सतर्कता केन्द्रमा बजेट र जनशक्ति अभाव

सतर्कता केन्द्रमा बजेट र जनशक्ति अभाव

काठमाडौं : राष्ट्रिय सतर्कता केन्द्रमा बजेट र जनशक्ति अभाव हुँदा प्राविधिक परीक्षणको काम प्रभावित हुने भएको छ । सरकारले चालू आर्थिक वर्षका लागि केन्द्रको झन्डै ४० प्रतिशत बजेट कटौती गरेको थियो । हचुवाका आधारमा बजेट कटौती गर्दा केन्द्रका महत्वपूर्ण कार्य प्रभावित भएको केन्द्रले जनाएको छ ।

केन्द्रले सरकारद्वारा सञ्चालित राष्ट्रिय गौरवका आयोजनाहरूमा उचित किसिमले काम भए÷नभएको प्राविधिक परीक्षण गर्छ । ५० करोडभन्दा माथिका सरकारी आयोजनाको प्राविधिक परीक्षण गर्ने जिम्मेवारी पनि केन्द्रकै हो । महत्वपूर्ण जिम्मेवारी बोकेको केन्द्रको भूमिका बढाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बेवास्ता गर्दै आएको छ ।

प्रधानमन्त्री कार्यालयको बेवास्ताका कारण केन्द्रले काम प्रभावकारी रूपमा अघि बढाउन सकेको छैन । सरकारी कार्यालयका अनियमितता छानबिन गर्ने, सम्पत्ति विवरण अध्ययन गर्ने, कर्मचारीलाई समयबारे जिम्मेवार बनाउनेलगायत महत्वपूर्ण कार्यसमेत गर्दै आएको छ । तर, बजेट र जनशक्ति अभावमा कार्यालयले सम्पादन गर्ने यी काम प्रभावित हुने देखिएको छ । केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले बजेट कटौती हुँदा केन्द्रले सम्पादन गर्नेमा प्रभाव असर गरेको बताए ।

सतर्कता केन्द्रले गत वर्ष राष्ट्रिय गौरवलगायत एक सयभन्दा बढी आयोजनाको प्राविधिक परीक्षण गरेको थियो । प्राविधिक परीक्षण गर्दा आयोजनाको लागत, समय, गुणस्तर, प्रभावकारिता, र प्राप्त उपलब्धिसमेत परीक्षण गर्ने गरिएको छ । परीक्षणपछि आयोजनामा देखिएका त्रुटि औंल्याउँदै ठेकेदार कम्पनीलाई सचेत पार्ने काम केन्द्रले गर्दै आएको छ । सचेत पार्दा पनि त्रुटि नसच्याए कारबाहीका लागि सिफारिससमेत गर्ने गरिएको छ ।

केन्द्रको प्राविधिक परीक्षण हेर्ने महाशाखा ६ महिनादेखि नेतृत्वविहीन छ । सरकारले गत वैशाखमा महाशाखाकी प्रमुख इन्जिनियर प्रमिलादेवी वज्राचार्यलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गरेको थियो । तर उनको ठाउँमा अन्य इन्जिनियरलाई पठाउन नसक्दा प्राविधिक परीक्षणको काम अवरुद्ध जस्तै बन्न पुगेको छ । केन्द्रका प्रवक्ता लामिछानेले केन्द्रको प्राविधिक महाशाखालगायत सबै शाखामा आवश्यक जनशक्ति पूर्ति गर्नुपर्ने बताए । ‘जनशक्ति अभावमा प्राविधिक परीक्षणलगायत महत्वपूर्ण कार्यले गति लिन सकेको छैन’, प्रवक्ता लामिछानेले बताए । बजेट अभावले प्राविधिक परीक्षणको झन्डै आधा काम घट्ने भएको छ । काम घट्ने हुँदा महत्वपूर्ण आयोजनाले गरेका त्रुटि समयमै औंल्याउन नसकिने अवस्था रहेको केन्द्रले जनाएको छ । सरकारले केन्द्रलाई उच्च प्राथमिकतामा राख्नुपर्ने उनले बताए । ‘बजेट र जनशक्ति अभावमा पनि नियमित काम भने जारी राखेका छौं’, लामिछानेले भने ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.