जनकपुर उपमहानगरपालिकाकी उपमेयर नै हिंसापीडित

जनकपुर उपमहानगरपालिकाकी उपमेयर नै हिंसापीडित

जनकपुरधाम : महिलामाथि हुने हिंसाका रुप साना ठुला र फरक फरक छन् । अधिकांश कामकाजी महिलाले कुनै न कुनै प्रकारका हिंसा कार्यक्षेत्रमा भोग्नु परिरहेको हुन्छ । 

साधारण महिलाको हकमा त हिंसा सामान्य भइरहेका बेला जनप्रतिनिधि पनि हिंसापीडित भएको सुन्दा पत्याउन गाह्रो पर्छ । जनताको मतले निर्वाचित भएकाले पनि कार्यक्षेत्रमा हिंसा भोग्नु परिरहेको पीडा जनकपुर उपमहानगरपालिकाकी उपमेयर रिता झाले पोखेकी छन् । 

जनमतबाट निर्वाचित भइसके पनि महिला भएकै कारण विभिन्न प्रकारका अपमानजनक टिप्पणी सहनु परेको कुरा झाले सार्वजनिक कार्यक्रममै सुनाइन् । 

क्रियाशिल महिला पत्रकार समाजले आइतबार जनकपुरमा गरेको ‘महिला हिंसा न्यूनीकरणमा सञ्चारको भूमिका’ अन्तरसम्वाद कार्यक्रममा बोल्दै उपमेयर झाले भनिन्, ‘म जनताबाट निर्वाचित नेता हुँ । न्यायिक समितिको संयोजक पनि छु तर, म आफैं हिंसा भोग्न बाध्य भइरहेकी छु ।’

आफूमाथि भएको हिंसाको कुरा सुनाउने क्रममा उनले आँसुसमेत झारिन् । ‘शनिबार उपमहानगरपालिकाले मैथिल महिलाको ब्रत जितियाको अवसरमा गरेको कार्यक्रममा सहभागी हुँदा  सुतीको रातो साडी लगाएको थिएँ । त्यही दिन राष्ट्रिय जनता पार्टीको बैठक पनि थियो’, उनले सुनाइन्, ‘तर बैठक भन्दा आफैँ आयोजक रहेको कार्यक्रम महत्वपूर्ण ठानेर सहभागी भएँ । त्यसक्रममा पार्टीकै एक पुरुष नेताले बोल्ने क्रममा मैले लगाएको साडीबारे निकै नकारात्मक टिप्पणी गरे ।’ 

आफू बैठकमा सहभागी नभएको बेलामा ती  नेताले आफ्नो पोशाबारेमा जथाभावी बोलेको सुनेर स्तब्ध भएको उनले बताइन् । ‘के महिलाले आफूले रोजेको लुगा लगाउन नपाउने हो ?’, उनको प्रश्न थियो, ‘मेरो लुगामाथि नकारात्मक टिप्पणी गर्ने ती नेताले सर्वसाधारण महिलामाथि कस्तो व्यवहार गर्लान् ? सजिलै बुझ्न सकिन्छ ।’ 

उपमेयर झाले महिला जनप्रतिनिधिलाई कार्यालयमासमेत सम्मान नरहेको बताउँदै कुनै निर्णय लिँदासमेत महत्व नदिने गरिएको गुनासो गरिन् । 

कार्यक्रमको अध्यक्षता गरेकी महिला सञ्चारकर्मी रिंकु गायत्री मिश्रले कार्यक्षेत्रमा हुने हिंसाले महिलाको कार्यक्षमतालाई प्रभावित गर्ने गरेको बताइन् । उनले भनिन्, ‘जनप्रतिनिधिमाथि नै यस्तो हिंसा र प्रताडना छ भने अन्य महिलाको अवस्था कल्पना गर्न पनि गाह्रो छ ।’ 

महिलामाथि भइरहेका हिंसा सामाजिक समस्य रहेको अधिवक्ता राजकुमार महासेठ बताउँछन् । ‘हाम्रो समाजमा महिलासँग मजाक गर्ने चलन नै बनाइएको छ । घरमा भाउजू, र साली जस्ता नातामा ‘मजाक’ गर्ने परिपाटी नै छ’, उनले भने, ‘यस्तो समस्याको निदान सामाजिकरुपमैै खोज्नु पर्ने जरुरी छ ।’

यदि कसैले अश्लिल व्यवहार र जिस्काउने नियतले टिप्पणी गर्यो भने त्यस्तविरुद्ध कानूनी उपचार खोज्नु पर्ने उनको भनाइ छ । महिलाहरुले आफूमाथि हुने हिंसामा सचेत भई समाधानको बाटो पहिल्याउनु पर्ने अधिवक्ता महासेठ बताउँछन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.