कार्यकारी निर्देशक डा. शर्माले प्रतिबद्धता व्यक्त गरे ।

स्वस्थ जीवन बिताउँछु भन्दै सबैलाई प्रण गर्न उनले आग्रह गरे । हृदय केन्द्रका पूर्वकार्यकारी निर्देशक डा. कोइरालाले पनि मुटुका बिरामी बढ्दै गएकोमा चिन्ता व्यक्त गरे । उनले भने, ‘जनतालाई मात्र चेतना दिएर हुँदैन । मुटुलगायत नसर्ने अन्य रोगबारे पनि नीतिनिर्माण तहमा वकालत गर्नुपर्ने बेला भइसकेको छ । छिन्नभिन्न भएर होइन कि एकीकृत रूपमा पहल गर्नुपर्छ ।’ नेपालमा हुने मृत्युमध्ये दुईतिहाई मुटुलगायत नसर्ने रोगबाट हुने गरेको छ । जनताको घरदैलोमा सेवा पुर्‍याउने, विज्ञान र प्रमाणमा आधारित नयाँ स्वास्थ्य नीति तर्जुमा गर्नुपर्ने खाँचो डा. कोइरालाले औंल्याए ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. दिवाकर शर्माले केही संस्था, चिकित्सकले मात्र रोकथामका उपाय सुनाएर समस्या समाधान नहुने बताए । ‘मुटुरोगबाट बच्न बचाउन प्रण गरेर मात्र हुँदैन । प्रयाससमेत गर्नुपर्छ । पर्याप्त दक्ष जनशक्ति उत्पादनका लागि गंगालाल हृदय केन्द्रलाई प्रतिष्ठान बनाउनुपर्छ ।’ उनले माग गरे ।

मुटुका बिरामीलाई सेवा दिइरहेको नर्भिक र ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका मुटुरोग विशेषज्ञहरूले पनि रोकथाममा जोड दिए । नर्भिक अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. यादवदेव भट्टले भने, ‘चिकित्सकले बिरामीसँग आत्मीय सम्बन्धको विकास गर्नुपर्छ । बिरामीको तनाव घटाउन सक्नुपर्छ ।’ वरिष्ठ मुटुरोग विशेषज्ञ डा. जयप्रकाश जैसवालले मुटु बिरामीले नियमित औषधि सेवन तथा समयमै उपचार गराउनुपर्ने सुझाव दिए । त्यस्तै ग्रान्डी अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलले सरकारले निजी क्षेत्रसँग समन्वय गरी मुटुरोगको रोकथाममा लाग्नुपर्ने बताए ।

डा. सुरेन्द्रकुमारले भने, ‘स्वदेशमै स्तरीय उपचार छ । नेतालगायत विशिष्ट व्यक्तिले सरकारी खर्चमा उपचार गराउन पाउने छैनन् । अब स्वास्थ्य क्षेत्रमा बजेट बढाउनुपर्छ ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.