सार्क माछाको सिकार बढेपछि मानवजीवनमा असर पर्ने चेतावनी
बेइजीङ : संसारभर माछाको सिकार ब्यापक रुपमा गर्दै जाने हो भने केही प्रजातिको अस्तित्व नै लोप हुनसक्ने भन्दै विज्ञहरुले चेतावनी दिएका छन् । हरेक वर्ष १० करोड सार्क माछाको सिकार हुने गरेको तथ्यांक आएपछि विज्ञहरुले यस्तो चेतावनी दिएका हुन् ।
यस्तो नतिजा ल्याउनुका मुख्य जिम्मेवार मुलुक चीन र भियतनाम हुन् । जहाँ पछिल्लो समय आम रुपमा सार्कका पंखेटा काटेर समुद्रमै छोडिदिने चलन ब्यापक छ । साथै चीन र भियतनाममा सार्कका पंखेटाको सूप खपतकै लागि अवैध रुपमा सार्कको सिकार गर्ने पाइएको रिपोर्टले जनाएका छन् ।
अस्ट्रेलीयन बायोलोजिस्ट मार्क मिकनका अनुसार धन्धाकै रुपमा सार्कको सिकार गरेर व्यवसायी चलाउन थालेपछि यसको प्रत्यक्ष पर्यावरणीय असर देखिने छ । हङकङ संसारकै आधाजसो सार्कका सुकेका पंखेटा निर्यात गर्ने बन्दरगाह मानिन्छ । जसमध्ये बिक्रीका लागि राखिएका ३३ प्रतिशत सार्कका पंखेटा त लोपोन्मुख प्रजातिको शरिरबाट ल्याइन्छ ।
चीन सरकारले ब्यांक्वेट र एयर चाइना विमनमा भने अचेल सार्कका पंखेटाको सूप खपतमा रोक लगाएको छ । अमेरिका सहित २० भन्दा बढी देशले अहिले सार्कका पंखेटा सिकारको लागि रोक लगाएका छन् । जबकि, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भियतनाममा अघिल्लो वर्ष सार्कको पंखेटाको सूप डीनरको साथमा ग्रहण गरेका थिए ।
केही वर्षअघिसम्म चीन लगायत मुलुकमा उच्च घरानीयाले बिहेभोज तथा विशेष पार्टीको रुपमा सार्कका पंखेटाको सूप प्रयोग गर्थे । पछिल्लो समय आम रुपमा यसको खपत हुन थालेपछि ब्यापक रुपमा यसको सिकार बढ्न थालेको हो । सार्कको सिकार ह्वात्तै बढेपछि विज्ञहरुले यसले पर्यावरणीय तथा मानवजीवनमै गम्भीर असर पर्ने भन्दै चिन्ता व्यक्त गर्न थालेका हुन्।
प्रतिक्रिया दिनुहोस !